
काठमाडौं । आगामी जेठ २६ मा फिल्म ‘वेलकम टु हेम्जाकोट’ प्रदर्शन तयारीमा छ । केही दिनअघि रिलिज भएको ट्रेलरबाट फिल्मले सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ । कतिपयले ‘छक्कापञ्जा’कै शैली अपनाएर दर्शक तान्न खोजेको आरोप पनि लगाएका छन् । जे होस्, फिल्मले चर्चा बटुलेको छ । यो चर्चाबीच डेब्यु निर्देशक सरोज पौडेलले अनलाइनखबरसँग संक्षिप्त संवाद गरेका छन् ।
फिल्म प्रदर्शनको संघारमा छ, कस्तो लाग्दैछ ?
अलिकति नर्भस, केही आशा र अपेक्षाले उत्साहित छु । भन्नैपर्छ, सानो टिम बनाएर काम सुरु गर्दा फिल्म निर्माण गर्नु कति कठिन छ भन्ने कुरा बुझ्न पाएँ । फिल्म बनाउन गाह्रो छ भन्ने सुनेको मात्र थिएँ । सुन्नु र बुझ्नु फरक कुरा हो । सुनेको थिएँ, तर बुझेको थिइँन । आफै अनुभव यतिबेला मात्रै गर्न सकेँ । जिन्दगी सिकाई हो भन्छन् । म पनि निर्देशन यात्रा थाल्दै, सिक्दै, बुझ्दै र नयाँ अनुभव संगाल्दै अघि बढेको हुँ । विभिन्न कठिन परिस्थितिको बाबजुद फिल्म छायांकन भयो, सम्पादन भयो । त्यसपछि हामीले पोस्टर र गीत सार्वजनिक गरेका छौं । यो फिल्म कमालको बनेको छ भन्दिँन । तर, दर्शकले केही न केही मनोरन्जन चाहिँ लिनुहुनेछ ।
फिल्म बनाउँदा मेकरले कुन पक्षमा ध्यान दिनुपर्छ ?
सोझो भाषामा भन्दा फिल्म भनेको भिडियोमार्फत भनिने कथा हो । हामीले कथा भन्दा विभिन्न शैली अपनाउन सक्छौं, जुन शैली नै दर्शकका लागि चाखलाग्दो प्रस्तुतिकरण हो । कथा सबैको राम्रो हुन्छ, प्रस्तुतिकरण कस्तो छ भन्ने कुरा मुख्य बिषय हो । जव कुनैपनि मेकरले प्रस्तुतिकरणलाई ध्यानमा दिएर काम गर्छ, नयाँ शैली अपनाउँछ भने दर्शक त्यसमा इन्जोय गर्छन् ।
निर्देशनमा कसरी आउनुभयो ?
भारतको बैंगलोरमा रहेको बैंगलोर फिल्म एकेडेमीबाट ३ बर्षे निर्देशन कोर्स पढेर आएको हुँ । निर्देशनसँगै सानैबाट कथा लेखनमा रुचि राख्थेँ । म आफैले ‘वेलकम टु हेम्जाकोट’को स्क्रिप्ट लेखेको हुँ । सानैबाट फिल्म उद्योगमा आउने रुचि थियो, जब निर्देशन विधा पढ्न भारत गएँ, त्यसपछि अब यही क्षेत्रमा करिअर बनाउनुपर्छ भनेर अघि बढेको छु ।
फिल्म करिअरलाई कसरी अघि बढाउने विचार छ ?
नेपाली फिल्म उद्योगका लागि राम्रो गर्ने सपना छ । त्यसो गर्न सके म आफैका लागि पनि राम्रो हुँदै जानेछ । हुनसक्छ पहिलो चलचित्रमा कतिपय कमजोरी देखिएलान्, कतिपय छोपिएलान् । सिकाई अनन्तकालसम्म भइराख्ने कुरा हो । यो फिल्म निर्माण भइसकेपछि अहिले धेरै कुराको सिकाई प्राप्त भएको छ । पक्कै पनि भविष्यमा केही न केही राम्रा कामहरु दर्शकलाई पक्कै दिनेछु ।
नेपाली फिल्म क्षेत्रमा करिअर बनाउन कठिन छ भन्छन् नि, के भन्नुहुन्छ ?
संघर्ष बिना त के हुन्छ र ? फिल्म क्षेत्र भनेकै संघर्ष हो । हरेक काममा उत्तिकै मिहेनत गर्दा मात्रै सफल भइने उद्योग हो यो । मैले त त्यस्तो निराश र यात्राविहिन देख्दिनँ यो उद्योग । हामी सबै मिलेर उद्योगलाई व्यवसायिक बनाउन लाग्यौं भने सबैका लागि राम्रो हुनेछ ।
डेब्यु फिल्मबाटै अवार्ड जित्नुभयो । कत्तिको दबाब महसुस गर्नुभएको छ ?
हाम्रो फिल्मले केही समयअघि काठमाडौंमा सम्पन्न चौंथो नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा उत्कृष्ट नेपाली फिल्मको अवार्ड जितेको थियो, त्यहाँ उपस्थित अतिथिले उत्कृष्ट प्रतिक्रिया पनि दिनुभयो । यसले मलाई झन् चुनौति थपेको महुसस भएको छ । खुसीसँगै ठूलो चुनौति थपिएको महसुस गरेको छु ।
अबको यात्राबारे बताउनूस न ।
यो फिल्म रिलिज नहुँदै अथवा प्रदर्शन भएको केही दिनमै नयाँ प्रोजेक्ट घोषणा गर्ने तयारीमा छौं । हामीले नयाँ फिल्मको कथा लेखनको काम सकाइसकेका छौं । यो फिल्म ठूलो बजेटको त होइन तर, सानो खर्चमा पनि उत्कृष्ट फिल्म निर्माण भएको छ ।
प्रतिक्रिया 4