+

एचपीभी खोपले पाठेघरको मुखको क्यान्सर हुनबाट बचाउँछ ?

२०८० जेठ  ८ गते ८:३० २०८० जेठ ८ गते ८:३०
एचपीभी खोपले पाठेघरको मुखको क्यान्सर हुनबाट बचाउँछ ?

काठमाडौं । पाठेघरको मुखमा भएका कोषहरूको असामान्य ढंगले वृद्धि हुनु नै पाठेघरको मुखको क्यान्सर हुनु हो । नेपालमा देखिने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर पहिलो नम्बरमा पर्छ । विश्व स्वास्थ्य संगठनले स्वीकृतिप्राप्त संस्था गोल्बोक्यानको अनुसार नेपालमा प्रत्येक दिन करिब ६ जना महिलाको पाठेघरको मुखको क्यान्सरको कारण मृत्यु हुन्छ ।

नेपालमा पाठेघरको मुखको क्यान्सरको बारेमा सचेतनाको कमीले गर्दा महिलाहरू क्यान्सरको अन्तिम अवस्थामा मात्र अस्पताल पुग्छन्, जसले यसको कारण मृत्यु हुनेको संख्या बढी भएको वरिष्ठ क्यान्सररोग विशेषज्ञ डा. अरुण शाही बताउँछन् ।

पाठेघरको मुखको क्यान्सर हुँदा के कस्ता लक्षण देखा पर्छन् ? यसबाट बच्न के गर्ने ? लगायत विषयमा डा. शाहीसँग गरिएको कुराकानीको सम्पादित अंश :

पाठेघरको मुखको क्यान्सर के कारणले हुन्छ ?

पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमनपापिलोमा भाइरस संक्रमण हो । यो इन्फेक्सन हुने भनेको कलिलो उमेरमा विवाह गर्ने, कलिलो उमेरमै बच्चा जन्माउने, धेरै बच्चा पाउने, छोटो अन्तरालमा लगातार बच्चा पाउने र धेरै जनासँग यौन सम्बन्ध बनाउने, धेरै धूम्रपान तथा मद्यपान गर्ने र यौनाङ्गको सरसफाइमा ध्यान नदिने कारण हुन्छ ।

पाठेघरको मुखको क्यान्सर हुँदा कस्ता लक्षण देखा पर्छन् ?

सेतो पानी बग्ने, योनी वरपर सानो घाउ खटिरा देखा पर्ने सामान्य उपचारपछि पनि निको नहुने, यौन सम्पर्कपछि रगत बग्ने, प्रजनन् अंगमा दुखाइ महसुस हुने पाठेघरको मुखको क्यान्सरका मुख्य लक्षणहरू हुन् ।

यसको जोखिमबाट कसरी बच्न सकिन्छ ?

यो रोगबाट बच्न नौदेखि १५ वर्षका किशोरकिशोरीलाई एचपीभी खोप दिन सकिन्छ । यौन सम्बन्ध राखिसकेका महिलाले कुनै समस्या नदेखिए पनि नियमित रूपमा सर्भाइकल क्यान्सरको स्क्रीनिङ गर्ने जाँच जस्तै, प्याप स्मेयर, एलबीसी तथा एचपीभी, डीएनए टेस्ट गर्नुपर्छ । क्यान्सर भइसकेपछि समयमै पहिचान भयो भने पनि यसको जोखिमबाट बच्न सकिन्छ ।

यसको उपचार के छ ?

पाठेघरको मुखको क्यान्सरका चारवटा चरण हुन्छन् । पाठेघरको क्यान्सर मात्र त्यस्तो क्यान्सर हो, जसको पहिचान ‘चौथो ए’ चरणमा भए पनि उपचार सम्भव हुन्छ । त्यसैले  विश्व स्वास्थ्य सङ्गठनले २०३० सालभित्र पाठेघरको मुखको क्यान्सरलाई संसारबाट नै निर्मूल पार्ने लक्ष्य लिएको छ ।

