+
+

कांग्रेसका शक्तिशाली नेता समातिँदा एमालेमाथि दबाव

खाँण पक्राउको अर्थ कांग्रेसलाई जति छ, एमालेलाई त्यो भन्दा बढ्ता छ । प्रतिपक्षी एमालेका सांसद रायमाझीलाई प्रहरी सम्पर्कमा आउन र ल्याउन समेत आम दबाव बढ्न जाने छ ।

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २७ गते १२:५३

२७ वैशाख, काठमाडौं । भ्रष्टाचार र ठगीका घटनामा राजनीतिक व्यक्तिहरु जोडिएको यो पहिलो घटना होइन, तर बालकृष्ण खाँण समातिनुको अर्थ बढ्ता छ ।

उनी संसदको ठूलो दल नेपाली कांग्रेसका शक्तिशाली नेता हुन्, जसको सिधा प्रभाव पार्टी सभापति शेरबहादुर देउवाको टिमभित्र छ । अझ भनौं, अहिले देउवालाई शक्तिमा पुर्‍याउने र आजपर्यन्त शक्तिशाली राखिराख्ने जुन टिम छ, खाँण त्यसका बलिया खम्बा हुन् ।

कांग्रेसको कुनै पदाधिकारी नरहेर पनि खाँणको सांगठानिक बर्चस्व यति बलियो छ कि, पार्टीभित्र उनलाई आफ्नो समूहबाट भावी सभापतिका बलिया दाबेदार मान्ने गरिन्छ ।

बहालवाला गृहमन्त्री छँदै मंसिरको आम चुनाव हार्न पुगेका उनको समग्र शक्ति भने घटेको देखिँदैनथ्यो । हुन त कांग्रेसका केन्द्रीय सदस्य मात्रै हुन्, खाँण । तर एक कांग्रेस नेताका अनुसार देउवाले पार्टीको संगठनदेखि भ्रातृ संगठनहरुसम्म खाँणलाई जति प्रभावी बन्न दिए, त्यति बलिया त दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई पनि बन्न दिएनन् । न त आफ्नो समूहभित्रका अरु नेतालाई ।

नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने गिरोहभित्र खाँणसमेतको संलग्नताको आधार भेटेपछि प्रहरीले बुधबार निवासबाटै उनलाई समातेको छ । अब चल्ने अनुसन्धानबाट उनीमाथिको अभियोग जुनसुकै तहमा प्रमाणित भए पनि या छानबिनले कुनै अर्को निष्कर्ष दिए पनि उनको सार्वजनिक राजनीतिक जीवनमाथि भने गहिरा प्रश्नहरु उठिराख्नेछन् ।

सरकारले सत्ता गठबन्धनका नेतालाई जोगाउन लागेर प्रतिपक्षी सांसदमाथि मात्रै प्रहार केन्द्रित गरेको भन्ने एमाले अध्यक्ष केपी ओलीको आरोपलाई समेत मत्थर बनाउने गरी सरकार अघि बढेको देख्न सकिन्छ ।

राजनीतिकर्मीहरुको छवि निर्माणमा कानुनी तर्क वितर्कभन्दा बलियो अर्थ आम दृष्टिकोणले राख्ने गर्छ । निवासबाटै सत्तापक्षका शक्तिशाली नेता समातिनुको सामान्य अर्थ बुझ्न सम्भव छ ।

सुरुमा गिरिजाप्रसाद कोइरालासँग निकट रहेर नेविसंघ तथा तरुण दलमा केन्द्रीय अध्यक्ष, तथा ०४८ सालमै सांसद बन्न पाएका खाँणले ०५८ सालको कांग्रेस विभाजनमा भने देउवालाई साथ दिएका थिए । ‘उहाँ गिरिजाबाबु र किसुनजी (कृष्णप्रसाद भट्टराई) दुवैसँग नजिक रहेकै नेता हुनुहुन्थ्यो, देउवाले हात लिनुभयो’, खाँणको राजनीतिलाई नजिकैबाट बुझेका कांग्रेस नेता भन्छन्, ‘कोइराला समूहमा सिनियर नेताहरुको पहाड नै थियो, पार्टी विभाजनपछि छिटो पावरमा पुग्न सकिन्छ भन्ने पनि भयो होला खाँणजीलाई ।’

