
काठमाडौं । एलजी सिने सर्कल अवार्डले दुई पाका प्राविधिकलाई दीर्घ साधना सम्मान प्रदान गर्ने भएको छ । शुक्रबार काठमाडौंमा हुने अवार्ड समारोहमा भान्छा व्यवस्थापक जेठा दाइ (कुलबहादुर महत) र मेकअप आर्टिस्ट सन्तु तामाङलाई लाइफटाइम अचिभमेन्ट प्रदान गर्न लागिएको हो ।
अवार्ड संयोजक दिनेश डीसीका अनुसार उनीहरुलाई ५१ हजारसहित पुरस्कार प्रदान गर्न लागिएको हो । जेठा दाइ उपनामबाट चिनिने महतले चार दशकदेखि फिल्मको सुटिङस्थलमा खाजा र खाना खुवाउँदै आएका छन् । तामाङले भने नेपाली फिल्ममा श्रृंगारकर्ताको रुपमा चार दशकभन्दा बढी समय बिताइसकेका छन् ।
‘पर्दा पछाडि काम गर्नेहरुको मेहनतलाई सलाम’ अवार्ड आयोजक डिसीले भनेका छन्, ‘पर्दामा देखिने वस्तु वा व्यक्ति चम्काउन जीवन बिताए पनि योगदान गौण जस्तो देखिने तर महत्वपूर्ण कर्मशील हातलाई सलाम गर्ने उद्देश्यले उहाँहरुलाई सम्मानित गर्न लागिएको हो ।’
समारोहमा २०७७, २०७८ र २०७९ सालमा प्रदर्शन भएका नेपाली फिल्म तथा फिल्मकर्मीलाई पुरस्कृत गरिने भएको छ । कोरोना महामारीका कारण पछिल्लो तीन वर्ष यो अवार्ड समारोह आयोजना हुन सकेको थिएन । समारोहमा प्रमुख अतिथिको रुपमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव र विशिष्ट अतिथिको रुपमा क्याराभान र हनी हन्टर फिल्मका फ्रान्सेली निर्देशक एरिक भ्याली उपस्थित हुने भएका छन् ।
प्रतिक्रिया 4