
३० वैशाख, गोरखा । लामो समय खडेरी परेपछि बर्षातको कामना गर्दै पालुङटारका बासिन्दाले पूजा गरेका छन् । पालुङटार–४ का बासिन्दाले शनिबार मस्र्याङदी र चेपेको दोभानस्थित शिवजीको मन्दिरमा पुजाआजा र जलधारा गरेका हुन् ।
पानी माग गर्दै बरुण, मेघ, इन्द्र, देवी र शिवजीको पूजापाठ गरिएको पण्डित रोहिणी प्रसाद पौडेलले बताए । ‘खडेरी प¥यो बाली सुक्यो पानी पारिदिनुस् भनेर भगवानसँग प्रार्थना पनि भयो’ उनले भने ।
खडेरीका कारण खेतीबाली लगाउन नपाएको र लगाएको बाली पनि सुक्न थालेपछि चिन्तित किसानहरुको शुक्रबार भेला भएको थियो । भेलाले देवताहरुको पूजा गर्ने निर्णय गरेको स्थानीय श्यामप्रसाद देवकोटाले भने । ‘अघिल्लो दिन सबै घरधुरीले पूजा सामग्री तयार गरे, आज पञ्चेबाजा सहित सबैघरधुरीबाट पूजाका सामग्री लिएर चेपेघाटमा पुजाआजा गर्यौं’, उनले भने ।
देवताको पूजा र जलधारा गर्नाले पानी अभाव भएको इन्द्रलाई थाहा हुने र पानी पारिदिने विश्वास रहेको उनको भनाइ छ । पूजाआजा सकेर फर्केका स्थानीयले बाटोमा पनि जलधारा गर्दै हिँडेका थिए ।
घैयाधान र मकै लगाउने समय भएपनि बर्षा नभएका कारण लगाउन नसकिएको स्थानीय कृष्णप्रसाद भट्टले बताए । ‘पानी नपरेको करिव एक बर्ष भयो, यतिका समय पानी नपर्दा खेत जोतेर घैया, मकै छर्न पाइएन, वस्तुभाउलाई खानेपानी अभाव भयो, गर्मी बढेर समस्या बनाएको छ’, उनले भने ।
प्रतिक्रिया 4