+
+

सर्पले टोकेपछि कस्तो लक्षण देखिन्छ ?

कमल देवकोटा कमल देवकोटा
२०८० वैशाख २६ गते १७:५७

गर्मीयाममा सर्पको टोकाइबाट धेरै जना पीडित भएको देखिन्छ । अझ पहाडी क्षेत्रमा भन्दा तराई-मधेशमा सर्पको टोकाइबाट धेरैले समस्या भोगेका छन् ।

सर्प दुई प्रकारका हुन्छन्, विषालु र विषरहित । विषरहित सर्पले टोकेमा शरीरमा कुनै किसिमको हानि हुँदैन । नेपालमा गोमन, करेत र भाइपर प्रजातिका सर्पले धेरैलाई टोक्ने गरेको पाइनछ । त्यसमा पनि करेत सर्पले टोक्ने धेरैको मृत्यु नै हुने गरेको छ । किनकि यो सर्पले रातको समयमा टोक्ने भएकाले उपचार अभावमा मृत्यु हुन्छ ।

पहाडी क्षेत्रमा भाइपरले धेरै टोक्छ । यसले मानिसको मृत्यु नै हुनेभन्दा पनि घाइते भने धेरैलाई बनाएको छ ।

सर्पले टोकेपछि कस्तो लक्षण देखिन्छ ?

गोमन र करेत सर्पले टोक्दा न्युरो टक्सिभेनममा असर गर्ने भएकाले मस्तिष्क र स्नायुमा प्रभाव पार्छ । जसकारण मानिसको मृत्यु हुने जोखिम धेरै हुन्छ । सर्पले टोकेपछि आँखा खोल्न गाह्रो हुने, आँखा लट्टिने, खाना खान वा थुक निल्न गाह्रो हुन्छ । भाइपर सर्पमा हेमोटक्सिन हुन्छ, जसले शरीरमा रगतलाई खराब गर्छ । टोकेको ठाउँ सुन्निने, समयमा उपचार भएन भने घाउ बढ्दै बढ्दै जाने र हातखुट्टा काट्नुपर्ने वा अंगभंग हुने जोखिम बढी हुन्छ । सर्पले कति विष छाडेको छ र उपचार कस्तो खालको भइरहेको छ ? त्यसमा भर पर्छ ।

सर्पले टोकेपछि के गर्ने ? भन्ने विषयमा केही जानकारी अवश्य लिनुपर्छ । यसमा निम्न कुरामा ख्याल गर्नुपर्छ ।

सर्पले कुन भागमा बढी टोक्छ ?

सर्पले प्रायः शरीरको तल्लो भागमा टोकेको देखिन्छ । हात, खुट्टा, कम्मर, ढाड, छाती, घाँटी, टाउको जुनसुकै ठाउँमा सर्पले टोक्न सक्छ ।

टाउको र घाँटीमा टोकेमा विषले चाँडै असर गर्छ, जसकारण मृत्यु हुने जोखिम पनि धेरै हुन्छ ।

प्राथमिक उपचार

गाउँघरमा अहिले पनि सर्पले टोकेमा घरेलु उपचार नै गर्ने चलन देखिन्छ । सर्पले टोक्ने बित्तिकै टोकेको ठाउँभन्दा अलिमाथि कपडाले वा अरु कुनै वस्तुले कसिलो गरी बाँध्ने, सर्पले टोकेको ठाउँमा मुखले चुसेर विष निकाल्ने, धारिलो चीजले काटेर विष मिसिएको रगत फाल्नेजस्ता घरेलु उपचार गरिन्छ । जुन एकदमै गलत हो, यसले फाइदाभन्दा पनि हानि पुर्‍याउँछ ।

सर्पले टोकेमा यसको खास प्राथमिक उपचार नै छैन । टोकेको ठाउँमा लगाउने पीआईबी (प्रेसर इमुलाइजेसन व्यान्डेजिङ) नामको ब्यान्डेज पाइन्छ, जसले घाउलाई छोप्न र नहल्लाउन सहयोग गर्छ । त्यसपछि तुरुन्तै नजिकैको अस्पताल वा स्वास्थ्यचौकीमा पुर्‍याइहाल्नुपर्छ ।

सर्पले टोकेको एक घण्टाको समयावधिलाई सुनौलो समय मानिन्छ । तर त्योे समयभित्र सर्पले टोकेको व्यक्तिलाई अस्पताल पुर्‍याउन नसकेमा भने बचाउन मुश्किल पनि पर्न सक्छ ।

सर्पले टोकेपछि स्वास्थ्य संस्थामा त पुर्‍याइयो तर त्यहाँ यसको उपचार हुन्छ कि हुँदैन भन्ने कुरा सर्वसाधारणलाई थाहा नहुन सक्छ । यस्तो अवस्थामा बिरामीको अवस्था झन् गम्भीर हुन सक्छ ।

कहाँ हुन्छ उपचार ?

नेपालका सबै अस्पताल र स्वास्थ्य केन्द्रमा सर्पदंशको उपचार हुँदैन । मुख्य अस्पताल, केही निजी अस्पतालमा यसको उपचार हुन्छ भने सेनाले पनि ठाउँठाउँमा आफ्नो ब्यारेकमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा ल्याएको छ ।

सर्पले टोकेपछि एन्टिस्नेक भेनम औषधि लगाइदिने गरिन्छ, जुन सरकारी अस्पतालमा निःशुल्क पाइन्छ ।

सर्पको टोकाइबाट कसरी बच्ने ?

सर्पको टोकाइबाट बच्न बाहिर हिंड्दा बाहुला भएको लुगा लगाउने, गाउँघरमा शौचालय प्रायःजसो घरबाहिर हुने भएका कारण टर्चलाइट बालेर जाने, घरवरिपरि मुसाको दुलो छ भने टाल्ने गर्नुपर्छ । यसैगरी भुईंमा नसुती खाटमा सुत्ने, खाटमा झुल लगाएर सुत्ने, घरआँगन सफासुग्घर राख्ने, घरमा लिपपोत गर्दा वा घाँस दाउरा गर्दा बुट वा हातमा पञ्जा लगाएर गर्दा सर्पको टोकाइबाट बच्न सकिन्छ ।

(सर्पदंशविज्ञ देवकोटा नेपाल विष विज्ञान संघ (एनटीए)का कार्यकारी निर्देशक हुन् । उनीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?