
१४ वैशाख, काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष (आव) २०७९/८० को ९ महिनामा ३० अर्ब १ करोड ४८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । गत आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा २८ अर्ब ८७ करोड ११ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा करिब ४.५८ प्रतिशतले वृद्धि भएको हो ।
नेपाल बीमा प्राधिकरणका अनुसार २१ लाख ६६ हजार ३२८ बीमालेखा जारी गर्दा ३० अर्ब १ करोड ४८ लाख रुपैयाँ बीमा शुल्क संकलन भएको हो । गत आर्थिक वर्षको सोही अवधिमा २१ लाख ७४ हजार ४१४ बीमालेख जारी गर्दा २८ अर्ब ८७ करोड ११ लाख प्रिमियम संकलन भएको बीमा प्राधिकरणको तथ्यांक छ ।
सञ्चालनमा रहेका १६ निर्जीवन बीमा कम्पनीले चालु आवको चैत महिनामा ४ अर्ब १४ करोड १५ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । २ लाख ८९ हजार ८८३ बीमालेख जारी गरेर उक्त बीमा शुल्क संकलन गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ ।
सबैभन्दा ठूलो हिस्सा मोटर बीमाको
बीमा प्राधिकरणको चालु आवको ९ महिनाको तथ्यांकमा कुल बीमा शुल्कमा मोटर बीमाको हिस्सा सबैभन्दा बढी रहेको देखिन्छ । चालु आबमा संकलन भएको कुल बीमा शुल्कमा मोटर बीमाको हिस्सा मात्रै ३२.९४ प्रतिशत छ । चैत मसान्तम्म बीमा कम्पनीहरुले मोटर बीमाबाट मात्रै ९ अर्ब ८८ करोड ७६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका हुन् । १३ लाख ८३ हजार ७१ वटा बीमालेख जारी गर्दा उक्त बीमा शुल्क संकलन गरेका हुन् ।
यस्तै ३ लाख ७० हजार ४७० सम्पत्ती बीमालेख जारी गर्दा ६ अर्ब ६८ करोड १७ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । उक्त बीमा शुल्क कुल बीमा शुल्कको २२.२६ प्रतिशत हो ।
२२ हजार ५७९ वटा इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमाले जारी गर्दा ५ अर्ब २६ करोड २७ लाख रुपैयाँ बीमा शुल्क संकलन भएको छ । जुन कुल बीमा शुल्कको १७.५३ प्रतिशत हो ।
यस्तै विविध शीर्षकमा १ लाख २२ हजार ७१७ बीमालेख जारी गर्दा ३ अर्ब २६ करोड १ लाख रुपैयाँ बीमा शुल्क संकलन भएको नेपाल बीमा प्राधिकरणले जनाएको छ ।
कृषि तथा बाली बीमातर्फ १ लाख ३५ हजार ४३ वटा बीमालेख जारी हुँदा १ अर्ब ८१ करोड ५१ लाख रुपैयाँ र सामुद्रिक बीमामा १ लाख २ हजार ८२ वटा बीमालेख जारी हुँदा १ अर्ब ५४ करोड ४३ लाख रुपैयाँ बीमा शुल्क संकलन भएको बीमा प्राधिकरणको तथ्यांक छ ।
हवाई बीमामा ९८ वटा बीमालेख जारी हुँदा १ अर्ब ५० करोड ६५ लाख बीमा शुल्क र लघुबीमाको ३० हजार २६४ बीमालेख जारी हुँदा ५ करोड ६८ लाख रुपैयाँ बीमा शुल्क संकलन भएको हो ।
प्रदेशगत रुपमा बाग्मती प्रदेशमा सबैभन्दा धेरै बीमाशुल्क संकलन भएको छ । ३० अर्ब बीमा शुल्क संकलन हुँदा बागमती प्रदेशबाट मात्रै १९ अर्ब ८८ करोड ३६ लाख रुपैयाँ बीमा शुल्क संकलन भएको हो ।
यस्तै लुम्बिनी प्रदेशमा २ अर्ब ७३ करोड ४९ लाख रुपैयाँ बीमा शुल्क संकलन हुँदा कोशी प्रदेशमा २ अर्ब ६२ करोड ३३ लाख रुपैयाँ बीमा शुल्क संकलन भएको छ । मधेश प्रदेशमा १ अर्ब ८६ करोड ६६ लाख, गण्डकी प्रदेशमा १ अर्ब ६८ करोड ३१ लाख, सुदुरपश्चिम प्रदेशमा ७७ करोड ९० लाख रुपैयाँ र सबैभन्दा कम कर्णाली प्रदेशमा ४४ करोड ५० लाख रुपैयाँ बीमा शुल्क संकलन भएको बीमा प्राधिकरणले जनाएको छ ।
