+
+

निरा पाण्डेको हत्या कारण लुटपाट कि रिसिइबी ?

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ११ गते १६:४९
निरा पाण्डे

११ वैशाख, काठमाडौं । बिहीबार अपराह्न ४ बजेतिर एक जना ग्राहक ‘निरु किचन’मा पैसा तिर्न गइन् । नियमित ग्राहकले ‘साहुनी’ नदेखेपछि उनका श्रीमान् योगेन्द्र आचार्यलाई फोन गरिन् ।

‘त्यहीँ होलिन्, भित्र हेर्नु न’, कुराकानीपछि पसलभित्र छिर्दा उनले सञ्चालक ३२ वर्षीया निरा पाण्डे आचार्य अरु बेला बस्ने कुर्सी पछाडि रगत देखिन् । नजिक गएर हेर्दा पाण्डे रगक्ताम्ये अवस्थामा थिइन् ।

‘गम्भीर अवस्थामा देखेपछि तत्काल त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको रहेछ’, जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) सीताराम रिजाल भन्छन्, ‘चिकित्सकहरुले मृत घोषित गरेका रहेछन् ।’

लगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको टोली पुगेर अनुसन्धान थालेको थियो । त्यसक्रममा पसलबाट महत्वपूर्ण सुराक त हात लागेन । तर पोष्टमार्टममा संलग्न चिकित्सकहरुले जे बताए, त्यसबाट प्रहरी झस्कियो ।

त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विज्ञहरुका अनुसार उनको पेट र घाँटीभन्दा तलको भागमा कम्तिमा १५ देखि २० पटक जथाभावी छुरा प्रहार गरिएको देखिएको थियो ।

‘एकदमै क्रुर र अमानवीय तरिकाले हत्या भएको देखिएको छ’, काठमाडौं प्रहरीका एक अधिकृत भन्छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्की उपलब्ध क्लोज सर्किट (सीसी) क्यामरा फुटेज लगायतका आधारमा प्रहरीले अनुसन्धान गरिरहेको बताउँछन् ।

‘म्यानुअल र प्राविधिक दुवै तरिकाले प्रहरीले अनुसन्धान गरिरहेको छ’, कार्कीले अनलाइनखबरसँग भने, ‘छिट्टै परिणाम प्राप्त हुनसक्छ ।’

कहाँ हरायो सिक्री ?

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार पाण्डेको गलामा भएको सिक्री हालसम्म भेटिएको छैन । मृत्यु हुनुअघि उनले सामाजिक सञ्जाल टिकटकमा पोष्ट गरेको भिडियोमा पनि पाण्डेको गलामा सिक्री देखिन्छ ।

‘भाडा पसल भएकाले सबै पन्छाएर खानतलासी त लिइसकेको छैनौं, तर हालसम्म सिक्री भेटिएको छैन’, ती अधिकृत भन्छन्, ‘पसलबाट अरु सरसामान हराएको पनि हालसम्म देखिएको छैन ।’

सिक्री हराएकाले झट्ट हेर्दा चोरीका लागि घटना भएको हो कि भन्ने शंका गर्ने ठाउँ देखिएको छ । मृतकले केही वर्षअघि उनको पसलमा लुटपाट भएको समेत बताउने गरेको छिमेकका पसलका सञ्चालकहरुसँग लिएको बयानबाट खुलेको छ ।

‘पुराना घटनाहरुबारे पनि हेरिरहेका छौं, उनकै पसलमा लुटपाट भएको थियो थिएन भन्ने पुष्टि चाहिँ भइसकेको छैन’, उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरका प्रमुख डा. मनोज केसी भन्छन् ।

अधिकृतहरुका अनुसार चोरीको उद्देश्यले मात्र घटना भएको भए यति विघ्न क्रुर तरिकाले हत्या गर्न जरुरी हुन्थेन । त्यसैले घटनामा रिसिइबी पनि कारण हुनसक्नेतर्फ पनि प्रहरीले अनुसन्धान गरिरहेको अधिकृतहरु बताउँछन् ।

प्रहरीका अनुसार पाण्डेले पसलबाट राम्रो आम्दानी हुन थालेपछि तीन सय मिटरको दूरिमा अर्को पसल पनि खोलेका थिए । घटना भएको दिन श्रीमान् आचार्य त्यही पसलमा थिए । प्रहरीले उनको समेत बयान लिएर अनुसन्धान गरिरहेको छ ।

अनुसन्धानका क्रममा केही तथ्यहरु फेला परे पनि घटनासँग जोडिइनसकेको अधिकृतहरुको भनाइ छ । प्रहरीका अनुसार पसलमा सीसीटीभी क्यामरा थिएन । छेउछाउमा भएका क्यामरामा पनि पसल देखिन्थेनन् ।

‘पसल नदेखिए पनि नजिकै भएका क्यामराका आधारमा आउजाउ गर्नेको अनुसन्धान गरिरहेका छौं’, जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी दानबहादुर कार्की भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?