
काठमाडौं । कोपिला किताबले पाँच बालपुस्तक एकैसाथ सार्वजनिक गरेको छ । ‘टेल्स एण्ड लाइज’ शृङ्खलाअन्तर्गत विभिन्न लेखकले लेखेका बालपुस्तक बेखामान र राक्षस, साङ्केनको खुल्दुली, अन्नको बखान, कपासको घोडा र जन्तरमन्तर बुधबार नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा आयोजित समारोहमा विमोचन गरियो ।
ती पुस्तकको ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, थाङ फाउन्डेसनकी अध्यक्ष मार्लिन फिसर भरबुक, कथावाचक समाजका अध्यक्ष प्रा. डा. ध्रुवकुमार घिमिरे, नेपाल बाल साहित्य समाजका अध्यक्ष प्रमोद प्रधान, कार्टुनिस्ट क्लबका अध्यक्ष वासु क्षितिज र ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केलीले लोकार्पण गरे ।
लोकार्पणपछि ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति हार्तम्छालीले कोपिला किताबले ल्याएका पुस्तकले नेपाली बालसाहित्यको आयाममा नयाँपन थपेको बताए । शब्द र चित्रका माध्यमबाट प्रदान गरिएको ज्ञान बालबालिकाका लागि बहुउपयोगी हुने र त्यो अवसर कोपिला किताबले दिएको उनदे बताए ।
कथावाचक समाजका अध्यक्ष प्रा. डा. घिमिरेले कोपिला किताबले ल्याएका यी पुस्तकले बालबालिकालाई किंवदन्तीदेखि नवीन विषयवस्तुको ज्ञान दिने बताए । चित्रका माध्यमबाट प्रष्ट गरिएको विषयलाई शब्दको गाम्भीर्यले थप प्रभावकारी बनाएको उनको भनाइ छ ।
कार्यक्रममा कार्टुनिस्ट क्लबका अध्यक्ष क्षितिजले बालसाहित्यको क्षेत्रमा कोपिला किताबले छोटो समयमा प्रभावकारी काम गरेको बताए । अक्षर मात्र भएको पुस्तक सबैलाई मन नपर्न सक्छ, तर चित्रसहितको पुस्तकले सबैलाई आकर्षित गर्ने उनले बताए ।
नेपाल बाल साहित्य समाजका अध्यक्ष प्रमोद प्रधानले बालबालिकालाई पुस्तकको पंक्तिले तान्न सके उनीहरु पुस्तक पढ्न आकर्षित हुने बताए । कोपिला किताबले प्रकाशन गरेका यी पुस्तक मनोरञ्जनात्मकसँगै ज्ञानमूलक पनि रहेको उनले बताए ।
कार्यक्रममा थाङ फाउन्डेसनकी अध्यक्ष मार्लिन फिसर भरबुकले बालसाहित्यका विषयमा आफ्ना धारणा राखिन् । कोपिला किताबले प्रकाशन गरेका बाल पुस्तक अन्तर्राष्ट्रिय स्तरका रहेको उनको भनाइ थियो ।
‘बेखामान र राक्षस’ पुस्तक विक्रमभक्त जोशीले लेखेका हुन् । यसमा चित्रकार शोभितमान बनियाले चित्रांकन गरेका छन् । यस्तै ‘जन्तरमन्तर’की लेखक बिन्दु शर्मा हुन् भने त्यसमा चित्रकार एलिना छन्तेलको चित्रांकन छ । यसैगरी ‘कपासको घोडा’ बालपुस्तक इन्द्र चौधरीले लेखेका हुन् । यसमा चित्रकार प्रकाश रञ्जितको चित्रांकन छ ।
अर्को बालपुस्तक ‘अन्नको बखान’को लेखन भने जितेन्द्र बस्नेतले गरेका हुन् । यसमा चित्रकार सुमन महर्जनले चित्रांकन गरेका छन् । अर्को बालपुस्तक ‘साङ्केनको खुलदुली’की लेखक सिर्जना राई हुन् । यस पुस्तकमा चित्रकार सुरज राईले चित्रांकन गरेका छन् । सबै पुस्तकलाई बाल कथाकार अनुराधाले सम्पादन गरेकी हुन् ।
बालबालिकाको मनोविज्ञानलाई चित्र र सरल भाषामार्फत बुझाइएको पुस्तक ल्याउनुपर्छ भन्ने मनसायले आफ्नो प्रकाशन गृहले यी बालपुस्तक ल्याएको कोपिला किताबका अध्यक्ष भानु भट्टराईले बताए ।
प्रतिक्रिया 4