
५ जेठ, काठमाडौं । एकातिर ‘सम्पूर्ण रुपमा’ रवि लामिछाने निर्भर रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको छवि, अर्कातिर ‘एउटा व्यक्तिले चमत्कार नगर्ने’ स्वर्णिम वाग्लेको अडान । एकातिर लामिछानेका राष्ट्रवादी तर्कहरु, अर्कातिर वाग्लेका उदार लोकतान्त्रिक भाष्य । एकातिर मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) को विपक्षमा रहेका लामिछाने, अर्कातिर यसका मुखर पक्षधर वाग्ले । यस्ता थुप्रै विरोधाभास सहित अहिले उनीहरु एउटै पार्टीको छातामुनि छन् ।
कान्छो दल रास्वपाका कान्छा सदस्य हुन् अर्थशास्त्री डा. स्वर्णिम वाग्ले । पोहोर असारमा रास्वपा खुल्दा स्वर्णिम कांग्रेसलाई बलियो बनाउने अभियानमा सामेल थिए । मंसिरको आम चुनावमा उनी कांग्रेसलाई नै जिताउने अभियानसहित आम चुनावको घोषणापत्र लेख्दै थिए । कांग्रेसमा टिकट नपाएसँगै बिच्किएका उनी अर्को कुनै ठूलो निर्णय लिने योजनामा भने थिएनन् । यसै क्रममा आइपुग्यो वैशाखे उपचुनाव । तनहुँ १ मा कांग्रेसबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति चुनिएसँगै स्वर्णिम र मतदाता दुवैका लागि नयाँ अनुभव गर्ने ‘स्वर्णिम अवसर’ आयो ।
तनहुँ १ मा उपचुनावको अवसर आएसँगै उनले रास्वपामार्फत उम्मेदवारी दिए । आफ्नो नागरिकता प्रमाणपत्र तथा राहदानी प्रकरणमा आम प्रश्नहरुबाट घेरिएका लामिछानेलाई पार्टीको पक्षमा जनमत जुटाउन स्वर्णिम प्रवेशले थप बल पुग्यो ।
कतिपयका लागि वाग्ले अद्वितीय अर्थ–राजनीतिक प्रतिभा हुन्, जसले रास्वपाको वैचारिक भाष्य निर्धारण गर्न निर्णायक भूमिका खेल्छन् । स्वयं रास्वपा पंक्तिका लागि भने स्वर्णिम हाललाई २१ सांसदमध्ये एक । वैशाख तेस्रो साता बसेको रास्वपा बैठकले उनलाई अर्थ विभाग प्रमुख बनाउने बाहेक कुनै ठोस जिम्मा दिएन । उनी संसदको अर्थ समितिका सदस्य पनि बनेका छन् ।
स्वर्णिम रास्वपामा सहअध्यक्ष, वरिष्ठ उपाध्यक्ष, वरिष्ठ नेता वा यस्तै केही महत्वपूर्ण पदमा लगिने सम्भावना आकलन गरिएको थियो । उनका लागि पद नै सिर्जना गर्ने विषयमा समेत छलफल भएर पनि त्यसले ठोस आकार भने लिन सकेन । तर उनले पार्टीको नीति, विचार बुझ्न र त्यसलाई सम्पूर्ण रुपमा अंगीकार गर्न बाँकी नै रहेको भन्दै नेताहरुले केही समय पर्खनुपर्ने मनसाय देखाएका छन् । यसमा स्वयं वाग्लेको चाहनाले पनि काम गरेको छ । उनी भन्छन्, ‘पार्टीभित्र भूमिका खोजेर म प्रवेश गरेकै होइन । मंसिरमा हुने अधिवेशनले टुंगो लगाउँछ ।’ स्वर्णिम निकटका व्यक्तिहरुका अनुसार उनका लागि हाल दुई बाटो स्पष्ट छन् ।
एक– वाग्लेको बढ्ता काम संसदतिर हुनेछ ।
दुई– मंसिरमा हुने महाधिवेशन मार्फत उनी महत्वपूर्ण पदमा चुनिन सक्छन् ।
