
काठमाडौं । विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलको ७६ औं संस्करण मंगलबारदेखि फ्रान्सको रिभेरिया सहरमा सुरु भएको छ । जोनी डीप स्टारर फिल्म ‘जीन डु बेरी’को प्रिमियरसँगै कान्स सुरु भयो । पूर्वपत्नी एम्बर हर्डसँगको लामो कानुनी लडाइँपछि सार्वजनिक रूपमा नदेखिएका अभिनेता डीपलाई उक्त फिल्मको प्रिमियरमा सात मिनेट लामो ‘स्ट्यान्डिङ ओभेसन’ दिइएको थियो ।
यो सम्मान पाउँदा डीपले खुसीका आँसु खसाले । राजा लुइस चौधौंको भूमिकामा अभिनय गरेका डीपको लागि उपस्थित दर्शकको भीडले लामो समयसम्म ताली बजाएको थियो । उनले बाल्कोनीबाट दर्शकलाई हात हल्लाए र अभिवादन गरे ।
फिल्म निर्देशक तथा स्टार माइवेनले पनि आँसु झारिन् । उनले भनिन्, ‘म यो क्षण मेरो प्रेमीसँग, मेरो निर्मातासँग सेयर गर्न चाहन्छु । यो यस्तो फिल्म थियो, जसमा लगानी गर्न चुनौतीपूर्ण थियो । म हलभित्रका सबै दर्शकसँग यो क्षण सेयर गर्न चाहन्छु ।’
कान्सको रेडकार्पेटमा पुग्दा डीपलाई हजारौं समर्थकले स्वागत गरे । उनीहरुले स्वागतमा कार्डहरु बोकेका थिए भने आफ्ना आइडललाई स्पर्श गर्न होड गरिरहेका थिए । डीप रेडकार्पेटमा हिंड्नुअघि पाँच मिनेट बाहिर फ्यानको लाइन उभिएको थियो । यो फिल्ममा मावेनले १८ औं शताब्दीमा फ्रान्सकी एक श्रमिक महिला जिन भरबेनियारको भूमिका निर्वाह गरेकी छन् ।
माइकल डगलसले मानार्थ पाल्मे डी’ओर सम्मान प्राप्त गरे, ७८ वर्षीय वृद्धले आफू फेस्टिभलभन्दा दुई वर्ष पाको भएको भन्दै ठट्टा गरे । सम्मान ग्रहण गर्ने क्रममा उनी पत्नी क्याथरिन जेटा जोन्स र छोरीसँग उपस्थित थिए । ‘यो मेरो लागि धेरै महत्वपूर्ण छ किनभने संसारभर सयौं फेस्टिभल छन् तर एक मात्र कान्स छ,’ उनले भने ।
फेस्टिभल सुरु हुनुअघिको रेडकार्पेटमा जुरी र सम्बन्धित फिल्मका टिमबाहेक अन्य हलिउड, बलिउड र चिनियाँ स्टारहरुले फेसनको जादू छरे । फेस्टिभलको पहिलो दिन जुरीले हलिउडका पटकथा लेखकको हड्तालमा समर्थन गर्दै धारणा राखे । जुरीको निर्णायक प्रमुख रुबेन ओस्टलन्डले आफूले हलिउडको हड्ताललाई समर्थन गर्ने बताए । बलिउड अभिनेत्रीहरु सारा अली खान, मानुषी छिल्लर, इशा गुप्ता लगायतले पनि कान्स रेडकार्पेटमा सौन्दर्य प्रस्तुत गरे । कान्सको यो संस्करण आगामी मे २७ सम्म चल्नेछ ।
तस्वीरहरु

प्रतिक्रिया 4