
सुन्दर आँखीभौं (आइब्रो)ले महिलाको सौन्दर्यमा थप निखार ल्याउँछ । तर सबैको आँखीभौं उस्तै हुँदैन । कसैको पातलो, कसैको छोटो हुन्छ । मिलेको आँखीभौंलाई त केही गर्नैपरेन तर भनेजस्तो नभएको भन्दै कतिपय युवतीले पेन्सिलले कोरेर पनि आइब्रोको सेप मिलाएका हुन्छन् ।
तर आँखीभौं भनेजस्तो भएन भनेर चिन्तित युवतीका लागि आइब्रोसेपर विकल्प बनेर आएको छ । दुवैतर्फको आँखीभौं एकनास नहुने, तलमाथि हुने, पातलो हुने समस्यालाई अहिले आइब्रोसेपरले समाधान दिएको छ ।
के हो आइब्रोसेपर ?
आइब्रोसेपर एउटा उपकरण हो, जसमा विभिन्न आँखीभौंको आकृति राखिएको हुन्छ । त्यसको सहायताले आफूलाई मनपर्ने आकारमा आँखीभौं चिटिक्क बनाउन सकिन्छ ।
आँखीभौं मिलाउन नआउने, पातलो आँखीभौं भएका र स्टाइलिस आँखीभौं बनाउन चाहनेका लागि आइब्रोसेपर निकै लाभदायक सावित भइरहेको छ ।
आइब्रो पातलो भएको खण्डमा त्यसमाथि आइब्रोसेपर लगाएर पेन्सिल, जेल वा पाउडर लगाएर सजिलै आकर्षक आइब्रो बनाउन सकिन्छ । यसमा चाहेको रंगमा पनि प्रयोग गर्न सकिन्छ । यसको प्रयोग गर्न पनि सजिलो छ । यसलाई लगाउन व्यावसायिक ब्युटिसियन पनि आवश्यक पर्दैन । यो अस्थायी प्रकृतिको भएकाले साइड इफेक्ट पनि केही छैन । यो दुलाहा–दुलहीमाझ पनि निकै लोकप्रिय छ ।
आइब्रोसेपरजस्ता अरु विकल्प के छन् ?
आइब्रोसेपर अस्थायी प्रकृतिको हुन्छ । यदि अलि लामै समयसम्म आँखीभौं मिलाउन चाहने हो भने माइक्रो ब्लेडिङ पनि गर्न सकिन्छ । यसमा मेसिनको सहायताले छालाभित्र कपालको रुप दिई केही निश्चित अवधिको लागि आइब्रो तयार पारिन्छ । यो ६ महनिादेखि दुई वर्षसम्म टिक्छ ।
अर्को ट्याटु खोपाएर पनि दीर्घकालीन आइब्रो बनाउन सकिन्छ । यस्तो गर्न झण्डै दुई घण्टा समय लाग्छ ।
आइब्रोसेपरको मूल्य कति ?
अहिले जुम ब्युटी एकेडेमीमा ट्याटु र माइक्रो ब्लेडिङ आँखीभौंको लागि ७ हजार रुपैयाँ लिने गरिएको छ । यसको मूल्य पार्लरपिच्छे फरक-फरक हुन सक्छ ।
कसले प्रयोग नगर्ने ?
आइब्रोसेपरको कुनै साइट इफेक्ट हुँदैन, यो जसले प्रयोग गर्दा पनि हुन्छ । यद्यपि माइक्रो ब्लेडिङ र ट्याटु भने थाइराइड, गर्भवती, हेमोफोलिया, उच्च रक्तचाप, दूध खुवाउने महिलाले नगर्दा नै उचित हुन्छ । यसमा छालासम्बन्धी रोग जाँच गरेर मात्रै गर्न सकिन्छ ।
(चक्रधर ललितपुर कुपण्डोलस्थित जुम ब्युटी एकेडेमीकी सञ्चालक हुन् । उनीसँगको कुराकानीमा आधारित)
प्रतिक्रिया 4