११ वैशाख, काठमाडौं । दलबहादुर कुँवर र मन्जु राउतले जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि जितेका छन् ।
४९ किलोमिटर कठिन ट्र्याकमा मंगलबार सम्पन्न म्याराथन दूरी दलबहादुर कुँवरले ४ घण्टा ५४ मिनेट १० सेकेण्डमा पूरा गरी उपाधि जितेका हुन् ।
४ घण्टा ५७ मिनेट ५७ सेकेण्डमा दूरी पूरा गर्दै धीरबहादुर बुढा दोस्रो हुँदा ५ घण्टा ८ मिनेटमा दूरी पूरा गरेका शेरबहादुर बुढा तेस्रो भए ।
६ घण्टा ६ मिनेट २३ सेकेण्डमा दूरी पूरा गरी मन्जु राउत महिलातर्फ विजेता बनिन् । उनीभन्दा अझै पौने घण्टाले पछि परेकी दोस्रो स्थानकी गणना भण्डारीले ६ घण्टा ५४ मिनेट २७ सेकेण्डको टाइमिङ निकालिन् ।
तेस्रो भएकी अनिता बुढाले ७ घण्टा ५२ मिनेट ४६ सेकेण्डमा ४९ किलोमिटर दूरी पूरा गरिन् ।
कर्णाली स्पोर्टस क्लबको आयोजना सम्पन्न अल्ट्रा म्याराथनमा पुरुष र महिला दुवैतर्फको उपाधि विजेताले १ लाख रुपैयाँ पुरस्कार पाए । दोस्रो र तेस्रो हुनेले क्रमश: ७५ हजार र ५० हजार रुपैयाँ पुरस्कार पाए ।
म्याराथन २३५० मिटर उचाइस्थित जुम्ला खलंगा बजारबाट सुरु भएर डाँफे पास, न्युरिघाट, चौथा, दाभा, चुचेमारा पास, मिलिचौरहुँदै रारा तालक्षेत्रको २९८० मिटर उचाइमा पुगेर समापन भएको थियो ।
विजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्यसचिव टंकलाल घिसिङ, कीर्तिमानी धवक ओलम्पियन हरिबहादुर रोकायलगायतले पुरस्कार वितरण गरे । रोकाय कर्णाली स्पोर्टस क्लबका संरक्षकसमेत हुन् ।
प्रतिक्रिया 4