उसो त हिजोआज मन्त्रिपरिषद् विस्तार र रास्वपा प्रवेशको चर्चा नै सामसुम छ । सरकारलाई दिएको समर्थन फिर्ता लिनु अघिसम्म रास्वपा कथं पुष्पकमल दाहाल प्रचण्ड सरकारमा सामेल हुन इच्छुक देखिन्थ्यो । त्यसका लागि आफूले गृह मन्त्रालय पुनःप्राप्ति गर्न पाउनुपर्ने उसको जोड थियो । तर स्वर्णिमले जान चाहेकामध्ये अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालय दुवै अहिले खाली गर्ने पक्षमा देखिएनन्, कांग्रेस र माओवादी केन्द्रका नेताहरु ।
त्यसै क्रममा वैशाख २२ गते बसेको केन्द्रीय समिति र संसदीय दलका संयुक्त बैठकमा सरकारमा जान नहुने तर्क बलियो बन्न पुग्यो । उक्त बैठकमा सहभागी एक नेताका अनुसार सरकारमा जान नहुने सबैभन्दा जोडदार आवाज स्वर्णिमले नै उठाएका थिए । उनी भन्छन्, ‘सरकारमा जान नहुने तर्क उहाँले राखेपछि सबै जना कन्भिन्स भए ।’
स्वर्णिमले पार्टी प्रवेशसँगै पाउन सक्ने सम्भावित बढोत्तरीप्रति सभापति लामिछानेको ठिकठिकैको अभिरुचिले काम गरेको छ । लामिछाने र वाग्ले स्वभावगत रुपमा भिन्न रहेको, उनीहरु दुवैको वैचारिक झुकाव नै अलग–अलग रहेको हुँदा पार्टीले छिट्टै त्यसको प्रभाव र असर दुवै भोग्ने कतिपयले आकलन पनि गर्छन् ।
सुरुमा प्रचण्डले माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई परराष्ट्र मन्त्रालय पठाएर लामिछानेका लागि गृह छाड्न सकिने संकेत दिएका थिए । तर यसबीचमा नेपालीलाई भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा जोडिएका उच्च तहका राजनीतिक पात्रमाथि गृहमन्त्री श्रेष्ठ आक्रामक रुपमा प्रस्तुत भएपछि यो प्रसंग नै सेलाएको छ । ‘रविजी तयार भएमा परराष्ट्र मन्त्रालयको सम्भावना हुन सक्छ, कांग्रेसलाई मनाउन त्यति कठिन पनि हुँदैन’, प्रधानमन्त्री निकट स्रोतले भन्यो ।
रास्वपाले भने यसबारेमा कुनै धारणा बनाएको छैन । रविले गृह नपाए आवास भौतिक योजना या सामान्य प्रशासन जस्ता मन्त्रालयमा रास्वपाको रुचि हुनसक्ने केही समयअघि बताए पनि जारी शरणार्थी प्रकरणमाथि छानबिन निष्कर्षमा पुग्नलाग्दा यसतर्फ कुनै छलफल हुन पाएको छैन । ‘यो सरकारमा हामी जाने सम्भावना निकै कम छ, तर परिस्थिति अनुकूल बन्यो भने पनि स्वर्णिमजी पहिलो चरणमा नपर्न सक्नुहुन्छ’ रास्वपाका एक उच्च नेताले भने, ‘फेरि छिट्टै पालो आइहाल्छ नि, केही समय पार्टीभित्र काम देखाउनुहोस् न ।’
स्वर्णिम स्वयंले पनि पार्टीका काममा तत्काललाई धेरै चासो नदेखाएको रास्वपा स्रोत बताउँछ । रास्वपाको नीति, कार्यक्रममा स्वर्णिमको प्रवेशले महत्वपूर्ण टेवा पुग्ने विश्वास एकथरी नेता गर्छन् । अर्काथरी नेताहरु पार्टीको नीति, कार्यक्रम यसअघि नै तय भइसकेको भन्दै स्वर्णिमले त्यसैलाई बोकेर आफ्नो राजनीति अगाडि बढाउनुपर्ने मत राख्छन् ।
