
१२ जेठ, काठमाडौं। नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले प्रतिष्ठानकै पूर्वपदाधिकारीहरूबाट निरन्तर आक्षेप आइरहेको बताएका छन् ।
प्रज्ञा प्रतिष्ठानको नेतृत्वले कार्यभार सम्हालेको सय दिनमा भएका काम र आगामी योजनाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कुलपति राईले नयाँ पदाधिकारीहरुलाई पूर्वपदाधिकारीहरुबाट हरेक कामको विरोध गर्ने र विभिन्न आक्षेप लगाउने काम भईरहेको आरोप लगाए।
आफूले व्यक्तिगत रूपमा पुरानो कार्यसमितिका कसैलाई पनि नचिनेकोले कुनै आग्रह वा पूर्वाग्रह नभएको र नयाँ पदाधिकारीहरुले पूर्वपदाधिकारीहरुलाई आक्षेप लगाउने गरी नलेखेको, नबोलेको तर पूर्वपदाधिकारीहरुले भने हरेक कामको विरोध गर्ने, विभिन्न आक्षेप लगाउने भइरहेको उनले बताए ।
राईले भने ‘हामी त्यही संस्थाका अविच्छिन्न उत्तराधिकारी हौं। पुरानो समितिको कामको जिम्मेवारी लिन्छौँ। केही परम्परागत तरिकालाई परिमार्जन गरेर नयाँ तरिकाले काम गरिरहेकोले पुरानो कार्यसमितिबाट निरन्तर आक्षेप आइरहेको छ।’
प्रज्ञा प्रतिष्ठानले सबै भाषा, संस्कृति र साहित्यको उत्थानमा समान ढंगले काम गरिरहेको उनले जिकिर गरे।
लोकवार्ता र बालसाहित्यका अलग विभाग
प्रज्ञा प्रतिष्ठानले ‘लोकवार्ता तथा बालसाहित्य’ विभाग अमिल्दो भएको बालसाहित्यलाई अर्को विषय क्षेत्रमा नमिसाइ स्वतन्त्र रुपमा बालसाहित्य विभाग बनाउने निर्णय गरेको जनाएको छ ।
पत्रकार सम्मेलनमा प्रतिष्ठानले बालसाहित्यको मात्रै छुट्टै विभाग कायम गरी बालसाहित्यको विकासमा जोड दिने प्रतिष्ठानका उपकुलपति विमल निभाले जानकारी दिए ।
उनले भने ‘बालसाहित्य भनेको जग हो । लोकसंवादसँग जोड्दा उचित हुँदैन भनेर छुट्टै विभाग बनाउने निर्णय गरिएको हो।’
त्यस्तैगरी यसअघि प्रकाशन भइरहेको पत्रिका ‘बालप्रज्ञा’को नाम परिवर्तन गरी ‘लालपाते’ राखिएको जानकारी दिए । बालप्रज्ञा बोझिलो भएकोले सरल बनाउँदा अथवा बालमैत्री शब्द छनोट गर्ने क्रममा फूलको नाम राखिएको बताए।
‘लालपाते पछि गएर लालुपाते भएको तर हामी मौलिक नाम राखौं भनेर लालपाते राखिएको हो,’ उपकुलपति निभाले भने ।
प्रज्ञा प्रतिष्ठानले १०० दिनमा गरेका काम सार्वजनिक गरेको छ। प्रतिष्ठानले दोहोरो सुविधा लिने आजीवन सदस्यको भत्ता रोक्ने निर्णय गरिए पनि सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण निरन्तर रहेको सदस्यसचिव धनप्रसाद सुवेदीले जानकारी दिए।
प्रतिष्ठानले संस्कृति लोकवार्ता र मौखिक इतिहास विभाग गठन गरेको जानकारी पनि दिइएको छ। त्यस्तैगरी निबन्धलाई गद्य विभागअन्तर्गत राखेर समालोचना र साहित्येतिहास विभाग गठन गरेको जनाएको छ ।
प्रतिक्रिया 4