
२२ वैशाख, काठमाडौं। ललितपुरको सानेपा र काठमाडौंको टेकु जोड्ने कालोपुल मुनि पर्यटक बस फसेको छ । पुल मुनिको खाल्डोमा जमेको पानीमा बा १ प १२१९ नम्बरको पर्यटक बस फसेको हो ।
चालकका लागि नयाँ रूट भएका कारण पर्यटक बस फस्न पुगेकाे प्रहरीले जनाएको छ । ‘हातको इसारा र सिट्टी बजाएर नजान भन्दै थियौं । तर चालकले हाम्रो इशारालाई बुझेनन्,’ सो क्षेत्रमा खटिएका एक ट्राफिक प्रहरीले भने, ‘हाम्रो इशारा नबुझ्दा बस जमेको पानीमा फस्न पुग्यो ।’
बागमती करिडोरमा पर्ने उक्त पुल मुनिको यो बाटोमा वर्षा हुने वित्तिकै पानी जम्ने गर्दछ । पानी जमेर पोखरी नै बन्ने भएकोले प्रायः गाडीहरु फस्ने गरेको स्थानीयहरु बताउँछन् । विशेष गरेर पहिलो पटक यो रुट भएर आउने सवारी साधनहरु यहाँ फस्ने गरेकाे स्थानीयहरु बताउँछन् ।
एक पटक पानी पर्दा पनि लामो समयसम्म पुलमुनिको सडकमा ताल बनेर बस्ने गरेको हुन्छ । तर त्यहाँ कुनै पनि जानकारीमूलक सूचना वा संकेत नराखिदिंदा चालक र यात्रुहरु मर्कामा पर्दै आएका छन् ।
यसअघि २०७९ साल साउन ५ गते सोही स्थानमा मिनी ट्रक फसेको थियो । यस्तै २६ जेठमा र २७ असारमा पनि करिडोरमा गाडी फसेका थिए ।
यसैबीच क्रेनको सहायताले झण्डै एक घण्टापछि उक्त बस निकालिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4