
काठमाडौं । हिमालय लोकस्टारले बुधबार राति विजेता प्राप्त गरेको छ । राष्ट्रिय सभागृहमा आयोजित भव्य फिनाले धेरै किसिमबाट मनोरञ्जक रह्यो । चर्चित सांगीतिक समूह इन्द्रेणीको ‘छिनको छिनैमा’ दोहोरीबाट सुरु भएको फिनालेमा राजु परियार र प्रेमराजा महतले माहोल तताए ।
इन्द्रेणीका कृष्ण कँडेलले अतिथिदेखि जजसम्मलाई कटाक्ष गरे । त्यसपछि ६ जना फाइनलिस्टले धमाकेदार प्रस्तुति दिए । महिला सांगीतिक समूहले पश्चिमदेखि पूर्वी नेपालसम्मको बाजाको लय र धूनमा प्रस्तुति दिए जुन निकै आकर्षक देखिन्थ्यो ।
लोकसंगीत क्षेत्रमा सक्रिय संगीतकर्मीको बाक्लो उपस्थिति रहेको ग्राण्ड फिनालेमा जजहरु राजु परियार, कुलेन्द्र विश्वकर्मा र रामजी खाँणले पनि गीत गाउँदै दर्शक नचाए । फिनालेमा पूर्वमिस नेपाल नम्रता श्रेष्ठ र कमेडियन प्रभात लामाले मिलेर फिनालेलाई होस्ट गरे ।
हिमालय टेलिभिजन एचडीमा प्रत्यक्ष प्रसारण समेत गरिएको फिनालेबाट बलराम विश्वकर्मा विजयी घोषित भए । पीएन साइँला फस्ट रनरअप घोषित भए भने सन्तोष क्षेत्री सेकेण्ड रनरअप घोषित भए । ट्रफी उचाल्दै उपाधि जितेका विश्वकर्माले जिताउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिए । हिमालय एचडीबाट चाँडै अर्को एड्भेन्चर रियालिटी शो रोडिज प्रसारण हुन लागेको जानकारी पनि उक्त अवसरमा दिइयो ।
तस्वीर : आर्यन धिमाल
प्रतिक्रिया 4