+
+
ब्लग :

ढुटोको कथा

‘यही कोदो, फापर, आलु, सिमी, सिस्नो राम्रो पोषणयुक्त भोजन हुँदो हो त सरकारले यहाँ यति धेरै, सजिलैसँग फल्ने कोदो र फापर नै खाऊ भन्थ्यो होला नि !’ शायद वृषबहादुरले विचार गरे होलान् ।

डा. अरुणा उप्रेती डा. अरुणा उप्रेती
२०८० वैशाख १८ गते १४:२९

२०३२ सालतिरको कुरा हो । ललितपुर जिल्लाको सुनाकोठी, चापागाउँ पुग्दा पोषणविज्ञ मिरियम दिदीले प्रायः त्यहाँका महिला र पुरुषको मुखको कापमा खटिरा र जिब्रोमा बिमिरा भएको देखिन् । मिरियम दिदी त्यसको कारण पत्ता लगाउन थालिन् । बुझ्दै जाँदा त त्यहाँ एक वर्ष अगाडि एउटा बिजुलीले चल्ने मिल आएको रहेछ । मानिसहरू ‘सेतो चामल राम्रो हुन्छ’ भनेर त्यही मिलमा चामल कुट्न जान थालेछन् ।

पहिलो पहिले ढिकीले कुट्दा चामल रातो हुन्थ्यो र पोषण पनि रहन्थ्यो तर सेतो चामल खाँदा त अधिकांश पोषणतत्व खत्तम भएछ ।

मिलमा कुटेको चामलको ढुटो चाहिं गाईवस्तुलाई दिने गरेछन् । चामलको ढुटोमा रहेको विभिन्न थरीका भिटामिनको बारेमा गाउँलेलाई थाहा थिएन । त्यसैले मिरियम दिदीले गाउँलेलाई त्यसको बारेमा बुझाएर त्यही मिलबाट उनीहरूको चामलबाट निस्केको ढुटो २–३ प्याकेटसँगै बिहान–बेलुका तरकारी र दाल पकाउँदा हालेर खाने सल्लाह दिइन् । १०–११ दिन ढुटो खाएपछि मुखका खटिरा ठीक भए ।

यो घटनाले मलाई सानोमा पढेको कथामा दिदीले भाइलाई हेपेर चामलको ढुटो दिएको दृश्य याद गरायो । तर, ललितपुरमा भने मिरियम दिदीले चाहिं माया गरेर गाउँलेको मुखको खटिरा समाप्त पार्न चामलको ढुटो दिएकी थिइन् ।

उनले गाउँलेको साथमा रहेको खानेकुरा गाउँलेलाई नै फिर्ता दिइन् तर ज्ञानसहित फिर्ता दिएपछि पो गाउँलेको आँखा खुल्यो । कस्तूरी मृगले आफ्नै नाभिमा रहेको कस्तूरीको बारेमा थाहा नपाउँदा यता र उति खोज्दै हिंडे जस्तो । ढुटोमा रहेको विभिन्न किसिमका भिटामिनहरू पो उनीहरूको औषधि रहेछ ।

त्यो बेलाका ललितपुरका बासिन्दा झैं अहिले पनि हामीहरू आफैंसँग भएका खानेकुराको बारेमा थाहा नपाएर विभिन्न समस्याको शिकार भइनै रहेका छौं ।

सानो छँदा एउटा कथा पढ्थ्यौं । ‘एकजना दिदी र भाइ बस्दा रहेछन् । आमाको मृत्यु भइसकेकोले भाइको हेरचार गर्ने जिम्मा दिदीकै थियो । एकदिन दिदीको पनि विवाह भयो र उनी परदेश लागिन् । भाइ एक्लै भए, रोए । अनि दिदीको न्यास्रो लागेर एकदिन दिदी भेट्न परदेश गए । गरिब भाइलाई देखेर दिदी खुशी भइनन् । उनलाई बाहिर आँगनमा सुताइन् र घरमा रहेको अजंगको भोटेकुकुरलाई खोले पकाउँदा, त्यसैमा चामलको ढुटो हालेर भाइलाई दिइन् ।

दिदीले चामलको ढुटो आफूलाई हेपेर दिएको थाहा पाएपछि ऊ रुँदै गाउँ फर्केछ । सानोमा छँदा यस्ता कथा पढ्दा मेरो चित्त दुख्थ्यो र कसरी दिदीले चामलको ढुटो भाइलाई खान दिन सकेकी होलिन् भनेर कथाकी दिदीसँग रिस पनि उठ्थ्यो । तर अहिले त्यही कथा पढ्दा लाग्छ, दिदीले त थाहै नपाएर होला, हेपेर नै भए पनि बडो पोषणयुक्त खानेकुरा पो दिएकी रहिछन् त भन्ने लाग्न थालेको छ ।

ठूला–ठूला अन्तर्राष्ट्रिय संस्थाहरूले पनि हामीलाई आफ्नै स्थानमा पोषणको बारेमा जानकारी दिएर, त्यसको प्रयोग गर्न लगाउनुको सट्टा बाहिरबाट खानेकुरा पठाएर हामीलाई परजीवी बनाइदिएको छ । यसको दुःखद उदाहरण हो– कर्णाली र सुदूरपश्चिमका बासिन्दाहरूको खानेकुरामा आएको परिवर्तन ।

