
२८ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा बिहीबार पनि नेता बालकृष्ण खाँणलाई निलम्बन गर्नुपर्ने विषय उठेको छ ।
तर उक्त विषयमा कुनै निर्णय भएन । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै सहमहामन्त्री जीवन परियारले निलम्बन गर्नुपर्ने कुरा बैठकमा उठेको तर निष्कर्षमा नपुगेको बताए ।
‘केही कुरा उठेको छ । तर कुनै पनि कुरामा निष्कर्षमा पुगेका छैनौं’, उनले पत्रकारहरुले सोधेको प्रश्नको जवाफमा भने ।
सहमहामन्त्री परियारले खाँण अदालतबाट दोषी ठहर नभइसकेकाले पार्टीले आधिकारिक धारणा बनाएर जानु उचित नहुने पनि बताए ।
कतै लुक्ने र भाग्ने नगरी पक्राउ परेर खाँणले प्रहरीको अनुसन्धानलाई सहयोग गरेको नेता परियारले बताए ।
‘उहाँ छानबिनका लागि तयार हुनुभएको छ । हाम्रो पार्टीका नेताले अनुसन्धानका लागि सहयोग गर्नुभएको छ’ परियारले भने, ‘नेकपा एमालेका पदाधिकारी आज पनि फरार हुनुहुन्छ । तर कांग्रेस दोषीलाई उम्काउने प्रयासमा छैन ।’
पदाधिकारी बैठकमा कोशी प्रदेशमा केन्द्रमा रहेको सत्तारुढ गठबन्धन अनुसारको सरकार नभएको बारे गम्भीर छलफल भएको सहमहामन्त्री परियारले बताए । प्रदेश यस विषयमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा , सहमहामन्त्री भीष्मराज आङ्देम्बेलाई छलफलको जिम्मा दिइएको छ ।
त्यस्तै राष्ट्रपति कार्यालयमा रहेको नागरिकता विधेयकका विषयमा पनि छलफल भएको नेता परियारले बताए । यस विषयमा कानुनविद्सँग राय लिने कांग्रेसको भनाइ छ ।
त्यस्तै भ्रातृ संस्थाहरुको केन्द्रीय समितिलाई पूर्णता दिने विषयमा पनि छलफल भएको नेता परियारले बताए ।
प्रतिक्रिया 4