
११ वैशाख, काठमाडौं । कपनको सरस्वतीनगरस्थित ‘निरु किचन’की सञ्चालक निरु पाण्डे आचार्यको हत्यामा संलग्न व्यक्ति पक्राउ नपरेको भन्दै व्यवसायीहरूले प्रदर्शन गरेका छन् ।
चार दिन वितिसक्दा पनि आरोपी पक्राउ गर्न नसकेको भन्दै बौद्धका व्यवसायीहरुले सोमबार कपनमा प्रदर्शन गरेका हुन् ।
उनीहरूले प्रहरीविरुद्ध नारा लगाएका थिए । ‘व्यापारीलाई सुरक्षा दे, गुण्डागर्दी अन्त्य गर’, ‘हत्यारालाई सार्वजनिक गर’, ‘सरकार किन मौन छ, हाम्रो सुरक्षा कहाँ छ ?’ जस्ता नारा उनीहरूले लगाएका थिए ।
बिहीबार अपराह्न पाण्डेको छुरा प्रहार गरेर पसलभित्रै हत्या भएको थियो । उनको शरीरमा कम्तिमा १५/२० पटक छुरा प्रहार गरिएको पोष्टमार्टम रिपोर्टले देखाएको छ ।
प्रहरीले हालसम्म अनुसन्धानमा भइरहेको प्रगति सार्वजनिक नगरेको भन्दै व्यवसायीले आक्रोश व्यक्त गरेका छन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्की चाहिँ प्रहरीले प्राविधिक र म्यानुअल दुवै तरिकाले अनुसन्धान गरिरहेको बताउँछन् ।
‘उपलब्ध सीसी क्यामराका फुटेज लगायतका आधारमा अनुसन्धान भइरहेको छ’, उनले अनलाइनखबरसँग भने, ‘छिट्टै नतिजा दिने गरी काम गरिरहेका छौं ।’
अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार पाण्डेले लगाएको सिक्री गायब छ । त्यसैले घटनाको कारण लुटपाट हो कि भन्ने प्रारम्भिक अनुमान गरिएको थियो ।
तर, पोष्टमार्टमको प्रारम्भिक जाँचबाट उनको वीभत्स तरिकाले हत्या भएको देखिएकाले कुनै रिसिइबीका कारण घटना भएको हुनसक्ने आशंका गरिएको छ ।
‘जुन किसिमले घाँटीभन्दा तलको भागमा पटकपटक प्रहार गरिएको छ, त्यो हेर्दा हत्याको कारण लुटपाट गर्नु जस्तो मात्र देखिन्न’, एक अनुसन्धान अधिकृत भन्छन् ।
घटनाको जिल्ला प्रहरी परिसर, काठमाडौंसहित उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले पनि अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया 4