
१७ वैशाख, काठमाडौं । कपनको सरस्वतीनगरमा ७ वैशाखमा छुरा प्रहार गरेर निरा पाण्डे आचार्य (निरु) को हत्या भयो ।
प्रहरीले शनिबार राति १० बजे झापाको बिर्तामोडबाट हत्यामा संलग्न रहेको आरोपमा विनोद बिकलाई पक्राउ गरेको छ । कागेश्वरी मनोहरा खोला नजिकै रहेको पिज्जा हब रेष्टुरेन्टबाट रगत लत्पतिएको सर्ट र बिकले हत्याका बेला बोकेको झोला प्रहरीले बरामद गरेको छ ।
घटनास्थल आसपासमा रहेका क्लोज सर्किट (सीसी) क्यामरामा देखिएको फुटेजका आधारमा पहिचान गरिएका बिकले घटना भएका बेला त्यही सर्ट र झोला बोकेको प्रहरीले बताएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आइतबार पत्रकार सम्मेलन गरेर बिकलाई सार्वजनिक गर्दा झोला र सर्टको तस्वीर पनि सार्वजनिक गरेको छ ।
तर, हत्यामा प्रयोग भएको भनिएको छुराबारे प्रहरीले केही बताएको छैन । ब्यूरो पुगेका निराका केही आफन्तले छुरा कहाँ छ भन्दै प्रश्न गरेका थिए ।
एक अनुसन्धान अधिकृतका अनुसार बिक ७ वैशाखको दिन अपराह्न २ः३३/३४ बजेतिर निरु किचनमा प्रवेश गरेका थिए । त्यसअघि पनि आक्रमण गर्ने उद्देश्यले गएपनि छोरी चिया लिएर गएका कारण उनी पैसा निकाल्ने बहाना बनाएर निस्किएको ब्यूरोका एसएसपी दिनेश आचार्य बताउँछन् ।
प्रहरीका अनुसार दोस्रो पटक आएका बेला एक्लै देखेपछि पछाडिबाट बिकले निरालाई मुड्कीले हानेर आक्रमण गरेका थिए ।
तर, प्रतिकार गर्न खोजेपछि पसलमै रहेको छुरा निकालेर प्रहार गरेको उनको बयान छ । ‘कराउन थालेपछि घाँटीमा अनि पेटमा पटकपटक छुराले हानेँ’, बिकको बयान उधृत गर्दै प्रहरी स्रोत भन्छ, ‘बाहिर थाहा हुने भयो भनेपछि छुरा हानेको थिएँ ।’
त्यो छुरा आफूले लिएरै गएको र मनोहरा खोलामा फ्याँकेको उनको बयान रहेको प्रहरीले जनाएको छ । ब्यूरोकी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्य भन्छिन्, ‘छुराको विषयमा पनि उनले केही बताएका छन्, त्यसलाई भेरिफाइ गर्ने काम अब सुरु हुन्छ ।’
प्रतिक्रिया 4