८ कात्तिक, काठमाडौं । ‘समानुपातिकको सूची सार्वजनिक नहुन्जेल त पार्टीभित्र ठिकै थियो तर बन्दसूची आएपछि हाम्रो पार्टीमा भाँडभैलो शुरु भएको छ ।’ एकजना एमाओवादीका केन्द्रीय सदस्यले अनलाइनखबरसँग भने- ‘जनतामा त हाम्रो माहौल ठीकै छ, तर पार्टीभित्रै एकता भएन, कोही टिकट नपाएर रिसाए, कोही पार्टी कमिटीमा भनेजस्तो ठाउँ भएन भनेर रिसाए ।’
प्रत्यक्षतर्फका उम्मेद्वार समेत रहेका ती नेताका अनुसार हरेक कुरामा पद माग्ने र सो नपाए घुर्की लगाउने संस्कार कार्यकर्ताहरुमा बढ्दै जान थालेको । समानुपातिकका लागि धेरैजनाको नाम केन्द्रमा संकलन गरिएपछि त्यसमा नपर्नेहरु रुष्ट बनेको र यसबाट आगामी चुनावमा मनोवैज्ञानिक असर पर्न सक्ने ती नेताले चिन्ता व्यक्त गरे । समानुपातिकमा टिकट नपाएर रिसाउनेहरु एमाओवादीमा मात्रै नभभएर कांग्रेस, एमाले लगायतका अन्य दलमा पनि प्रशस्तै छन् । जुन निर्वाचन क्षेत्रबाट समानुपातिकमा कार्यकर्ताको नाम राखिएको छैन, त्यहाँका कार्यकर्तामा चुनावी उत्साह कम हुने र टिकट नपाउने कार्यकर्ताले भोट माग्न हिँड्नसमेत अल्छी गर्ने गरेका छन् । यसबारे उमाओवादी नेता भन्छन्- ‘कार्यकर्ताको संस्कृति विगि्रएछ, केही पाए काम गर्ने नपाए नगर्ने ।’
त्यसो त देश दौडाहामा निस्कनुभएका एमाओवादी अध्यक्ष प्रचण्डले पार्टीको आन्तरिक एकतामा निकै जोड दिनुभएको छ । जसरी पनि चुनाव जित्नुपर्छ भन्दै यतिबेला आएर पार्टीभित्र असन्तुष्टि राख्न र चित्त बुझेन भन्दै बस्न नहुने प्रचण्डले कार्यकर्तालाई निर्देशनसमेत दिनुभएको छ । उहाँले कसलाई उम्मेद्वार बनाइयो र कसलाई बनाइएन भनेर यो बेलामा गुनासा नगरी युद्धकालमा जस्तै कमान्डरको निर्देशनका आधारमा अगाडि बढेजस्तै बढ्न र जसरी पनि जीत हासिल गर्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
एमातिर प्रचण्डले यसरी निर्देशन दिइरहनुभएको छ भने अर्कातिर कार्यकर्ताहरु टिकट नपाएको झोंकमा रुष्ट देखिने र निराश हुने क्रम पनि रोकिएको छैन । विशेषगरी समानुपातिक उम्मेद्वारको बन्दसूची सार्वजनिक हुने अघिल्लो साँझ विवादास्पद छविका ल्हारक्याल लामालाई पार्टी प्रवेश गराएको केही घण्टामै समानुपातिक तर्फको उम्मेद्वार बनाइएकोमा कार्यकर्ताहरु रुष्ट बनेको स्रोत बताउँछ ।
समानुपातिक प्रणाली र भ्रम
राजनीतिक दलभित्र समानुपातिकको ३ सय ३५ सदस्यीय सूचीमा पर्नु नै सभासद बनिहाल्नु होइन । समानुपातिकको सूचीमा नाम समावेश हुँदैमा रहमाइरहेका मध्ये धेरैले चुनावपछि सभासद बन्न पाउँदैनन् । यतवर्ष ३ सय ३५ मध्ये एमाओवादीबाट १ सय जनामात्रै समानुपातिक सभासद बनेका थिए भने २ सय ३२ जना बाहिरिएका थिए । कांग्रेस र एमालेबाट झण्डै २ सय ४० का संख्यामा समानुपातिकबाट बाहिरिएका थिए ।
पैसाको चलखेल गर्ने साधन
पिछडिएको समुदायको समेत समानुपातिक प्रतिनिधित्व होस् भनेर अपनाइएको समानुपातिक निर्वाचन प्रणाली नेपालमा विकृत बन्दे जान थालेको छ । समानुपातिक सभासद बन्न पैसाको समेत ठूलो चलखेल हुन थालेको छ । पैसा दिने मान्छेलाई समानुपातिकको बन्द सूचीमा राखेर चन्दा झार्ने मनोवैज्ञानिक हतियारको रुपमा नेताहरुले समानुपातिक प्रणालीलाई लिन थालेका छन् ।
कमल थापा, सूर्यबहादुर थापा, चित्रबहादुर केसीलगायतका नेताहरु समानुपातिकमा बसेर प्रत्यक्ष चुनाव नलड्ने संस्कार विकसित भएको छ । प्रत्यक्षतर्फ एक सीट जित्न नसक्ने माले नेता सीपी मैनालीका लागि श्रीभात् श्रीमती नै दोहोर्याएर सभासद बन्ने र भत्ता खाने भर्याङ बन्न पुगेको छ समानुपातिक निर्वाचन प्रणाली । लोकतन्त्रमा विकृतिको थलो बनेको यस्तो चुनावी प्रणाली भविश्यमा मुलुकमा जरुरी छ कि छैन भन्ने बारेमा गम्भीर बहस गर्नुपर्ने भएको छ ।
प्रतिक्रिया 4