
२० वैशाख, काठमाडौं । नेकपा एमाले सचिव एवं प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीले आफूविरुद्ध लगाइएको आरोप झुटो भएको बताएका छन् ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको आरोपमा अनुसन्धान गर्न प्रहरीको निवेदनमा जिल्ला अदालत काठमाडौंले रायमाझी र उनका छोरा सन्दीपविरुद्ध बुधबार पक्राउ पुर्जी जारी गरेको छ ।
गृहजिल्ला अर्घाखाँचीमा रहेका रायमाझीले अनलाइनखबरसँगको कुराकानीमा आफूमाथि लगाइएको आरोपमा सत्यता नभएको बताए । रायमाझीसँग अनलाइनखबरका रामकुमार डिसीले गरेको संक्षिप्त कुराकानी :
नक्कली भुटानी शरणार्थी प्रकरणमा तपाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको भएको छ । यसबारे के भन्नुहुन्छ ?
त्यो बिल्कुल झुट कुरा हो । त्यसमा कुनै सत्यता छैन । हामी त्यसमा लाग्ने कुरा पनि भएन । कहाँबाट कसले के गरेको हो, त्यो थाहा पनि छैन । म बुझ्दै छु । म काठमाडौं जाँदै छु, बुझेर यसबारे बताउँछु ।
पक्राउ पुर्जी किन जारी भयो भन्ने लागेको छ ?
किन आयो, कसरी आयो भन्ने केही थाहा छैन । घुम्न गएको आधारमा, चिया कफी खाएको बेलामा फोटो खिचेको मान्छेले किन त्यसरी नक्कली चेक काट्यो, त्यो हामीसित पनि छैन । त्यसको के अर्थ छ ? त्यो पनि चार वर्ष पुरानो । चेक साटिएको भए पनि यसो पैसा तिरेछ, किन साटिएछ भन्ने हुन्थ्यो ।
तपाईंविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ, अब के गर्नुहुन्छ ?
यसको छानबिन राम्ररी होस् । सत्यतथ्य राम्ररी आओस् । गैरभुटानी शरणार्थीलाई विदेश पठाउने नाममा मेरो न हिजो सर्मथन थियो, न अहिले र भोलि रहन्छ ।
प्रतिक्रिया 4