+
+

शरणार्थी प्रकरणको अनुसन्धान ४ दिनभित्र सक्न प्रहरीलाई सरकारी वकिलको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ३१ गते १९:३१
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुलाई म्याद थपका लागि आइतबार जिल्ला अदालत काठमाडौं लगिँदै ।

३१ वैशाख, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौं असूली गरेको गिरोहसम्बन्धी अनुसन्धान सकेर ४ दिनभित्र रायसहितको प्रतिवेदन पेश गर्न सरकारी वकिलको कार्यालय, काठमाडौंले निर्देशन दिएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंलाई अनुसन्धान सकेर प्रतिवेदन बुझाउन भन्दै आरोपीहरुविरुद्ध अन्तिम पटक चार दिन म्याद थप गर्न जिल्ला अदालत, काठमाडौंलाई अनुरोध गरिएको जिल्ला सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले बताए । शनिबारदेखि लागू हुने गरी अन्तिम पटक चार दिनको म्याद थप गर्न प्रस्ताव गरिएको उनले बताए ।

‘संगठित अपराधको मुद्दा ६० दिनभित्र अदालतमा पुर्‍याइसक्नुपर्छ, त्यही अनुसार हामीलाई अध्ययनको लागि पनि समय चाहिने हुँदा चार दिनभित्र अनुसन्धान प्रतिवेदन बुझाउन भनेका हौं’, नेउपानेले अनलाइनखबरसँग भने ।

नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, उनी मन्त्री हुँदा गृहसचिव रहेका टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वउर्जामन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी लगायत पक्राउ परिसकेका छन् ।

प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले १२ चैत २०७९ मा भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै असूली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो । यसको तीन दिनपछि मोरङका सागर राई पनि पक्राउ परेका थिए ।

उनीहरुको बयानका आधारमा प्रकरणमा हाई प्रोफाइल कनेक्सन खुलेको थियो । प्रकरणमा पूर्वउर्जामन्त्री टोपबहादुर रायमाझी, पूर्वसभासद् आङटावा शेर्पा, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक थापा लगायत फरार छन् ।

महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता लोकराज पराजुली ठूलो सञ्जाल र संगठित अपराधको विषयमा सरकारी वकिललाई पनि अध्ययन आवश्यक हुने बताउँछन् ।

उनका अनुसार, सरकारी वकिलले यो बीचमा नै केही प्रमाण छुटेमा समावेश गर्न आदेश दिनुपर्ने हुन्छ । अर्कोतर्फ, आरोपपत्रलाई बलियो बनाउन समेत सरकारी वकिलले प्रहरी प्रतिवेदनको पर्याप्त अध्ययन गर्न समय पाउनुपर्छ ।

‘मुद्दा चल्ने कि नचल्ने भन्ने निर्णयकै लागि पर्याप्त अध्ययन चाहिन्छ’, पराजुली भन्छन्, ‘थप अरु अभियोग समेत आकर्षित हुने अवस्थामा त्यसबारे राय लेख्न र निर्देशन दिन समय लाग्ने भएकाले समयसीमा राखेर फाइल मगाएको हुनसक्छ ।’

महान्यायाधिवक्ता कार्यालयले यो घटनामा कुनै विशेष समिति वा संयन्त्र बनाएको छैन । तर अनुसन्धानको अनुगमन गरिरहेको सरकारी वकिलसँग समन्वय भइरहेको जनाएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा १२ चैतमा प्रहरीले केशव दुलाल, सानु भण्डारीसहितका अभियुक्त पक्राउ गरेको थियो । प्रहरीले संगठित अपराध अन्तर्गत अनुसन्धान गरेकाले यो मुद्दा ६० दिनभित्र अदालतमा पेश गर्नुपर्छ ।

यो प्रकरणमा प्रहरीले अनुसन्धान सुरु गरेको आइतबार ५१ दिन पुगेको छ । ६० दिनभित्र मुद्दा दायर गर्नका पनि पाँच दिनको समय आवश्यक हुने सरकारी वकिलहरुको तर्क छ । त्यसैले ४ दिनभित्र अनुसन्धान सकेर प्रतिवेदन बुझाउन भनिएको सरकारी वकिल कार्यालयको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?