
काठमाडौं । समाजमा धेरैले भनेको हामी सुन्छौं- ‘कस्तो लोभी रहेछ, मरेपछि पनि सँगै लिएर जान्छ कि क्या हो ।’
कुनै पनि प्रिय चीजमा लोभ लाग्नु मानवीय स्वभाव नै हो । सायद यो स्वभाव अन्य प्राणीमा पनि होला । माथिको भनाइ जस्तै लोभ राख्नु वा जाग्नु खराब नै हो त ?
‘कुनै कुराको अति आशक्ति राख्नु चाहिं खराब हो,’ मनोविद् गोपाल ढकाल भन्छन्, ‘तर सकारात्मक लोभले मान्छेलाई प्रगतिको बाटो लैजान्छ । लोभकै कारण प्रगतिपथमा लागेका धेरै व्यक्ति हाम्रै वरपर छन् ।’
नकारात्मक कुराको लोभ गर्नु भने हानिकारक हुन्छ । यसकै कारण अपराधको भूमरीमा समेत पर्न सकिन्छ । लोभले प्रगति, उन्नतितर्फ लैजाने आशक्ति पैदा गर्ने पाटो हुँदाहुँदै पनि समाजमा यो नराम्रो नै हो भनेर व्याख्या गर्ने प्रवृत्ति देखिन्छ ।
कस्तो व्यक्ति बढी लोभी ?
लोभ मानवीय गुण हो, कसैमा बढी त कसैमा कम हुने मनोविद् ढकाल बताउँछन् । ‘कम लोभ छ भने व्यक्ति जे छ त्यसमा खुसी हुन्छ भने बढी लोभ छ भने व्यक्ति सही र गलत पनि छुट्याउन नसक्ने अवस्थामा पुग्न सक्छ,’ उनी भन्छन् ।
के लोभ गर्नु वास्तवमै खराब हो ?
एकपटक सद्गुरु जग्गी वासुदेवले भनेका थिए, ‘सानैदेखि लोभ गर्न हुँदैन भनेर सिकाइन्छ तर लोभ नहुँदो हो त व्यक्ति सफल बन्न सक्दैन । व्यक्तिले आफ्नो जरुरत के हो भन्ने कुराको अनुभव गर्न सक्दैन र उसमा प्रगति गर्ने भाव आउँदैन । भौतिक आयाममा मात्रै सीमित हुन्छ अर्थात् व्यक्ति जे छ त्यसमै सीमित रहँदा त्यो व्यक्ति सिर्जनशील हुन सक्दैन । कुनै कुराको लोभले नै व्यक्तिलाई सर्वोत्कृष्ट बनाउने हो ।’
लोभ नभएको व्यक्तिमा कुनै कुराप्रति आकर्षण नै नहुने मनोविद् ढकाल बताउँछन् । माया, मोहजस्ता भावना पनि लोभकै कारण सिर्जना हुने भएकाले यो आफैंमा नराम्रो नहुने उनी बताउँछन् ।
‘सुन्दर फूल देख्नुभयो तर त्यो फूलप्रति लोभ नै जाग्दैन भने त्यसलाई प्राप्त गर्ने चाहना तपाईंमा हुँदैन । यसको अर्थ के हो भने कुनै पनि चीज प्राप्त गर्ने उत्प्रेरणा नै लोभ हो,’ ढकाल भन्छन्, ‘धन होस् वा बौद्धिक विकास, लोभ भएन भने त्यसको लागि मेहनत र कसरत नै हुँदैन ।’

लोभ पैदा हुनु रसायनको खेल
विज्ञानले पनि लोभ मस्तिष्क एक रसायनको खेल भएको पुष्टि गरेको छ । हार्वर्ड विश्वविद्यालयले गरेको एक अध्ययनले डोपामाइन रसायनले मानिसमा लोभ बढाउने उल्लेख गरेको छ । अध्ययन अनुसार जब डोपामाइन निस्कन्छ, तब मानिसलाई केही कुरा राम्रो लाग्छ । जति धेरै डोपामाइन रिलिज हुन्छ, त्यति नै राम्रो महसुस हुन्छ ।
