
१ जेठ, काठमाडौं । कमजोर विकास खर्चको सिलसिला चालु आर्थिक वर्ष (आव) २०७९/८० मा समेत निरन्तर दोहोरिएको छ । चालु आवको १० महिनाको अवधिमा विकास खर्च ३३ प्रतिशत मात्र भएको छ ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार वैशाख मसान्तसम्म १ खर्ब २५ अर्ब ६७ करोड ९६ लाख रुपैयाँ पूँजीगत खर्च भएको छ । यो लक्ष्यको ३३.०४ प्रतिशत मात्र हो । यस आवमा सरकारले ३ खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ पूँजीगत बजेट खर्चको लक्ष्य राखेको छ ।
अब बाँकी २ महिनाको अवधिमा सरकारले पूँजीगत खर्च मात्र लक्ष्यको दुई तिहाइ भन्दा बढी खर्च गर्नुपर्ने आकडा छ ।
बजेट खर्च १० खर्ब माथि
यस आवको १० महिनाको अवधिमा कुल बजेट खर्च भने १० खर्ब माथि पुगेको छ । जसमा चालु खर्चको हिस्सा अधिक छ । वैशाखसम्म १० खर्ब ४७ अर्ब ७६ करोड १० लाख रुपैयाँ बराबर बजेट खर्च गरेको छ । यो कुल लक्ष्यको ५८.४१ प्रतिशत हो ।
यस आवमा सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ । जसमध्ये चालु बजेट खर्च ७ खर्ब ८६ अर्ब ७४ करोड रुपैयाँ भएको छ । यो लक्ष्यको ६६.४० प्रतिशत हो । वित्तीय व्यवस्थातर्फ यस आवको १० महिनामा १ खर्ब ३५ अर्ब ३३ करोड रुपैयाँ खर्च भएको छ । यो लक्ष्यको ५८.७९ प्रतिशत हो । यस आवमा वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब रुपैयाँ बजेट विनियोजन भएको छ ।
सरकारले १० महिनामा राजस्व संकलनतर्फ भने मात्र ५३.९ प्रतिशत प्रगति गर्न सकेको छ । वैशाखसम्म ७ खर्ब ५६ अर्ब २५ करोड रुपैयाँ राजस्व संकलन भएको छ । यस आवमा सरकारले १० खर्ब ३ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ । १० महिनासम्म सरकारको सबै प्रकारको आम्दानी भने ७ खर्ब ९७ अर्ब रुपैयाँ रहेको छ । यस अनुसार सरकारको आम्दानी र खर्चको बीचमा २ खर्ब ५० अर्ब रुपैयाँको खाडल रहेको छ ।
प्रतिक्रिया 4