
३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अबका दिनमा हुने जुनसुकै निर्वाचन कांग्रेस एक्लै लड्नुपर्ने बताएका छन् ।
अहिलेको निर्वाचन पद्धतिले विकृति बढाएको भन्दै कोइरालाले यसलाई परिवर्तन गरेर समानुपातिक प्रणालीलाई हटाउनुपर्ने धारणा राखे ।
बुधबार प्रजातान्त्रिक बिचार समाजको २५ औं साधारण सभालाई काठमाडौंमा सम्बोधन गर्दै नेता कोइरालाले पछिल्ला दिनहरुमा राजनीतिक दल र नेताहरुप्रति सर्वसाधारणको धारणा नकारात्मक रहेकाले नेताहरु सुध्रिनुपर्ने बताएका छन् ।
कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरण लज्जास्पद र राष्ट्रघाती काम भएको बताए । कुनै बहानामा कसैले पनि गलत काम गरेको भए कारबाही हुनुपर्ने कोइरालाको भनाइ छ ।
‘हाम्रै साथीहरु नक्कली भुटानी शरणार्थीको मुद्दामा फस्नुभएको छ, फसाइएको छ, त्यसले नेपाली कांग्रेसको मात्रै होइन, नेपालीकै शिर निहुरिएको छ, यति लज्जास्पद र राष्ट्रघाती काम भएको छ देशमा, यसलाई कुनै ढाकछोप गर्नुहुँदैन, यसलाई हामीले ढाकछोप गर्ने कोशिस गरेमा नेपाली कांग्रेसको अवस्था के हुन्छ म भन्न सक्दिन’ उनले भने ।
नेता कोइरालाले यो मुद्दा कमजोर बनाउने हो कि भन्ने चिन्ता पनि रहेको बताए । ‘यो मुद्दालाई कमजोर बनाउने चिन्ता हामी सबैलाई लागेको छ । देशको नागरिकलाई अनागरिक बनाई मानव बेचबिखन गरेर विदेश पठाइदिने भनेको त यो भन्दा लज्जास्पद कुरा के हुनसक्छ’ उनले भने ।
प्रतिक्रिया 4