
९ जेठ, काठमाडौं। नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसी प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थीबारे आफूसँग भएको सूचना प्रहरीलाई दिनुपर्ने बताएका छन् ।
मंगलबार सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणका सम्बन्धमा सुरुदेखिको जानकारी रहेको सार्वजनिक रुपमा बताएर पनि त्यसबारे एमाले अध्यक्ष ओलीले प्रहरीलाई किन जानकारी नगराएको हो भन्ने विषयमा थाहा पाउन नसकेको बताए ।
‘उहाँ (केपी ओली) लाई सम्मानसाथ मेरो आग्रह छ-नक्कली भुटानी शरणार्थीको सन्दर्भमा हरेक दोषीहरु सुरुदेखि थाहा छ भन्ने जुन बाहिर र संसदमा पनि केही अभिव्यक्ति गर्नुभएको छ । कृपया उहाँले खबर गरेर तिनीहरुमाथि कारबाही गर्न किन हिचकिच हो मलाई थाहा छैन’ सांसद केसीले भनेका छन् ।
गत आइतबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रमबारेको छलफलमा सहभागी हुँदै एमाले अध्यक्ष ओलीले नक्कली शरणार्थी प्रकरणमा ९७५ जनासँग पैसा उठाइएको बताएका थिए ।
दोषी उम्काउने र निर्दोष फसाउने प्रयास भइरहेको भन्दै भविष्यमा यो प्रकरण अझ भयावह रूपमा प्रकट हुने चेतावनी दिएका थिए ।
गृहमन्त्री र परराष्ट्र मन्त्री रहँदा भुटानी शरणार्थीको विषयमा अन्तर्राष्ट्रिय समुदायसँग छलफल गरेका ओलीले तत्कालीन समयमा भुटानसँगका कैयौँ चरणका औपचारिक र अनौपचारिक वार्ताहरु विफल भएपछि संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाँदा आफूले अमेरिकासँग शरणार्थीको पुनर्वासको कुरा उठाएको बताएका थिए ।
एमाले अध्यक्ष ओलीले आफूलाई सुरुदेखिको जानकारी रहेको बताएको उल्लेख गर्दै प्रमुख सत्तारुढ घटक नेपाली कांग्रेस सांसद केसीले आफूसँग भएको सूचना प्रहरीलाई दिन सुझाएका हुन्।
प्रतिक्रिया 4