अघिल्लो असारमा निर्वाचन आयोगमा दर्ता भएको रास्वपाले आफ्नो मूल मुद्दा सुशासनलाई बनाएको छ । दस्तावेजहरू पढ्दा आन्दोलनबाट व्यवस्था फेरियो, तर अवस्था फेरिएन भन्ने मूल तर्क दिएर रास्वपाको जन्म भएको देखिन्छ ।
रास्वपाले आफ्नो मार्ग निर्देशक सिद्धान्त संवैधानिक समाजवाद (समाजवाद उन्मुख संविधानवाद) लाई बनाएको छ । तर एउटा राजनीतिक दलको दर्शन संवैधानिक समाजवाद हुनै नसक्ने कतिपयको टिप्पणी छ । केही दिनअघि नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले विचारधाराको कहिल्यै अन्त्य नहुने उल्लेख गर्दै नयाँ पदावली खोज्न रास्वपालाई सुझाएका थिए ।
‘समाज/राज्य/राजनीति रहुन्जेल विचारधाराको अन्त्य हुँदैन । विचार यी सबैको मार्गदर्शक यन्त्र हो । अतः वैकल्पिक राजनीति गर्नेहरूले विचारको अवमूल्यन नगरौं’ भट्टराई सामाजिक सञ्जालमा लेख्छन्— ‘विचारभन्दा माथि देशको के भयो सम्झौं । त्यस्तै संवैधानिक समाजवाद भन्ने पनि हुँदैन । सही अग्रगामी विचार र पदावली खोजौं ।’
तर, संवैधानिक समाजवाद विचारविहीन नहुने रास्वपा सांसद शिशिर खनाल बताउँछन् । ‘संविधानको अधीनमा रहेर लोकतान्त्रिक समाजवाद मान्छौं भनेका हौं । संविधानले बोकेको मर्म अनुसार समाजवादी धारमा हिंड्ने कुरा कसरी अमूर्त हुन्छ ?’ खनाल प्रश्न गर्छन् ।
रास्वपाको सैद्धान्तिक, वैचारिक तथा वर्गीय आधारका विषयमा प्रश्न उठिरहँदा उसको पार्टी निर्माण प्रक्रियाको बारेमा समेत उत्तर खोजिएको छ । ‘अन्य पार्टीहरू जस्तै रास्वपा पनि प्रश्नहरूको घेरामा छ’ राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले प्रश्न गर्छन्, ‘गणतन्त्र, लोकतन्त्र, संविधान, संघीयता, समावेशीकरणप्रतिको उसको दृष्टिकोण के हो ?’
उनी भन्छन्, ‘रास्वपाको पार्टी संचालन प्रणाली के हुन्छ ? आन्तरिक लोकतन्त्र कस्तो हुन्छ ?’ हुन पनि रास्वपाका विषयमा बेला–बेला उठिरहने प्रश्न आन्तरिक लोकतन्त्र रहँदै आएको छ । कतिपय निर्णय प्रक्रियामा सभापति नै ‘अन्तिम सत्य’ का रूपमा अघि बढेको देखिने गरेको छ । निर्णय प्रक्रियामा सभापतिले आफूखुुसी गर्दै आएको भन्ने भनाइमा सत्यता नभएको नेता शिशिर खनाल दाबी गर्छन् ।
रास्वपा माथि लाग्ने अर्को आरोप हो– यसका सभापति रवि लामिछाने चमत्कारमा विश्वास गर्छन् । लोकतान्त्रिक प्रक्रियामा चमत्कार र ‘हिरोइज्म’ स्वीकार्य नहुने विश्लेषक गेजा शर्मा वाग्ले बताउँछन् । ‘लोकतान्त्रिक प्रणाली भनेको न चमत्कार हो, न हिरोइज्म । यो त प्रणाली, प्रक्रिया र जवाफदेही हो’, उनी भन्छन् ।