बीमा शुल्कमा शिखर र बीमालेखमा सिद्धार्थ प्रिमियर अगाडि
चालु आर्थिक वर्षमा युनाइटेड इन्स्योरेन्स र नेपाल इन्स्योरेन्सको बीमा शुल्क भने गत आर्थिक वर्षको तेस्रो त्रैमासमा तुलनामा घटेको छ । युनाइटेड इन्स्योरेन्सको बीमा शुल्क २१.४५ प्रतिशतले घटेको बीमा प्राधिकरणको तथ्यांकले देखाउँछ ।
२०७८ चैतमा १ अर्ब २१ करोड बीमा शुल्क संकलन गरेको कम्पनीले चालु आवको सोही अवधिमा ९५ करोड रुपैयाँ मात्रै बीमा शुल्क संकलन गरेको छ ।
नेपाल इन्स्योरेन्सले बीमा शुल्क ३.२० प्रतिशतले घटेको छ । गत आवको तेस्रो त्रैमासमा १ अर्ब १९ करोड बीमा शुल्क संकलन गरेको कम्पनीले चालु आवको सोही अवधिमा १ अर्ब १५ करोड रुपैयाँ मात्रै बीमा शुल्क संकलन गरेको छ ।
चालु आवको तेस्रो त्रैमाससम्म सबैभन्दा धेरै बीमा शुल्क शिखर इन्स्योरेन्सले संकलन गरेको छ । कम्पनीले ४ अर्ब १५ करोड बीमा शुल्क संकलन गर्दा सगरमाथा र लम्बिनी जनरल इन्स्योरेन्स मर्जर भएर बनेको सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ३ अर्ब ४८ करोड बीमा शुल्क संकलन गरेको छ । सगमाथा इन्स्योरेन्सले मात्रै गत आवमा करिब २ अर्ब ४३ करोड बीमा शुल्क संकलन गरेको थियो ।
सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स मर्जर भएर बनेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले चैत मसान्तसम्म ३ अर्ब ३५ करोड रुपैयाँ बीमा शुल्क संलन गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा सिद्धार्थ इन्स्योरेन्सले मात्रै १ अर्ब ९४ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो ।
यस्तै हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स मर्जर भएर बनेको हिमालयन एभरेष्ट इन्स्योरेन्सले २ अर्ब २९ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । गत आवको सोही अवधिमा हिमालयन जनरल इन्स्योरेन्सले मात्रै करिब १ अर्ब २७ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो ।
नेको इन्स्योरेन्सले २ अर्ब २६ करोड बीमा शुल्क संकलन गरेको छ । सानिमा र जनरल इन्स्योरेन्स मर्जर भई बनेको सानिमा जीआईसी इन्स्योरेन्सले १ अर्ब ६५ करोड बीमा शुल्क संकलन भएको छ । गत आवको तेस्रो त्रैमासमा सानिमा जनरल इन्स्योरेन्सको मात्रै ७२ करोड बीमा शुल्क रहेको थियो ।
चैत मसान्तमा सबैभन्दा कम बीमाशुल्क संकलन गर्नेमा नेशनल इन्स्योरेन्स रहेको छ । कम्पनीको बीमा शुल्क १२.४४ प्रतिशतले वृद्धि हुँदा पनि ७६ करोड मात्रै पुगेको छ । गत आवको तेस्रो त्रैमाससम्म कम्पनीले करिब ६८ करोड बीमा शुल्क संकलन गरेको थियो ।
चालु आवको चैत मसान्तसम्म कुल २१ लाख ६६ हजार ३२८ बीमालेख जारी भएकोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको मात्रै करिब २ लाख ७० हजार बीमालेख जारी गरेको छ । सिद्धार्थ र प्रिमियर दुवै कम्पनी मर्जर हुँदा उक्त बीमालेख पुगेको हो ।
यस्तै सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्स मर्जर भएर बनेको सगरमाथा लुम्बिनी इन्स्योरेन्सले करिब २ लाख ६६ हजार र नेको इन्स्योरेन्सले २ लाख १४ हजार बीमालेख जारी गरेको छ ।
सबैभन्दा कम बीमालेख जारी गर्ने कम्पनीमा भने नेशनल इन्स्योरेन्स रहेको छ । कम्पनीले करिब २५ हजार बीमालेख जारी गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ । बीमा कम्पनीहरुको आम्दानीको प्रमुख स्रोत बीमा शुल्क हो ।
प्रतिक्रिया 4