
काठमाडौं । महँगीको यो समयमा एक महिलाले साढे ४ सय रुपैयाँ भन्दा पनि कम मूल्यमा ३ वटा घर खरीद गरेर सबैलाई तिनछक बनाइदिएकी छिन् ।
यो घटना इटालीको सिसिलीमा भएको हो । अमेरिकाको क्यालिफोर्नियाकी बासिन्दा ४९ वर्षीया रुबिया डेनियलले सिसिलीमा सायद संसारकै सबैभन्दा सस्तो घर खरीद सम्झौता गरेर कीर्तिमान कायम गरेकी छिन् । रुसिबयाले जम्मा ३ डलर ३० सेन्टमा पूरै ३ वटा घर खरीद गरेकी छिन् । यस्तो अपत्यारिलो तरिकाले किनेका तीनवटै घरका सम्बन्धमा उनले ठूलो योजना बुनेकी छिन् ।
उनले आफूले खरीद गरेका ३ घरमध्ये एउटामा आफैं बस्ने र अरु २ वटालाई हितकारी काममा प्रयोग गर्ने योजना बनाएकी छिन् ।
त्यसमध्ये एउटा घरलाई उनले आर्ट ग्यालरीमा परिणत गर्नेछिन् भने अर्को घरलाई चाहिँ स्थानीय मानिसहरुका लागि एक आरोग्य केन्द्रका रुपमा स्थापित गर्नेछिन् । त्यसमध्ये आरोग्य केन्द्र निर्माण उनको सबैभन्दा ठूलो परियोजना हो ।
घर खरीद गरेसँगै उनले यसको काम सुरु गरिसकेकी छिन् । दुईवटा घरको बाहिरी हिस्सामा उनले पूर्णरुपमा काम गरिसकेकी छिन् । तथापि आरोग्य केन्द्र बनाउने घरको काम भने सुरु हुन बाँकी छ ।
सिसिलीको एउटा सानो सहर मुसोमेलीमा खरीद गरेका घरमा बसोबास गर्नका लागि उनी आइसकेकी छिन् । मुसोमेली सहरको जनसंख्या केवल १० हजार मात्रै छ ।
स्मरण रहोस् इटालीका विभिन्न सहरमा नगन्य मूल्यमा घरहरु बिक्रीमा राखिएका छन् । कोरोना महामारी भन्दा अगाडिदेखि नै इटाली घट्दो जनसंख्याको गम्भीर समस्यासँग जुधिरहेको थियो र खाली भैरहेका सहरहरुमा सित्तैजस्तो मूल्यमा घरहरु बिक्रीमा राखिएका छन् । सन् २०१९ मा सिसिली सहरलाई पुुनर्जीवित गर्न भन्दै १ डलरमा एउटा घर खरीद गर्न सकिने योजना नै अघि सारिएको थियो ।
हुनत रुबियाले ३ वटा घर ३ डलर ३० सेन्टमा किनेकी छिन् । तर वास्तवमा यी टुटेफुटेका घरको मर्मत चाहिँ निकै महंगो पर्नेछ । यी घरको मर्मतका लागि २४ हजारदेखि ९० हजार डलरसम्म खर्च लाग्नसक्ने बताइएको छ ।
– एजेन्सी
प्रतिक्रिया 4