
१९ वैशाख, काठमाडौं । उच्च अदालत पाटनले साढे तीन वर्षअघि बुढानिलकण्ठमा भएको कार दुर्घटनाको मुद्दामा आरोपित पृथ्वीबहादुर मल्ललाई दोषी ठहर गरेको छ ।
न्यायाधीशहरु राजेन्द्र खरेल र जगदीश घिमिरेको इजलासले लापरवाहीपूर्वक सवारीसाधन चलाएको आरोपमा मल्ललाई दोषी ठहर गरेको हो । उच्च अदालत पाटनले सजाय निर्धारण भने गरेको छैन ।
तीन वर्षभन्दा बढी कैद गर्नुपरे सजाय निर्धारणका लागि छुट्टै सुनुवाई गर्नुपर्ने कानुनी व्यवस्था छ । त्यसैले यो मुद्दामा मल्ललाई इजलासले कम्तीमा पनि तीन वर्ष सजाय तोक्नेछ ।
तीन वर्षअघि पृथ्वीबहादुर मल्लले मदिरा सेवन गरेर चलाएको सवारीसाधनको ठक्करबाट बुढानिलकण्ठमा मर्निङवाकमा निस्किएकी लीला देवकोटाको मृत्यु भएको थियो । यो मुद्दामा सरकारी वकिलले उनलाई १० वर्ष कैद र एक लाख जरिवानाको माग गरेको थियो ।
जिल्ला अदालत काठमाडौंले पृथ्वीलाई दोषी ठहर गरेपनि ६ महिना कैद र एक हजार रुपैयाँमात्रै जरिवाना गरेको थियो । फैसलामा कम कैद र जरिवाना भएको भन्दै सरकारी वकिल कार्यालय उच्च अदालतमा पुनरावेदन गरेको थियो ।
२७ मंसिर २०७६ मा भएको घटनामा त्यतिबेला जिल्ला र उच्च अदालत पाटनले आरोपितलाई थुनामा राख्न आदेश दिएको थियो । तर न्यायाधीश सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लको इजलासले पृथ्वीलाई मानसिक समस्या देखिएको भन्दै साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो ।
प्रतिक्रिया 4