+
+

मूर्ति व्यवस्थापन नभएसम्म कीर्तिपुरमा प्रसाद नलैजाने पानेजु संघको अडान

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २ गते १९:०६

२ जेठ, काठमाडौं । प्यंगःथामा स्थापित मूर्तिलाई व्यवस्थापन नगरेसम्म ह्यागृब भैरबनाथ तथा ३२ पानेजु संघ ललितपुरले कीर्तिपुरमा प्रसाद नलैजाने अडान कायमै राखेको छ ।

विवाद मिलाउन ललितपुर महानगरपालिकाले मंगलबार डाकेको सरोकार पक्षको बैठकमा पानेजु संघले यस्तो अडान राखेको हो । पानेजु संघले मूर्ति व्यवस्थापनका लागि कीर्तिपुर नगरपालिकालाई ४ जेठसम्मको समयावधि दिएको छ ।

सुखी गँछेः समाजले गत १५ मंसिरमा प्यंगःथामा स्थापना गरिएका मूर्तिहरु गुठी संस्थानमा नलेगसम्म मच्छिन्द्रनाथको प्रसाद बोकेर कीर्तिपुर नजाने अडान पानेजु संघले राखेपछि झण्डै ८ घण्टासम्म चलेको छलफल विनानिष्कर्ष टुंगिएको छ ।

बैठकमा कीर्तिपुर नगरपालिका र त्यहाँका स्थानीयले मूर्ति स्थापना भएको ठाउँबाट हटाइसकेको र बन्द कोठामा रहेको भन्दै प्रसाद ल्याएर परम्परा कायम राख्नुपर्ने बताएका थिए ।

तर, ३२ पानेजु संघका अध्यक्ष यज्ञरत्न मानन्धरले मूर्ति गुठी संस्थान, पुरातत्व विभाग वा राष्ट्रिय संग्रालयमा राख्न सकिने विकल्प दिएका थिए । तर, कीर्तिपुरले स्थापित भएको ठाउँबाट नगरपालिकाको बन्द कोठामा मूर्ति राखिसकेको भन्दै गूठी संस्थानमा लैजान नसकिने तर्क गरेको थियो । संघका अध्यक्ष मानन्धरले नक्कली मूर्ति हटाउनुपर्ने भन्दै प्रसाद लैजान कीर्तिपुर क्षेत्रबाट नै मूर्ति हट्नुपर्ने अडान राखेका थिए ।

बैठकमा मध्यस्थता गर्दै ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले पानेजु संघले मूर्ति व्यवस्थापन नभएसम्म कीर्तिपुरमा प्रसाद नलैजाने अडान राखेकोले अब कीर्तिपुरले के गर्छ भन्दै कीर्तिपुरका मेयरसँग प्रश्न गरेका थिए । जवाफमा कीर्तिपुरका मेयर राजकुमार नकर्मीले भोलि बुधबार कीर्तिपुरमै भेला राखेर मूर्ति व्यवस्थापनका बारेमा निर्णय लिने बताएका थिए ।

‘धार्मिक महत्व र ऐतिहासिकताको निरन्तरताका लागि पुरातत्व विभागको परिपत्र समेतका आधारमा कीर्तिपुरले प्यंगःथामा स्थापित मूर्तिहरु हटाइसकेको छ । तर, ती मूर्तिहरु ४ जेठ भित्र व्यवस्थापन गरिसक्नु पर्ने सहमति भएको छ’ संयुक्त बैठकको निर्णयमा भनिएको छ ।

ललितपुर

महानगरले १६ सय वर्ष पुरानो मच्छिन्द्रनाथको जात्रामा ललितपुरबाट कीर्तिपुर प्रसाद लैजाने परम्परा कायम गर्न विवाद मिल्नुपर्ने भन्दै कीर्तिपुर नगरपालिकाका जनप्रतिनिधि, कीर्तिपुरका स्थानीय एवम् ३२ पानेजुसंघका प्रतिनिधिसहितको संयुक्त बैठक बोलाएको थियो ।

बैठकले याकःमिसाको धार्मिक महत्वलाई राष्ट्रिय मान्यता कायम गर्न कम्तीमा ५ हजार १ सय १ रुपैयाँको वार्षिक दरबन्दी कायम गर्नेगरी गुठी संस्थानले काम सुरु गर्ने निर्णय पनि भएको छ ।

रातो मच्छिन्द्रनाथको रथ तान्न कीर्तिपुरका लागि छुट्टै थप डोरी व्यवस्थापन नहुने भएको छ । रथ तान्न सरोकारवालाहरु सहभागी हुने र जावलाखेल जात्रा व्यवस्थापन समितिमा कीर्तिपुरबाट प्रतिनिधि समावेश गर्ने निर्णय भने बैठकले गरेको छ ।

प्यंगःथामा सुखी गँछेः समाजले १५ मंसिर २०७९ रातो मच्छिन्द्रनाथको प्रतिमूर्ति र याकःमिसाको मूर्ति स्थापना गरेको थियो । यही विषयलाई लिएर ललितपुर र कीर्तिपुर शहरबीच विवाद हुँदै आएको छ । विवाद चर्किंदै गएपछि कीर्तिपुरका स्थानीयले २४ वैशाखमा प्यंगःथाबाट ती मूर्तिहरु निकालेर नगरपालिकामा लगेर राखेका थिए । तर, पनि विवाद साम्य हुन सकेको छैन ।

प्यंगःथामा स्थापित मूर्ति स्थापना गर्न काठमाडौं महानगरले १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको थियो । प्यंगःथाबाट ती मूर्तिहरु निकालेर नगरपालिकामा राखेको पाइएपछि काठमाडौं महानगरको टोली सोमबार मूर्ति माग्न कीर्तिपुरमा पुगेको थियो । तर, कीर्तिपुरले उक्त मूर्ति दिन अस्विकार गरेपछि काठमाडौंको टोली रित्तै हात फर्किएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?