
७ वैशाख, काठमाडौं । हरियो नम्बर प्लेटका सवारी साधन (पर्यटक सवारी)लाई पर्यटकमैत्री बनाउन सरकारले कार्यविधि निर्माण गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीका अनुसार कार्यविधि बनाउन मन्त्रालयले पर्यटन महाशाखा प्रमुखको संयोजकत्वमा कार्यविधि मस्यौदा समिति गठन गरेको छ । पर्यटक सवारी सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८० निर्माण गरी पर्यटक सवारी साधनलाई व्यवस्थापन गर्ने मन्त्रालयको अवधारणा छ ।
मन्त्री किरातीका अनुसार यातायात व्यवस्था विभागका निर्देशक, यातायात व्यवस्था कार्यालय सानाठूला सवारी, एकान्तकुना, काठमाडौंका कार्यालय प्रमुख, प्रहरी उपरीक्षक, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, काठमाडौं, नेपाल पर्यटन बोर्डका निर्देशक सदस्य रहने भएका छन् ।
यसैगरी त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलका निर्देशक, नेपाल पर्यटक यातायात व्यवसायी संघका अध्यक्ष, टुरिष्ट बस एसोसिएसन अफ नेपालका अध्यक्ष, पर्यटन विभागका निर्देशक, विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडका अध्यक्ष समेत सदस्यको भूमिकामा रहने छन् । पर्यटन मन्त्रालय, पर्यटन प्रवर्द्धन शाखाका उपसचिव सदस्य सचिवको भूमिकामा रहने भएका छन् ।
प्रतिक्रिया 4