
२० वैशाख, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सेयर बजारमा नयाँ सूचकांकको रुपमा ‘नेप्से–३० इन्डेक्स’ ल्याउने तयारी गरेको छ । नेप्सेले ‘नेप्से–३० इन्डेक्स’ गणना विधि र यसमा समावेश गरिने सूचीकृत संगठित संस्था छनोट विधिको मस्यौदा सार्वजनिक गर्दै सुझाव पेश गर्न आह्वान गरेको छ ।
डेरिभेटिभ प्रकृतिको निश्चित अवधिको कारोबार उपकरण सञ्चालन, पोर्टफोलियो व्यवस्थापन र एक्ससचेञ्ज ट्रेड फण्ड सञ्चालन गर्न सहयोग पुग्नेगरी ‘नेप्से ३० इन्डेक्स’ आउन लागेको नेप्सेले जनाएको छ ।
‘नेप्सेले दोस्रो बजार कारोबारलाई थप सुदृढ बनाउन सहयोग पुग्ने गरी सूचकांकहरुको विकास, सञ्चालन तथा व्यवस्थापन गर्ने उद्देश्य अनुरुप बजारमा तत्काल कारोबारयोग्य सेयरहरुलाई समावेश गरी बजार पूँजीकरणमा आधारित सूचकांकको रुपमा नेप्से-३० इन्डेक्स तर्जुमा हुनेछ’ नेप्सेले सुझाव माग गर्दै सार्वजनिक गरेको प्रस्तावित कार्यविधिमा भनिएको छ ।
उक्त सूचकांकले बजार कारोबार तथा उतारचढावलाई प्रतिबिम्बित गर्नुका साथै डेरिभेटिभ प्रकृतिको निश्चित अवधिको कारोबार उपकरण सञ्चालन, पोर्टफोलियो व्यवस्थापन, एक्सचेञ्ज ट्रेड फण्ड सञ्चालन लगायतमा सघाउ पुर्याउने अपेक्षा गरेको समेत जनाएको छ । जसले दोस्रो बजार कारोबारमा नयाँ आयाम थपिने र लगानीकर्तालाई भविष्यमा थप कारोबारयोग्य उपकरण प्राप्त हुन नेप्सेले जनाएको छ ।
के छन् प्रस्तावित इन्डेक्समा समावेश हुने आधारहरु ?
नेप्सेले प्रति सेयर चुक्ता मूल्य भन्दा प्रति सेयर किताबी मूल्य बढी हुनुका साथै विगत ५ आर्थिक वर्षमध्ये पछिल्लो आर्थिक वर्ष सहित कम्तीमा ३ वर्ष खुद नाफामा रहेको कम्पनीलाई नेप्से-३० मा समावेश गर्ने प्रस्ताव गरेको छ । यस्तै अघिल्लो आर्थिक वर्षमा प्रतिसेयर आम्दानी चुक्ता मूल्यको न्यूनतम १० प्रतिशत रही सोही वर्षको वार्षिक मुद्रास्फीति दर भन्दा बढी रहेको हुनुपर्ने प्रस्ताव गरेको छ ।
कम्पनीको कम्तिमा २५ प्रतिशत सेयर सर्वसाधारणमा जारी भएको वा कुल फ्रि–फ्लोट बजार पूँजीकरणमा सम्बन्धित कम्पनीको फ्रि–फ्लोट बजार पुँजीकरण एक प्रतिशतभन्दा बढी रहेको हुनेपर्ने प्रस्तावित छनोट विधिमा उल्लेख छ । यस्तै सेयरधनीको संख्या कम्तीमा २० हजार भएको, पछिल्लो ६ महिनाको अवधिमा दैनिक औसत २५ लाख वा सोभन्दा बढी रकमको कारोबार भई दैनिक औसत ५ हजार कित्ता वा सोभन्दा बढी कित्ताको कारोबार भएको र दैनिक औसत ४० वा सो भन्दा बढी पटक कारोबार भएको हुनुपर्ने समेत प्रस्ताव गरेको छ ।
यस्तै पछिल्लो ६ महिनाको अवधिमा उपलब्ध कारोबार दिनहरु मध्ये न्यूनतम ७५ प्रतिशत दिनहरुमा कारोबार भएको हुनपर्ने नेप्सेले प्रस्ताव गरेको कम्पनी छनोट विधिमा उल्लेख छ ।
कस्तो हुन्छ प्रस्तावित नेप्से–३० इन्डेक्सको गणना विधि ?
छनोट विधि अनुसार छनोट भएर आएका कम्पनीहरुको प्रारम्भिक सूची तयार गरी प्रारम्भिक सूचीमा समावेश भएका सबै सूचीकृत संगठित संस्थाको फ्रि–फ्लोट बजार पूँजीकरण, पछिल्लो वर्षको प्रति सेयर आम्दानी, कारोबार रकम, कारोबार संख्या तथा कारोबार कित्ताका आधारमा प्रत्येकलाई भार प्रदान गरी कुल भार गणना गर्ने हुने प्रस्ताव नेप्सेले गरेको छ ।
यस्तै सूचीकृत संगठित संस्थाहरुलाई बैंक तथा वित्तीय संस्था, लघुवित्त, बीमा, जलविद्युत, उत्पादनमूलक, व्यापार तथा सेवा गरी ६ वटा क्षेत्रगत समूहमा वर्गीकरण गरी प्रत्येक समूह भित्र छुट्टाछुट्टै कम्पनीको आ-आफ्नै समूहमा कूल भार गणना गर्ने र उच्चतम भार प्राप्त गर्ने संगठित संस्थाहरुबाट ८ वटा कम्पनी छनोट गर्ने प्रस्ताव नेप्सेले गरेको छ । कुनै समूहमा ८ संगठित संस्था भन्दा कम छनौट भएमा उपलब्ध सबै संगठित संस्था छनोट गर्ने जनाएको छ ।
यसरी छनोट भएका संगठित संस्थाहरुको संख्या ३० भन्दा बढी भएमा गणना गरिएको कुल भारमा कम भार भएका कम्पनीहरुलाई हटाई ३० कम्पनी कायम गर्ने र यसरी कम्पनी हटाउँदा प्रत्येक समूहबाट कम्तीमा एक संगठित संस्था कायम गर्ने गर्ने प्रस्तावित विधिमा उल्लेख छ ।
यसरी छनोट भएका संगठित संस्थाहरुको संख्या ३० भन्दा कम भएमा प्रत्येक समूहबाट ८ भन्दा बढि कम्पनी छनोट नहुने गरी सूचीकृत सबै कम्पनीको कूल भार गणना गर्ने र उच्चतम भार प्राप्त गर्ने कम्पनी थप गरी कम्पनीको संख्या ३० पुर्याउने प्रस्ताव नेप्सेले गरेको छ ।
हेर्नुहोस् प्रस्तावित ‘नेप्से-३० इन्डेक्स’ :
प्रतिक्रिया 4