पहिलो चरणमा यो रोग पाठेघरको मुखमै सीमित हुन्छ । यो रोग नजिकैका अरू अंगतिर क्रमशः फैलिंदै जान्छ र सोही रूपमा यस रोगको चरण पनि बढ्दै जान्छ ।

यो रोगको धेरैजसो चरणमा रेडियोथेरापीले काम गर्छ । यस रोगको पहिलो र दोस्रो चरणको पनि सुरुमा पाठेघरको क्यान्सरसम्बन्धी जटिल शल्यक्रिया गरेर यसको उपचार गर्न सकिन्छ । पाठेघरको मुखको क्यान्सर फैलिसकेको अवस्थामा शल्यक्रिया गरेर मात्र पुग्दैन । यसको उपचारको लागि किमोरेडियोथेरापी पनि चाहिन्छ ।

पाठेघरको मुखको क्यान्सरको जोखिमबाट बचाउने एचपीभी खोप भनेको के हो ?

पाठेघरको मुखको क्यान्सर गराउने ह्युमनपापिलोमा भाइरसको विरुद्धमा दिइने खोप नै एचपीभी खोप हो । ९९ प्रतिशत पाठेघरको मुखको क्यान्सर  गराउने कारण ह्युमनपापिलोमा भाइरस हो । त्यसैले यस विरुद्धको खोप लगाइयो भने ९९ प्रतिशत नै यसको जोखिमबाट बच्न सकिन्छ ।

कुन उमेर समूहले यो खोप लगाउन सक्छन् ?

यो एचपीभी खोप नौदेखी २६ वर्षभित्र लगाउनु उपयुक्त हुन्छ । तर यो खोप धेरै उत्पादन नभएकाले यसको बारेमा जनचेतना पनि कम भएकाले अहिले नौदेखि १५ वर्षको उमेरभित्रका बालिकालाई प्राथमिकता दिने भन्ने कुरामा सरकारले जोड दिएको छ । तर यौन व्यवसायमा संलग्न व्यक्ति, यौन व्यवसायमा नै संलग्न तेस्रो लिङ्गीहरूमा यो क्यान्सरको जोखिम अझ बढी हुन्छ । त्यसैले त्यस्ता व्यक्तिले भने ४० वर्षको उमेरसम्म पनि यो खोप लगाउन सक्छन् ।

खोपले पाठेघरको क्यान्सरबाट कसरी बचाउँछ ?

पाठेघरको मुखको क्यान्सर हुने मुख्य कारण ह्युमनपापिलोमा भाइरस हो । बजारमा उपलब्ध सिकोलिन, सर्भरिक्स, गार्डशिल र गार्डशिल-९ जति पनि खोप छन्, सबैले त्यो भाइरसलाई फैलिनबाट रोक्ने हो ।

खोप कहाँ लगाउने ? कति मूल्य पर्छ ?

नेपाल सरकारले यो खोप सबैलाई निःशुल्क उपलब्ध गराउनुपर्ने हो । तर निःशुल्क उपलब्ध गराउन नसकेको अवस्थामा निजी अस्पतालमा पनि शुल्क तिरेर यो खोप लगाउन सकिन्छ । एउटा डोज सर्भरिक्स खोपको तीनदेखि चार हजार रुपैयाँ पर्छ, सिकोलिनको चार हजार ५०० रुपैयाँ पर्छ । गार्डशिलको ६ देखि आठ हजार रुपैयाँ पर्छ भने गार्डशिल-९ को १२ देखि १५ हजार रुपैयाँसम्म पर्छ ।

तस्वीर, भिडियो : आर्यन धिमाल/अनलाइनखबर

एचपीभी खोप क्यान्सर पाठेघर
डा. अरुण शाही
लेखक
डा. अरुण शाही
क्यान्सररोग विशेषज्ञ

डा. शाही हाल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पतालमा कार्यरत छन् । उनले एमबीबीएस, एमडी मेडिकल अन्कोलोजी (बंगलादेश) र महामारी विज्ञानमा एमपीएच गरेका छन् । साथै भारतको दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालबाट मेडिकल अन्कोलोकीको तालिम लिएका छन् । उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर  १०९५३ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?