
१० वैशाख, चितवन । चितवन क्षेत्र नम्बर २ मा पनि उपनिर्वाचनको मतदान जारी छ । नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले चतुर्मुखी उच्च मावि शक्तिखोरबाट मतदान गरेका छन् ।
तर रास्वपाका उम्मेदवार रवि लामिछाने र नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले भने त्यहाँ मतदान गर्न पाउने छैनन् ।
रविको मतदाता नामावली काठमाडौंमा रहेकाले र एमाले उम्मेदवार न्यौपानेको मतदाता नामावलीमा नाम चितवन क्षेत्र नम्बर ३ मा रहेकाले उनले उपनिर्वाचनमा भोट हाल्न नपाउने भएका हुन् ।
गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा चितवन क्षेत्र नं. २ बाट निर्वाचित रास्वपा सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतले खारेज गरिदिएसँगै उनको सांसद पद गुमेपछि त्यहाँ उपनिर्वाचन गरिएको हो ।
किरियापुत्री, ज्येष्ठ नागरिक लगायत पनि उत्साहपूर्ण ढंगले मतदानमा सहभागी भइरहेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
चितवन २ मा ४३ स्थलका १३८ केन्द्रमा मतदान भइरहेको छ । यहाँ एक लाख २४ हजार छ सय ९५ जना मतदता छन् । ती मध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक जना तेस्रो लिङ्गी रहेका छन् ।
मतदानका लागि बिहान सबेरैदेखि मतदान केन्द्रमा मतदाता लाइनमा बसेका छन् । दिउँसो गर्मी हुने भएकाले बिहानैदेखि मतदाता मतदानका लागि लाइनमा बसेका हुन् ।
भरतपुरको नारायणी माविमा एमाले उपाध्यक्ष रामबहादुर थापा बादलले मतदान गरेका छन् । यसैगरी पत्रकार महासंघ चितवनका पूर्व अध्यक्ष विष्णु छिमेकीले आमाको किरिया बसेकै अवस्थामा भरतपुर १२ स्थित मोहन माविबाट मतदान गरेका छन् ।
उपनिर्वाचनको संवेदनशीलतालाई मध्यनजर गरी पश्चिमतर्फबाट चितवन आउने सवारी साधनलाई नवलपुरको गैंडाकोटमा नै रोकिएका छन् ।
दमकल, एम्बुलेन्स, खानेपानी ट्यांकर, दूध बोक्ने सवारीसाधन, शववाहन, फोहरमैला ओसार्ने सवारीसाधन, अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, अस्पतालको पत्रसहित चलेको सवारीसाधन र सूचना तथा प्रसारण विभागबाट जारी प्रेसपास भएका पत्रकार चढेको सवारी भने निर्वाध सञ्चालनमा छन् ।
प्रतिक्रिया 4