त्यसपछि भने खाँणले कहिल्यै पनि देउवालाई छाडेनन् । पार्टी एकतापछि प्रकाशमान सिंह लगायत नेताहरुले देउवा क्याम्प छाड्दा कमजोर बन्दै गएको क्याम्प नछाडेरै खाँण बसिरहे । देउवा ०७२ सालमा सभापति निर्वाचित भएसँगै खाँणको शक्ति बढ्न थाल्यो । राजनीतिक करिअरमा उनी शिक्षा राज्यमन्त्री, सिँचाई मन्त्री, गृहमन्त्री, रक्षामन्त्री लगायत विभिन्न जिम्मेवारी पाइराख्ने नेतामा पर्छन् ।

खाँणको राजनीतिक छविमा आँच पुग्दा यसको पहिलो प्रभाव नेपाली कांग्रेसभित्रको आन्तरिक प्रतिस्पर्धा र समीकरणमा पर्ने छ । देउवा समूहभित्र खाँणको समूह र हालका अर्थमन्त्री डा. प्रकाशशरण महतको समूह सुषुप्त द्वन्द्वमा छ । पार्टी महाधिवेशनमा महामन्त्री लडेका महतलाई हराउन खाँण र हालका उपसभापति पूर्णबहादुर खड्का सक्रिय रहेको गाइँगुइँ पार्टीभित्र छ । स्वयं महत पनि यस आशंकामा विश्वास गर्ने गर्छन् ।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने ठगी धन्दामा मुछिएको गम्भीर आरोपको सफाइ सामान्य अवस्थामा निकै कठिन देखिन्छ । हिजो मंगलबार ठूला तीन दलका शीर्ष नेताहरुबीच भएको छलफल खाँणसँगै एमाले सचिव टोपबहादुर रायमाझी लगायत पात्रहरुबारे केन्द्रित भएका सूचनाहरु चुहिएका थिए । यद्यपि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले बैठक अरु नै विषयमा बसेको दाबी अनलाइनखबरसँग गरेको थियो ।

खाँणकी पत्नी तथा कांग्रेस सांसद मञ्जु खाँण पनि यस प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले छानबिन चलाइरहेको छ । सरकारले सत्ता गठबन्धनका नेतालाई जोगाउन लागेर प्रतिपक्षी सांसदमाथि मात्रै प्रहार केन्द्रित गरेको भन्ने एमाले अध्यक्ष केपी ओलीको आरोपलाई समेत मत्थर बनाउने गरी सरकार अघि बढेको देख्न सकिन्छ । हिजो सचिवालय बैठक राखेर पनि एमालेले यही प्रकरणमा पक्राउ पुर्जी जारी गरिएका पार्टी सचिव टोपबहादुर रायमाझीबारे कुनै स्पष्ट निर्णय लिएको थिएन । खाँण पक्राउको अर्थ कांग्रेसलाई जति छ, एमालेलाई त्यो भन्दा बढ्ता छ । प्रतिपक्षी एमालेका सांसद रायमाझीलाई प्रहरी सम्पर्कमा आउन र ल्याउन समेत आम दबाव बढ्न जाने छ ।

साथै, प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्ध लड्ने भनी दाबी गरिएको लडाइँ कति वास्तविकतामा आधारित हो या कति सार्वजनिक खपतका लागि हो भन्ने प्रश्नको निरुपण पनि यसभन्दा अगाडिको अनुसन्धान र कारबाही प्रक्रियाले सावित गर्ने छ ।

सम्भवतः नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा चल्ने अनुसन्धान कति स्वतन्त्र भएर प्रहरीले अघि बढाउन पाउँछ भन्ने प्रश्नको जवाफ नै प्रधानमन्त्री प्रचण्डको कार्यकाल मापन गर्ने महत्वपूर्ण आधार बन्न सक्छ । विगतका कतिपय भ्रष्टाचार र ठगी काण्डमा मुछिएका उच्च तहका व्यक्तिहरुले शक्तिकै छायामा उन्मुक्ति पाएको नजिर जगजाहेर भएकाले पनि यति बेला प्रचण्ड सरकार परीक्षामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?