‘त्यहाँ मानिसहरू गरिब छन्, खाद्य असुरक्षा छ’ भनेर चामल पठाउने सरकारले स्थानीय खानेकुरालाई विस्थापित गरेको छ । अछाममा गहँु फलेर रोटी खाने चलन थियो । ‘गहुँ त्यहाँबाट बाहिर निर्यात पनि हुन्थ्यो’ आजभन्दा ७ वर्षअघि जति त्यहाँका प्रमुख जिल्ला अधिकारीले भनेका थिए, ‘अहिले त सरकारले चामल पठाएर, मानिसहरू चामल मात्रै खोज्छन् गहुँ पनि रोप्न छोडे ।’

त्यस्तै अवस्था मैले मुगुमा देखेकी थिएँ । मुगुको रारा तालको नजिकै गाउँमा गएर वृषबहादुरको घरमा बस्दा उनले मलाई भात नै ख्वाए । मैले भनेकी थिएँ, ‘फापर र कोदोको रोटी ख्वाउनोस् न !’ उनको जवाफले म अवाक् भएकी थिएँ, ‘कहाँ हजुर अब त कोदो र फापर नै रोप्न छोड्यौं । खाद्य संस्थानले धनगढीमा चामल ल्याउँछ, त्यही लिन जान्छौं, खान्छौं । आलु र फापर त अति गरिब मानिसले मात्रै खान्छन् । तर उनीहरू पनि पाएसम्म चामल नै खोज्छन् ।’

यसरी चामल खाए ठूलो मान्छे भइन्छ भन्ने जनतालाई परेको छ । किनभने काठमाडौंबाट जाने सबै सरकारी कर्मचारीहरू चामल मात्रै खान्छन् । ‘ठूलाबडाको देखासिकी गर्ने त हो नि स्थानीय कर्मचारीले’ वृषबहादुरले भनेका थिए । ४ जना छोराछोरीका बाबु वृषबहादुरका सन्तान सबै कुपोषित थिए ।

‘फापर र कोदो, आलु, सिमी अलिअलि गर्दै दिनमा ४–५ चोटि ख्वाए यिनको कुपोषण विस्तारै हराउँछ’ मेरो कुरा सुनेर त्यतिबेला वृषबहादुर फिस्स हाँसे मात्रै । उनले शायद मेरो कुरा विश्वास गरेनन् । म स्वास्थ्यकर्मी हो भन्ने थाहा पाएर पनि मेरो विश्वास नगर्नुको कारण थियो– ठूलाठूला संस्था र सरकारले खाद्य गोदाममा दिएको चामल ।

‘यही कोदो, फापर, आलु, सिमी, सिस्नो राम्रो पोषणयुक्त भोजन हुँदो हो त सरकारले यहाँ यति धेरै, सजिलैसँग फल्ने कोदो र फापर नै खाऊ भन्थ्यो होला नि !’ शायद वृषबहादुरले विचार गरे होलान् । उनले मुखले केही नभने पनि यही आशय उनको अनुहारबाट बुझिन्थ्यो ।

वृषबहादुरको क्षेत्रदेखि सुदूरपश्चिमका डोटी, अछाम, कैलालीमा मैले स्थानीय मानिस र स्वास्थ्य कार्यकर्तालाई आलु, कोदो, फापर, गहुँको महत्व र बिस्कुट, चाउचाउ जस्ता प्याकेटका खानेकुराहरूले स्वास्थ्यमा पर्ने हानिहरूको बारेमा बताएकी थिएँ । तर, उनीहरूले सीधै प्रश्न गरे, ‘तर, अरू डाक्टर र सरकारले त यस्तो भन्दैनन् । यदि तपाईंले भनेको कुरा साँचो हो भने खोइ स्वास्थ्य मन्त्रालयका मानिसहरूले हामीलाई भनेको छ ?’ उनीहरूको प्रश्न पनि जायज छ ।

‘एक्लो बृहस्पति झुट्टा हो’ भने झैं बारम्बार गाउँमा गएर मैले स्थानीय खानेकुराको महत्वको बारेमा भनेर मात्र मानिसहरूले किन विश्वास गर्लान् त ?

तर नेपालका विभिन्न ठाउँका पोषण विशेषज्ञ, बाल रोग विशेषज्ञले स्थानीय खानेकुराको महत्वको बारेमा भनिरहनुभएको छ । डा. रमेशकान्त अधिकारी र मिरियम दिदीले किताबै लेख्नुभएको छ । ‘बाल स्वास्थ्य र पोषण’ भनेर र उहाँहरूले अनुसन्धान गरेर नै लेख्नुभएको छ कि कसरी साग, सिस्नो, पाइसाग, गिट्ठा, भ्याकुर, कोदो, फापर, जौ, गहुँ, चामलको ढुटो, भटमास र मकै आदि पोषणका राम्रा स्रोत हुन् ।

प्याकेटका खानेकुरा, बालबालिकालाई दिइने सेरेलेक्स, हर्लिक्स, नेस्ले आदिको सट्टामा सर्वोत्तम पीठो बनाएर खुवाए धेरै पैसा बचत त हुन्छ नै साथै बच्चाहरूले बट्टाको खानेकुरा भन्दा धेरै गुणा बढी पोषण पाउँछ ।

क्याल्सियम पाउनलाई चक्की खानुपर्दैन, गुन्द्रुक र ज्वानो खाए हुन्छ । शरीरमा लौह शक्ति तत्व बढाउन कर्कलो, भटमास, मस्यौरा र गुन्द्रुकको प्रयोग उत्तम हुन्छ भनेर उहाँहरूले लेख्नुभएको छ । त्यसैको आधारमा मैले सबैलाई भन्दै आएकी छु भने आफूले त जीवनमा जहिले पनि प्रयोग गरिनै रहेकी छु ।

लेखकको बारेमा
डा. अरुणा उप्रेती

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?