
२३ वैशाख, काठमाडौं । शनिबार वा बिदाको दिन काठमाडौं महानगरपालिकाभित्र घुम्न कहाँ जाने भन्ने चिन्ता विस्तारै हट्दै गएको छ ।
काठमाडौं महानगरपालिकाले विभिन्न पार्कहरु खोल्न थालेको छ । भाटभटेनी पार्क खोल्नेदेखि नक्साल, रत्नपार्कहरु व्यवस्थित हुँदै गएको छ ।
महानगरका अनुसार काठमाडौँ महानगरपालिका क्षेत्रभित्र ७२ वटा पार्क छन् । यी पार्कहरु महानगरको लगानीमा केन्ऽ र वडाको अगुवाइमा निर्माण भएका हुन् ।
केही पार्क निर्माणका लागि उपभोक्ताहरुलाई सहभागी गराइएको छ । सार्वजनिक निर्माण विभागका प्रमुख रामबहादुर थापाकाअनुसार जम्मा पार्कमध्ये १८ वटा निर्माणाधीन छन् भने बाँकी निर्माण भइसकेका छन् ।
निर्माण सम्पन्न भएका पार्कहरु केही वडालाई हस्तान्तरण गरिसकिएको छ भने केही हस्तान्तरण चरणमा छन् ।
काठमाडौँ महानगरपालिकाले पार्क निर्माण तथा हरियाली प्रवर्धनका लागि ‘हरियाली प्रबर्धन तथा उद्यान विकास परियोजना’ चलाउने अन्तिम तयारी गरेको छ ।

काठमाडौं महानगरपालिकाले गत पुसमा सम्पन्न नगर सभाले यो संरचना स्वीकृत गरी कार्यान्वयनको बाटो खोलेको थियो ।
‘सहरलाई जीवन्त बनाउन दिगो हरियाली आवश्यक छ । यसका लागि रैथाने जातका विरुवा जोगाउँदै सबै महिना हरियो हुने, विभिन्न रङ्गका फूल फुल्ने बिरुवा रोप्ने योजना छ । उद्यानहरुको दिगो व्यवस्थापन गरेर सबै उमेर समूहका व्यक्तिलाई रुचि हुने तथा शारीरिक प्रतिकुल अवस्था भए पनि प्रवेश गर्न सक्ने खालका उद्यान बनाउँदैछौँ । यी उद्यानहरु आराम गर्ने तथा मनोरञ्जनका लागि योग्य हुनेछन् ।’ परियोजनाका प्रमुख नमराज थापाले भने ।
काठमाडौं महानगरपालिका भित्रका पार्कहरुले शहरको सौन्दर्य बढाएको मात्रै नभइ मनोरञ्जन तथा प्रकृति प्रेमीहरुलाई खुल्ने वातावरण सिर्जना गरेको छ ।









प्रतिक्रिया 4