+
+

पाकिस्तान विदेशमन्त्री भारत जाँदा पनि किन दुई पक्षीय वार्ता भएन ?

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २५ गते ११:१४

२५ वैशाख, काठमाडौं ।  १२ वर्षपछि भारतमा पाकिस्तानी उच्चपदस्थ अधिकारीको भ्रमण भएको छ । स्वतन्त्रतापछि तीन पटक युद्ध गरेका यी दुई मुलुकबीच कट्टर दुस्मनीको अवस्था छ ।

यस्तो बेला पाकिस्तानका विदेशमन्त्री बिलवाल भुट्टो जरदारी सांघाई कोर्पोरेसनको सम्मेनलमा सहभागी हुन भारतको गोवा पुगे ।

१२ वर्षअघि हिना रब्बानी खार आफ्ना समकक्षी एसएम कृष्णलाई भेट्न दिल्ली पुगेकी थिइन् । दुई मुलुकबीचको बैमनश्यतालाई अन्त्य गरी आपसी व्यापार प्रवर्द्धनका लागि उनी भारत पुगेकी थिइन् ।

त्यस समयमा अमेरिकासँग पाकिस्तानको सम्बन्ध निकै चिसो थियो । ‘मिल्तीका लागि त्यस बेला गरिएको प्रयास र हालका विदेशमन्त्रीको भ्रमणको कुटनीतिक कथानै बेग्लै छ,’ वासिंटनका वुद्धिजिवी माइकल कग्लम्यान भन्छन् ।

सन् १९४७ यता दुबै मुलुकबीच कश्मिरलाई लिएर ३ पटक युद्ध भएको छ । सन् २०१९ मा भारतले पाकिस्तानको इलाकामा हवाइ हमलानै गरेको थियो । कश्मिरको भारतीय इलाकामा सेनामाथि हमला भएपछि भारतले त्यो कदम चालेको थियो । यो हमलापछि दुई मुलुकबीच झण्डै आणविक हमलानै हुन खोजेको अमेरिकी  पूर्व विदेश सचिव माइक पोम्पियोको स्मरण छ ।

सन् २०२१ मा सीमा सम्बन्धी सम्झौतापछि तनाव अलि साम्य भ एपनि दुई मुलुकबीचको वैमनाश्यता उस्तै छ । भारतले परीक्षण गरेको सुपरसोनिक क्षेप्यास्त्र पाकिस्तानी भूमीमा खसेपछि पाकिस्तानले कडा शब्दमा प्रतिवाद गरेको थियो ।

हेपाह प्रवृत्ति जारी राखे त्यसले  अकल्पनीय परिस्थिति निम्त्याउन सक्ने चेतावनी पाकिस्तानले दिएको थियो । ‘सहज अवस्थामा पनि दुई मुलुकको वैमानश्यता कति बेला बढ्छ भन्ने आकलननै गर्न सकिँदैन । दुबैले एक-अर्काप्रतिको द्वेषलाई राष्ट्रियता संज्ञा दिएका छन्,’ कग्लम्यान भन्छन् ।

गोवा जानेक्रममा जरदारीले आफ्नो भ्रमण पूर्ण रूपमा सांघाई कर्पोरेशनका एजेण्डामा केन्द्रित हुने बताएका थिए । ‘मेरो भ्रमण पूर्ण रूपमा सांघाइ कर्पोरेशनका एजेण्डामा केन्द्रित हुनेछ । मैले त्यहाँ मित्रराष्ट्रका समकक्षीसँग पनि रचनात्मक संवाद गर्नेछु,’ उनले भनेका थिए ।

भारत र पाकिस्तान दुबैले कर्पोरेशनलाई महत्व दिएको छ । यस कर्पोरेशन मध्य एशियालाई आर्थिक र समारिक रूपमा बलियो बनाउनका लागि चीनले स्थापना गरेको थियो । कर्पोरेशनको माध्यमबाट पाकिस्तानले ठूलो व्यापारको आशा राखेको छ ।

