
१० जेठ, काठमाडौं । एनएससी-काभा वुमन्स भलिबल च्यालेन्ज कप २०२३ मा नेपालले समूहको तेस्रो खेलमा आज बलियो टोली भारतको सामना गर्दैछ ।
समूह ए बाट यसअघि सेमिफाइनल पुगिसकेको यी दुई टोलीबीच समूह विजेता बन्नका लागि प्रतिस्पर्धा हुनेछ ।
समूह चरणमा नेपाल र भारत दुवैले कीर्गिस्तान र बंगलादेशलाई सोझो सेटमा हराएर अन्तिम चारमा स्थान बनाइसकेको छ ।
नेपालले महिला भलिबलमा अहिलेसम्म भारतलाई पराजित गर्न सकेको छैन ।
सन् २०१९ मा काठमाडौंमै भएको १३औं सागको फाइनलमा नेपाल भारत विरुद्ध जित नजिक पुगेर पनि चुकेको थियो ।
नेपालले भारतलाई दुई सेटमा हराए पनि निर्णायक सेटमा चुक्दा भारतसँग ३-२ को सेटमा पराजित भएको थियो ।
त्यसैले यस पटक घरेलु कोर्टमा नेपाल सामु भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै बदला लिने अवसर समेत छ ।
साग फाइनलमा नेपालले पहिलो सेट २५-१७ ले गुमाए पनि उत्कृष्ट पुनरागमन गर्दै दोस्रो र तेस्रो सेट क्रमश: २५-२३ र २५-२१ ले जितेर खेलमा पकड बनाएको थियो । २-१ ले अग्रता बनाएको अवस्थामा चौथो सेटमा पनि नेपालले उत्कृष्ट प्रदर्शन गरेको थियो । तर आफ्नै गल्तीले गर्दा नेपाल चौथो सेटमा २५-२० ले पछि पर्दा खेल निर्णाय सेटमा पुगेको थियो । त्यसमा भारत १५-६ को स्कोर निकाल्दै खेल जित्न सफल भयो ।
यसअघि मध्य एसियाका बी क्याटेगोरीका टिम सम्मिलित महिला सेन्ट्रल जोनमा अपराजित रहँदै दुवै पटक च्याम्पियन बनेको नेपाल घरेलु कोर्टमा उपाधि जित्दै ह्याट्रिक गर्ने लक्ष्यमा छ ।
तर करिब तीन महिनाको आन्तरिक प्रशिक्षण मात्र गरेको नेपाल अन्तर्राष्ट्रिय खेलको अनुभव नलिइ नै काभा च्यालेन्ज कप खेलिरहेको छ । त्यसैले नेपालको असली परीक्षण भारतसँग हुनेछ र उपाधि रक्षाका लागि ठूला टिमको चुनौती पन्छाउनुपर्ने छ ।
नेपालले अन्तर्राष्ट्रिय खेल खेल्नका लागि लामो समय कुर्नुपरेकोले पनि टिम र खेलाडीको स्तर छ भन्ने थाहा छैन ।
नेपालले पछिल्लो पटक सन् २०२१ मा बंगलादेशमा भएको एसियन वुमन्स सेन्ट्रल जोन च्यालेन्ज कप खेलेको थियो । जहाँ नेपालले श्रीलंका र उज्वेकिस्तान जस्तो टिमसँग खेलेको थियो र उज्वेकिस्तानलाई फाइनलमा पराजित गर्दै उपाधि रक्षा गरेको थियो ।
त्यसपछि नेपालले खेलेको यही काभा वुमन्स च्यालेन्ज कप हो । यस पटक नेपाली टोलीलाई अनुभवी बेल्जियन प्रशिक्षक यान डी ब्रान्डले प्रशिक्षण दिएका थिए ।
उनले भारतविरुद्ध विगतको प्रदर्शनले अर्थ नराख्ने बताइसकेका छन् । भारतसँग फरक रणनीतिका साथ मैदान उत्रने उनले योजना बनाएका छन् । कप्तान अरुणा शाहीले पनि भारतलाई पराजित गर्दै इतिहास रच्ने बताएकी छन् ।
भारतलाई पराजित गर्न सके नेपालले उपाधि रक्षामा बलियो चुनौती पेस गर्नेछ ।
यसअघि समूहको दुई खेल तुलनात्मक रुपमा कमजोर टिम हुँदा नेपालले सहजै जित निकालेको थियो । जहाँ नेपालले ६ नयाँ खेलाडीलाई राष्ट्रिय टिममा डेब्यु गराउँदै सबैलाई अवसर दिएको थियो । नेपालको टिम अझै राम्रोसँग सेट भइसकेको छैन । भारतसँग खेल्दा नेपालले अघिल्ला दुई खेलमा गरेको गल्तीलाई नदोहोर्याउने कप्तान शाहीले बताएकी छन् ।
यस्तै विगतका वर्षमा विपक्षीका लागि चुनौती बन्दै आएकी नेपालकी मुख्य स्पाइकर यस पटक चोटका कारण टिममा छैनन् । जुन नेपालका लागि घाटा बन्न सक्छ भने विपक्षीका लागि फाइदा हुन सक्छ ।
चोटका कारण प्रतियोगिता गुमाएकी प्रतिभा माली अहिले कभर्डहलमा दर्शक दीर्घामा बसेर नेपाली टिमलाई समर्थन गरिरहेकी छन् ।
नेपाल र भारतबीचको खेल दिउँसो ३ बजे त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सुरु हुनेछ । दुई खेल हार्दै समूह चरणबाट बाहिरिसकेका कीर्गिस्तान र बंगलादेशबीच बिहान १० बजे खेल हुनेछ ।
यस्तै समूह बी बाट सेमिफाइनल पुगिसकेका काजखस्तान र उज्वेकिस्तानबीच पनि समूह विजेता बनन्का लागि प्रतिस्पर्धा हुनेछ । यस समूहबाट बाहिरिसकेका श्रीलंका र माल्दिभ्सबीचको खेल साँझ साढे ५ बजे सुरु हुनेछ ।
सेमिफाइनलमा समूह ए को विजेताले समूह बी को उपविजेता तथा समूह बी को विजेताले समूह ए को उपविजेतासँग खेल्नेछ ।
फाइनल खेल जेठ १४ गते हुनेछ ।
प्रतिक्रिया 4