
काठमाडौं । इरान सरकारले १४ वर्षपछि विश्वचर्चित फिल्म निर्देशक जाफर पनाहीको यात्रा प्रतिबन्ध हटाएको छ । यो निर्णयसँगै पनाही र उनकी पत्नी ताहेरेह सईदीलाई इरान छाड्न अनुमति मिलेको छ । भेराइटी म्यागजिनले यो खबरको पुष्टि गरेको छ ।
सईदीले मंगलबार राति इन्स्टाग्राममा एक तस्वीर पोस्ट गरेकी छन्, जसमा उनी आफ्ना श्रीमानसँग कुनै एयरपोर्टमा हिंडिरहेको देख्न सकिन्छ । क्याप्सनमा लेखिएको छ, ‘१४ वर्षपछि जाफरको प्रतिबन्ध खारेज भयो, अन्ततः हामी केही दिन सँगै यात्रा गर्न जाँदैछौं ।’
इरानको न्यायपालिकाले आफूविरुद्ध ‘गैरकानुनी र अमानवीय व्यवहार’ गरेको भन्दै भोक हड्ताल गरेपछि ६२ वर्षीय फिल्ममेकर पनाहीलाई जेलबाट धरौटीमा रिहा गरिएको थियो । उनलाई गत जुलाईमा राजधानी तेहरानमा देशको रूढिवादी सरकारविरुद्ध प्रदर्शन गरेको भन्दै पक्राउ गरिएको थियो ।
पनाही जेलमा राखिएका अर्का फिल्म निर्माता मोहम्मद रसौलोभको अवस्था बुझ्न न्यायाधिवक्ताको कार्यालय जाँदा पक्राउ परेका थिए । मोहम्मद चाहिं त्यसको केही दिनअघि प्रहरी हिंसाविरुद्धको अपीलमा हस्ताक्षर गरेपछि जेल परेका थिए । पनाहीलाई त्यहीं पक्राउ गरेर हिरासतमा राखिएको थियो ।
पनाहीलाई इरानी फिल्म उद्योगकै सबैभन्दा महान् व्यक्ति मानिन्छ । उनी ‘द सर्कल, अफसाइड, दिस नट अ फिल्म, ट्याक्सी र हालैको नो बियर्ससहित गत वर्ष भेनिसको विशेष जुरी पुरस्कारका विजेता जस्ता कार्यको लागि विश्वव्यापी रूपमा चिनिन्छन् ।
इरानले पनाहीको यात्रा प्रतिबन्ध हटाउनुलाई गत सेप्टेम्बरमा २२ वर्षीया महसा अमिनीको मृत्युपछि बढेको तनावलाई मत्थर पार्ने कदमको रुपमा हेरिएको छ ।
प्रतिक्रिया 4