
काठमाडौं । पाका अभिनेता प्रकाश घिमिरेले अहिले चलेका कलाकारले पारिश्रमिक लिनुको सट्टा सेयरमा बसेर जुवा खेलिरहेको बताएका छन् । आगामी जेठ १२ गतेदेखि प्रदर्शन हुन लागेको फिल्म ‘हुक्का : एन अब्जर्ड ड्रिम’ले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा घिमिरेले यस्तो बताएका हुन् ।
‘अहिलेका चलेका कलाकारले पर्सेन्टेजमा बसेर जुवा खेलिरहेका छन् । फिल्मले भोलि कमाउन पनि सक्छ र असफल पनि हुन सक्छ । यो जुवा नै हो ।’ पछिल्लो समय नाम चलेका कलाकारले पारिश्रमिक लिन समेत छाडेर सेयरमा आकर्षित भइरहेको उनको भनाइ छ ।
उनको यो अभिव्यक्ति पछिल्लो समय पारिश्रमिकभन्दा ‘पर्सेन्टेज’ लिने कलाकारहरु दयाहाङ राई, सौगात मल्ललगायतर्फ लक्षित छ । यी कलाकारले पछिल्लो समय सेयरमा बसेर काम गर्दै आएका छन् ।
केही दिनअघि ‘भष्मे डन’को छायांकन सकेका घिमिरे अहिले सोसल-हेल्थ ड्रामा ‘हुक्का : एन अब्जर्ड ड्रिम’को प्रवद्र्धनमा व्यस्त छन् ।
पोखराको टिमले निर्माण गरेको भनेपछि यो फिल्ममा आफूले पारिश्रमिक नमागेको र जति दिन्छन् त्यति लिएको समेत उनले बताए । फिल्ममा आफूले समाजसेवी पात्रको भूमिका निर्वाह गरेको र सामाजिक कथाले दर्शकलाई आकर्षित गर्न सक्ने उनले बताए ।
निर्देशक शम्भु थापाले ठूलाले हुक्का तान्दा त्यसले बाल मस्तिकष्मा पारेको असरको कथा फिल्मले पेश गर्ने बताए । अभिनेता तेज गिरीले सुटिङको हिसाबले यो फिल्म आफ्ना लागि ‘प्रेमगञ्ज’भन्दा पहिलो रहेको बताए । पछिल्लो फिल्म प्रेमगञ्जको कामबाट प्रशंसा बटुलेका बैंकर समेत रहेका गिरीले हुक्कामा आफूले ग्रे सेडसहितको खलपात्रको भूमिका निर्वाह गरेको जनाए ।
डेब्यु अभिनेत्री तलिशा गुरुङले फिल्ममा आफ्नो छोटो तथा विशेष भूमिका रहेको बताइन् । तीनवटा गुरुङ फिल्म र केही सिरियलमा समेत काम गरिसकेकी यी अभिनेत्रीले फिल्ममा धनाढ्य परिवारको बुहारीको भूमिकामा काम गरेकी छन् । शीर्ष पात्रको भूमिकामा अभिनय गरेकी प्रमिला खनाल यतिबेला शिशुलाई जन्म दिएपछि आराम गरिरहेकी छन् । यो फिल्ममा सन्तोषकुमार आत्रेय, अशु न्यौपाने, निश्चल विमल, एलिसा विकलगायत पनि अभिनय छ ।
प्रतिक्रिया 4