
काठमाडौं । काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ) यस वर्ष नहुने भएको छ । किम्फले आधिकारिक वेबसाइटमार्फत सन् २०२३ को संस्करण रोकिएको जानकारी गराएको हो । सन् २०२४ को संस्करण आयोजना भने हुने जनाइएको छ ।
संस्था र फेस्टिभललाई नयाँ ढाँचामा लैजानुपर्ने भएको भन्दै किम्फले यस वर्ष कार्यक्रम नगर्ने निर्णय गरेको हो । ‘अब हिमाल एसोसिएसनले नभएर गैरनाफामूलक संस्थाले फेस्टिभल गर्नेछ,’ किम्फ निकट स्रोतले अनलाइनखबरसँग भन्यो, ‘नयाँ बोर्डले महोत्सव सञ्चालन गर्छ ।’
फेस्टिभल रोकिए पनि कार्यशाला, प्रशिक्षण, डकल्याब स्क्रिनिङजस्ता गतिविधि भने निरन्तर हुने जनाइएको छ । सन् २००० देखि आयोजना हुँदै आएको किम्फ कोरोना महामारीले समेत यसअघि प्रभावित भएको थियो । किम्फ निजी क्षेत्रले आयोजना गरेको नेपालको मात्र नभएर दक्षिण एसियाकै प्रतिष्ठित फिल्म फेस्टिभल हो ।
यो फेस्टिभल अन्तर्राष्ट्रिय पर्वतीय फेस्टिभलहरुको छाता संस्थाको सदस्य समेत हो । फेस्टिभल बर्सेनि डिसेम्बरमा आयोजना हुँदै आइरहेको थियो । सन् २०२४ देखि भने वसन्त ऋतुमा आयोजना गर्ने तयारी छ ।
प्रतिक्रिया 4