
काठमाडौं । नेपालीभाषी ३१ जना रंगकर्मी नाटकबारेको प्रथम अन्तर्राष्ट्रिय सेमिनारका लागि पर्यटकीय नगरी पोखरामा भेला भएका छन् । नेपाल नाट्य प्रतिष्ठानको आयोजनामा सुरु भएको सम्मेलनका लागि १३ भारतीय संस्थाबाट नाट्यकर्मी नेपालमा भेला भएका हुन् ।
शनिबारदेखि सुरु भएको सेमिनारमा नेपाली नाटकको पछिल्लो अवस्था र चुनौतीबारे कार्यपत्र प्रस्तुत गर्नेदेखि विमर्श गरिएको थियो । नेपालीभाषी नाट्यकर्मीले उक्त अवसरमा अनुभव पनि साटे । नेपालीभाषालाई त्यहाँको सरकारले महत्व नदिएकोदेखि मूलधारमा बग्न नपाएकोसम्मको गुनासा उनीहरुले प्रस्तुत गरे ।
आफूहरुले भाषा संरक्षणमा काम गरिरहेकोदेखि विम्बमार्फत नाटक मञ्चन गरिरहेको उनीहरुको भनाइ थियो । नेपाल नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ पुरुष लम्सालले नेपालमा नाट्य पर्यटनको विकास गर्नुपर्ने बताएका थिए भने पर्यटकलाई पनि नाटक देखाउनुपर्ने बताए ।
परिवर्तन थिएटरकी संस्थापक कविता नेपालले नेपाली नाटक पुरानै ढर्रामा अल्झिएको र काठमाडौंले मोफसलका नाट्यकर्मी नदेखेको भन्दै असन्तुष्टि व्यक्त गरिन् । अभिनेता समेत रहेका कमलमणि नेपालले नेपाल र भारतका नाट्य चुनौती समान रहेकाले काम गर्ने शैलीसहितका कुरामा एकजुट हुनुपर्ने बताए । सेमिनारमा पेश भएका कार्यपत्रलाई परिमार्जनसहित प्रकाशित गर्ने जानकारी उनले दिए ।
सेमिनारमा नेपालीसहित भारतको दार्जिलिङ, सिक्किम, आसामलगायत ठाउँबाट नाट्यकर्मी पोखरा पुगेका छन् ।
प्रतिक्रिया 4