पाकिस्तानले बाध्य भएर भारतमा प्रतिनिधि पठाएको कल्गम्यानको बुझाइ छ । ‘भारतीय भूमीमा सम्मेलन हुँदैन सहभागीता नजाउने  हो भने पाकिस्तान कर्पोरेशनबाटै एक्लिने संभावना रहन्थ्यो । त्यसैले पाकिस्तानले बाध्य भएर प्रतिनिधि पठाएको हो,’ उनले भने ।

पाकिस्तानले यस भ्रमणलाई दुइपक्षीय नभएर बहुपक्षीय मुद्दामा केन्द्रित गर्न खोजेको विश्लेषक कग्लम्यान बताउँछन् । ‘जरदारी दिल्लीसँग संवादका लागि त्यहाँ पुगेका होइनन् । क्षेत्रीय सहकार्यका लागि आफ्ना एजेण्डा प्रस्तुत गरेर उनी फर्किने छन्,’ उनले भने ।

विगत दुई वर्षयता दुई मुलुकको सम्बन्ध स्थिर अवस्थामा छ । दुबैपक्ष आपसी सहकार्यका लागि तयार छैनन् । सीमा क्षेत्रमा तनाव कम गर्ने दुई मुलुकको लक्ष्य हो तर त्यसका लागि आपसी संवाद गर्न दुबै पक्ष तयार छैनन् । ‘पाकिस्तान अहिले आन्तरिक लफडा व्यवस्थापनमै फसेको छ । भारतसँगको तनावले थप संकट निम्त्याउन सक्ने भएकाले उ तनाव झेल्ने परिस्थितिमा छैन । यता भारतले अहिले पाकिस्तानबाट भन्दा पनि चीनबाट सुरक्षा खतरा देखेको छ,’ प्राध्यापक ज्याकब भन्छन् ।

दुबै पक्ष तनाव व्यवस्थापनको पक्षमा भए पनि राजनीतिक कारणले आपसी मिल्तीको प्रस्ताव अघि बढाउन सकेका छैनन् । यसको पछाडिको कारण के हो त ?

‘दुबैले आपसी दुश्मनीलाई राष्ट्रवादको नारा बनाएका छन् । मिल्तीको प्रस्ताव दुबै पक्षका सरकारको सत्ताका लागि घातक हुनेछ । नागरिक तहबाट पनि त्यसको कडा प्रतिवाद हुनसक्छ । पाकिस्तानमा त सरकार यसै पनि अलोकप्रिय रहेकाले उसले जोखिम मोल्ने अवस्था छैन । भारतमा पनि राष्ट्रवाद चर्को छ,’ कग्लम्यान भन्छन् ।

भारतमा भाजपाका समर्थकले त जरदारीको पुत्लानै जलाएका थिए । सन् २०२२ मा मोदीविरूद्ध जरदारीको अभिव्यक्तिलाई लिएर भाजपा समर्थकले उनको पुत्ला जलाएका हुन् ।

भारत पाकिस्तानसँग आतंकवाद नियन्त्रणका लागि संवाद गर्न चाहन्छ । पाकिस्तान कश्मिरप्रतिको नीति परिवर्तनका लागि वार्ता गर्न खोज्छ ।  भारत र पाकिस्तान दुबै मुलुकको बढ्दो राजनीतिक ध्रुवीकरणले पनि आपसी सम्बन्धलाई थप संकटतर्फ धकेलेको छ।  आपसी सम्बन्धलाई सुधारका लागि आमने सामने नभएर लुकिछिपी संवाद पनि भइरहेका छन् । यसलाई दुबै पक्षका केहीले रूचाएका छैनन् । ‘दुबै पक्ष द्वन्द्व समाधानमा भन्दा पनि द्वन्द्व व्यवस्थापमा लागेका छन्,’ प्राध्यापक ज्याकोब भन्छन् ।

भारत पुगेका जरदारीलाई सकमक्षी एस जयशंकरले आतंकवादका प्रवक्ता भनेर छेडखानी गरेका छन् । सम्बन्ध सुधारका लागि भित्रभित्रै संयन्त्र परिचालन गरेर दुबै पक्ष आपसी वैमानश्यता कायमै रहेको सन्देश दिइरहेका छन् । १२ वर्षपछि भारतमा पाकिस्तानी उच्चपदस्थ अधिकारीको भ्रमणले पनि वैमनश्यताको स्थिति ज्युँका त्युँ छोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?