धन, प्रतिष्ठा, इज्जत एकपटक अनुभव गरेपछि शरीरमा भएको डोपामाइनले पुनः त्यस्तै आयाम पटकपटक प्राप्त गर्न लालयित बनाउन सक्छ ।
लोभ गर्न बच्चादेखि नै सिकाइन्छ
लोभ जन्मजात आएको गुण होइन । जन्मिएपछि हुर्किंदै जाँदा बच्चालाई अभिभावकबाट नै सिकाइने पाठ भएको मनोविद् ढकाल बताउँछन् । ‘जस्तो, बाल्यकालदेखि नै खानेकुरा फाल्न हुँदैन, सञ्चित गर्नुपर्छ । पैसा धेरै खर्च गर्न हुँदैन, भोलि केही किन्न काम लाग्छ भनेर सिकाउनु पनि एउटा लोभ नै हो,’ उनी भन्छन्, ‘यसले बच्चालाई हरेक कुराको हद सिकाइरहेको हुन्छ यससँगै उसको मनोविज्ञानमा लोभको भावना हुँदै गएको हुन्छ ।’
लोभ आवश्यकता भन्दा बढी भयो र अरुलाई हानि गर्यो भने त्यो चाहिं खराब हुने उनी बताउँछन् ।
आवश्यकताभन्दा बढी लोभ
नेपालीमा एउटा उखान नै छ- लोभले लाभ, लाभले विलाप । यसको अर्थ अत्यधिक लोभ वा चाहिने भन्दा बढी कुनै कुरामा आशक्ति राख्यो भने त्यो मानिस पतन भएर जान्छ ।
भ्रष्टाचार गर्ने र अपराधका घटना बढी लोभकै कारण हुने गर्छन् । ढकालका अनुसार समाजमा हुने विकृति, अप्रिय घटना, हिंसा चाहिनेभन्दा बढी लोभ र लालचकै कारण हुन्छन् ।
‘राजनीतिमै हेर्दा पनि खुट्टा तानातान देखिन्छ । शक्ति, दल र पदको लोभले व्यक्तिलाई एकअर्कोप्रति इष्र्या जगाउँछ । यसले फाइदाभन्दा बढी घाटा नै पुर्याइरहेको हुन्छ,’ ढकाल भन्छन्, ‘आज जे कुरामा पनि भ्रष्टाचार भएको देखिन्छ । जुन आवश्यकताभन्दा बढी लोभकै कारणले देख्न सकिन्छ ।’
लोभले निम्त्याउँछ मनोरोग
बुद्धले भनेका छन्, ‘आफूलाई चाहेको कुरा मात्र संग्रह गर्नु, चाहिनेभन्दा बढी कुरामा आशक्ति बढ्यो भने दुःखी बनाउँछ ।’ अनावश्यक र क्षमताभन्दा बढी अरुलाई हानि गरेरै भएपनि कुनै पनि कुरा पाउन खोजेमा त्यसले सधैं असन्तुष्ट गराउँछ ।
‘आवश्यकता भन्दा बढी लोभ गर्नु कमजोर मनस्थितिको उपज हो । आत्मविश्वास कम भएको, कम चेतना भएको, अधैर्यवान व्यक्तिमा आवश्यकता भन्दा बढी लोभको भावना उत्पन्न हुन्छ,’ ढकाल भन्छन् ।
यस्तो भावनाले मानसिक रोग निम्त्याउने उनी बताउँछन् । ‘आवश्यकताभन्दा बढी लोभले व्यक्तिलाई इष्र्यालु बनाउँछ । अरुको प्रगति उसले स्वीकार गर्न सक्दैन र ऊजस्तो हुन पनि सक्दैन । जसकारण बढी रिसाउने, झर्किने बनाउँछ,’ उनी भन्छन् ।
यसले नैराश्यता, एन्जाइटी र डिप्रेसन जस्ता समस्या हुन सक्छ । त्यसैले अत्यधिक होइन लोभ हद चिनेर त्यसैअनुसार अघि बढ्दा फाइदाजनक हुने ढकाल सुझाउँछन् ।
प्रतिक्रिया 4