
काठमाडौं । दर्शकले नाटक हेर्न नपाएको गुनासो गरेपछि ‘एउटा सपनाको अवसान’को मञ्चन अवधि तीन दिन लम्बिएको छ । निर्माता गोविन्द पराजुलीका अनुसार धेरै दर्शक टिकट नपाएर फर्केको देखेपछि तीन दिन थप्ने निर्णय गरिएको हो । नाटक अब सोमबार, मंगलबार र बुधबार मञ्चन हुनेछ । नाटकको नियमित मञ्चन आइतबार सकिएको थियो ।
‘थुप्रै दर्शकले नाटक हेर्न पाइएन भनेर गुनासो गरेको देख्यौं । केही त घन्टौं कुरेर पनि टिकट नपाउँदा फर्कनु परेको छ । सकभर सबैलाई देखाउँ भन्ने मनसायले तीन दिन थप्ने निर्णय गरेका छौं,’ निर्माता गोविन्द पराजुलीले भने, ‘ठूलो सेट र ठूलो कलाकारको समूह दोहोर्याएर जुटाउन गाह्रो छ । त्यसैले जुटेकै समयमा सोमबारको बिदामा पनि नाटक मञ्चन गर्ने निर्णय गरेका छौं । आशा छ यो तीन दिनमा हेर्न चाहने सबैले नाटक हेर्न पाउनुहुनेछ ।’
गोविन्दले अन्तिम दिन अर्थात् बुधबार १ बजे र ५ बजे गरी दुई शो मञ्चन हुने र योसँगै नाटक मञ्चनले बिट मार्ने उनले जानकारी दिए । नाटकले सपनाको आकर्षणले मानिसलाई यन्त्रमा रुपान्तरण गर्ने र मानिस अधुरा आकांक्षा र सपनासँग जीवन त्याग गर्न बाध्य हुने कथा प्रस्तुत गर्छ ।
अनुप बरालको निर्देशनमा बनेको ‘द डेथ अफ सेल्सम्यान’ को नेपाली अनुवादमा शेखर चापागाईं, दिव्यदेव, दिया मास्के, मेनुका प्रधान, उत्पल झा, विकास जोशी, रोयदीभ श्रेष्ठ लगायतको अभिनय छ । नाटकको चैत १० गतेदेखि मञ्चन सुरु भएको थियो । नाटकलाई एक्टर्स स्टुडियो र मण्डला थिएटरसँगको सहकार्यमा गोविन प्रोडक्सनका लागि गोविन्द पराजुलीले निर्माण गरेका हुन् ।
प्रतिक्रिया 4