
२० वैशाख, काठमाडौं । सञ्चार क्षेत्रमा अनेकौं खालका चुनौती बढ्दै गएको भन्दै सरोकारवालाहरुले सञ्चार क्षेत्र ती चुनौती छिचोलेर अघि बढ्नु पर्नेमा जोड दिएका छन् ।
सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालले आज ललितपुरमा गरेको कार्यक्रममा राष्ट्रिय सूचना अयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले पुराना कानुन, सामाजिक सञ्जालको बढ्दो प्रयोग, बदलिंदो प्रविधी लगागत चुनौती रहेको बताए ।
सूचनाको हक लगायत नागरिकका अन्य हक कार्यान्वयन गराउन सञ्चार माध्यम र सामुदायिक रेडियोले खेलिरहेको भूमिका सरहानीय रहेको भन्दै उनले नयाँ नयाँ चुनौतीलाई पन्छाउँदै अघि बढ्नुपर्ने सुझाव दिए ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका कार्यवाहक सचिव मुरारी खरेलले मानव अधिकारको जानाकरी र त्यसको कार्यान्वयनका लागि सञ्चारमाध्यमको भूमिका अतुलनीय हुने उल्लेख गर्दै पछिल्लो समय सञ्चार माध्यम र पत्रकारले भोग्नुपरेका समस्या समाधानका लागि सबैको साथ सहयोग आवश्यक पर्ने बताए ।
सञ्चार क्षेत्रले आम नागरिकका समस्या उजागर गर्नुका साथै सरकारलाई जवाफदेही बनाउन पनि सधैं पहरेदारी र खबरदारी गर्नुपर्ने उनले बताए ।
अधिकारकर्मी चरण प्रसाईँले पछिल्लो समय सञ्चारमाध्यमले मानवअधिकारका विषयमा कम ध्यान दिएको भन्दै समाजको दीगो रुपान्तरण र लोकतन्त्रको कार्यान्वयनका लागि मानवअधिकारका विषय सञ्चारमाध्यमको मुख्य मुद्दा बन्नुपर्नेमा जोड दिए ।
उपप्राध्यापक तथा इन्सेकका अध्यक्ष कुन्दन अर्यालले नेपाली सञ्चारको अधिकार सबै खालका मानवअधिकारको अग्रणी भएकाले त्यसको कार्यान्वयमा अन्य क्षेत्रको सहयोग जरुरी रहेको बताए ।
अर्यालले राज्य र राजनीतिक शक्तिको सञ्चार क्षेत्रलाई उपयोग गर्ने मनोविज्ञान स्वतन्त्र पत्रकारिताको सबैभन्दा ठूलो चुनौती रहेको बताए ।
काठमाडौं विश्वविद्यालयका प्राध्यापक सुधांशु दाहालले सञ्चारमाध्यम र सञ्चारकर्मीले आम नागरिकका पक्षबाट काम गर्ने भएकाले उनीहरुका लागि सहज वातावरण निर्माण गर्नु सबै क्षेत्र र नागरिकको कर्तव्य भएको बताए ।
पूर्वसञ्चारकर्मी तथा युवा नेता अजयबाबु शिवाकोटीले सञ्चारमाध्यममा मानव अधिकारको विषय छायामा परेको भन्दै सञ्चार माध्यमले पर्दा पछाडिका घटना पनि उजागर गर्ने मूल दायित्वलाई भुल्न नहुने बताए ।
सञ्चारिका समूहका अध्यक्ष विमला तुम्खेवाले पत्रकार महिलाले गरेको योगदानको सरहाना सञ्चार जगतले गर्न नगरेको गुनासो गरिन् ।
पीएसआईका सञ्चार अधिकृत कुन्दन आचार्यले ससाना जस्ता लाग्ने आम नागरिकका चासो र सरोकारका विषयलाई सञ्चारजगतले उजागर गर्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया 4