पार्टी निर्माण भएको केही महिनासम्म पनि मुलुकको विद्वत् वर्ग, नीति निर्माण तहमा रहेकाहरूमा एक प्रकारको आशंका रविप्रति थियो । उनको नेतृत्वमा भएको पार्टीले लिने बाटो र यसको भविष्यलाई लिएर अनेक प्रश्न थिए । नागरिकता र पासपोर्ट प्रकरणले उनको राजनीतिक उचाइ घट्दो क्रममा रहेको विश्लेषण हुँदै आएको थियो । त्यसमाथि सामाजिक आन्दोलनबाट उठेको विवेकशील दलले आफ्नो प्रभाव छोड्न नसकिरहेका बेला नयाँ दल पनि उस्तै हुन् भन्ने संशय नागरिकमा थियो ।
तर, उपनिर्वाचनको मुखमा अर्थविद् स्वर्णिम रास्वपामा प्रवेश गरे । स्वर्णिमको प्रवेशलाई कतिपयले रास्वपाको रेट्रोफिटिङका रूपमा विश्लेषण गर्ने गरेका छन् । छोटो समयमा उदाएको दलले आफूलाई उचाइमा अड्याएर राख्न सकेन भने उसको ओरालो यात्रा तीव्र गतिमा हुनु स्वाभाविक हुन्छ । समाजमा रास्वपा ओरालो लाग्ने डरका बीच यो पार्टीमा स्वर्णिमको प्रवेश भएको छ । यसले रास्वपामा उत्साह थपिएको छ । ‘प्रश्न सोधिरहेको वर्गमा हामीप्रतिको विश्वास बढेको छ’ रास्वपा सांसद खनाल भन्छन्, ‘विश्वास बढेको उपचुनावमा व्यक्त मतबाट नै देखियो नि !’
स्वर्णिमको प्रवेशले रास्वपाको चरित्र कस्तो हुन्छ भन्ने प्रश्नमा केही हदसम्म जवाफ दिएको छ । यो लोकतान्त्रिक धार बाहिर जान नसक्ने स्वर्णिमको प्रवेशले पुष्टि गरेको रास्वपाका नेताहरू बताउँछन् । किनकि स्वर्णिमले आफू कम्युनिस्ट दलमा प्रवेश नगर्ने त्यसअघि नै सार्वजनिक गरेका थिए । ‘उहाँ जस्तो विद्वत्, उच्च पदस्थ तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान बनाएको व्यक्ति आउँदा रास्वपामा स्वाभाविक ऊर्जा थपिन्छ’, खनाल भन्छन् ।
स्वर्णिमको बहिर्गमनले कांग्रेसमा निराशा थपिंदा रास्वपामा उत्साह छ । यसले कांग्रेसबाट निष्ठावान् नेता, कार्यकर्ता बाहिरिने भय छ । उपनिर्वाचन लगत्तै बसेको कांग्रेसका शीर्ष नेताको बैठकमा नेता, कार्यकर्ता पार्टीमा रोक्न अभियान नै सुरु गर्नुपर्ने विषय समेत उठेको थियो ।
त्यसैले होला रास्वपालाई कतिपयले ‘भाइ कांग्रेस’को संज्ञा दिन्छन् । कांग्रेसको विचारधाराबाट निर्देशित व्यक्तिहरू एकपछि अर्को गर्दै यो पार्टीमा प्रवेश गर्दा साँच्चिकै यो ‘भाइ कांग्रेस’ बन्न सक्ने सम्भावना पनि छ । स्वर्णिम निर्वाचित भइसकेपछि त्यहाँ प्रवेश गर्न इच्छा व्यक्त गर्नेहरूको संख्या उल्लेख्य रहेको स्वर्णिम निकटका व्यक्तिहरू दाबी गर्छन् ।
रास्वपाको विधान अनुसार दुई उपाध्यक्षको व्यवस्था छ । उपाध्यक्षमा हाल डोलप्रसाद अर्याल छन् । थप एक जनाको पद रिक्त छ । स्वर्णिमलाई रास्वपामा भित्र्याउन पहल गर्नेमध्ये एक व्यक्तिका अनुसार पदीय भूमिकामा छलफल नै नगरी उनी पार्टीमा प्रवेश गरेका हुन् । त्यतिखेर उपचुनाव लड्नेबाहेक विस्तारमा कुनै कुरै नभएको उनले बताए ।
प्रतिक्रिया 4