
३० वैशाख, काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले स्थिर सरकार नभएका कारण नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन हुने कुरामा आशंका रहेको बताएका छन् ।
शनिबार काठमाडौंको नक्सालमा नागरिक अगुवाले गरेको भ्रष्टाचार र भ्रष्टाचार ढाकछोपबिरुद्धको प्रदर्शनमा सहभागी हुन पुगेका उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले दरोसँग खुट्टा टेक्नेमा आशंका भएको बताएका हुन् ।
‘अहिलेको निर्वाचन प्रणालीले बहुमत हुन पुग्दैन अस्थिर सरकार, त्यसैले आफ्नो सरकार जोगाउनका लागि कार्यकारी प्रमुखले दरोसँग कदम चाल्न सक्दैन । आशंका छ । राज्यको शासकीय स्वरुप र निर्वाचन प्रणालीमा त्रुटी छ ।’
नेता भट्टराईले जनताले यसैगरी खबरदारी गरिरहे भ्रष्टाचारीहरु उम्कन नसक्ने बताए । ‘आफू अपराधी छैन भने भाग्नु पर्दैन, भागेपछि बेठिक भयो । सडक, सदन र सरकारबाट नै नागरिकले खबरदारी गर्नुपर्छ । हामीले खबरदारी गरिरहे भ्रष्टहरु छुट्दैनन्’ उनले भने ।
प्रदर्शनका क्रममा पूर्वप्रधानमन्त्री डा. भट्टराईप्रति पनि प्रदर्शनकारीले आक्रोश पोखेका थिए । एक प्रदर्शनकारीले भने, ‘भूटानी शरणार्थी भएर बाध्यकारी अवस्था सिर्जना गर्ने भनेको बाबुराम भट्टराई र हिसिला यमीहरु हुन् । यिनीहरुको बिरुद्धमा जनता जाग्नुपर्छ ।’
भूटानी शरणार्थी प्रकरणलाई भित्रभित्रै मिलाउन खोजिएको भन्दै नागरिकहरुले विरोध गर्दै आइरहेका छन् । भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी फरार छन् भने पूर्वगृहमन्त्री बालकृष्ण खाँण हिरासतमा छन् ।
हेर्नुहोस् भिडियो
प्रतिक्रिया 4