
७ जेठ, काठमाडौं। नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले संक्रमणकालीन न्यायको विषय टुंगो लगाउन एमालेको सहयोग रहने बताएका छन् ।
आइतबार १४औं राष्ट्रिय बेपत्ता योद्धा स्मृति दिवसको अवसरमा आयोजित अन्तरक्रियामा उनले सरकारसँग अरु विषयमा असहमति भए पनि संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउन सहयोग रहने बताएका हुन् ।
सरकारले संक्रमणकालीन न्यायसम्बन्धी ऐन प्रतिनिधिसभामा दर्ता गरेको छ र हाल संसदको विषयगत समितिमा छलफलको क्रममा छ। उपमहासचिव ज्ञवालीले विधेयकलाई टुंग्याउँदा दलहरुबीच पर्याप्त छलफल र पीडितलाई न्याय हुनुपर्ने बताए ।
‘…धेरै कुरामा हाम्रा असहमतिहरु होलान्, तर संक्रमणकालीन न्याय टुंग्याउने कुरामा पूर्ण समर्थन रहनेछ । यो विधेयक टुंग्याउँदा दलहरुको बीचको परामर्शलाई पर्याप्त बनाउनुहोस् तर सबैभन्दा ठूलो कुरा यहाँ अघि बसेका पीडितहरुको न्याय हुनुपर्छ । उहाँहरुको परामर्शमा ल्याएर मात्रै न्याय दिने गरी ल्याइयोस्’ उनले भने ।
उपमहासचिव ज्ञवालीले बेपत्ता पारिएका व्यक्तिको सत्य परिवारले थाहा पाउनुपर्ने, यसको जिम्मेवार को हो र राहत परिपूरणको व्यवस्था गर्ने कुरालाई प्राथमिकतामा राख्नुपर्ने पनि बताए।
प्रतिक्रिया 4