
१४ जेठ, काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा नयाँ जनप्रतिनिधि आएको ९ जेठमा एक वर्ष पुगेको छ । थिमिले एक वर्षमा सम्पदाहरुको भौतिक निर्माणमा उल्लेख्य काम गर्न सफल भएको दाबी गर्दै आफ्नो प्रगति विवरण सार्वजनिक गरेको छ ।
नगरपालिकाको दाबी अनुसार भौतिक पूर्वाधार तर्फ यो एक वर्षमा मन्दिर ९ वटा, फल्चा (पाटी) ११ वटा, वहाः २ वटा, विभिन्न मन्दिर परिसर २१ वटा, पार्क ९ वटा, ऐतिहासिक दरबार २ वटा, विहार १ वटा, पोखरी १ वटा, घाट १ वटा र गुम्बा १ वटा निर्माण भएको छ ।
त्यस्तै सडक पूर्वाधारतर्फ २१ वटा सडक कालोपत्रे, २१ वटा ढलान, रिटेनिङ वाल १९ वटा, ढुङ्गा छपाई २८ स्थानमा, बल्क छपाई ११ स्थानमा काम भएको छ । नगरपालिकामा १६ ठाउँमा बाटो खोलेर फराकिलो बनाएको छ भने एउटा पुल निर्माण गरेको छ ।
थिमिमा अहिले खानेपानी तर्फ ५ वटा योजना, ढल निकासतर्फ २८ वटा र भवन,ट्रस निर्माण १८ वटा र २७ वटा मर्मत सम्भारका योजना सञ्चालनमा छन् । मध्यपुर थिमि नगरपालिकाका अनुसार नयाँ जनप्रतिनिधि निर्वाचित भएर आएको एक वर्षमा ७ वटा ऐन, ६ वटा कार्यविधि र भौतिक पूर्वाधार विकास तथा निर्माण सम्बन्धी विनियमावली (मापदण्ड) २०५७ (दोस्रो संशोधन २०७९) सहित १४ वटा ऐन नियम कार्यविधि निर्माण गरी कार्यान्वयन ल्याएको छ ।
मेयर सुरेन्द्र श्रेष्ठका अनुसार पहिलो वर्ष अधुरो रहेका, सञ्चालनमा रहेका पूर्वाधारहरु पूरा गर्ने नीति अनुरुप नै सबैभन्दा धेरै काम भौतिक निर्माणकै क्षेत्रमा भएको छ ।
माटो सुधारदेखि फोहोर वर्गीकरणसम्म
मध्यपुर थिमि नगरपालिकाले चालु यो वर्षमा माटो सुधारका लागि ५० प्रतिशत अनुदानमा करिब १३ सय कृषि चुन वितरण गरेको छ । यस्तै ४ ठाउँमा माटो परीक्षण शिविर राखेको थियो भने १५२ जनालाई कौसी खेती, शहरी कृषि सम्बन्धी तालिम दिएको थियो ।
नगरपालिकाले फोहोर व्यवस्थापन गर्न निजी क्षेत्रको समन्वयमा २ हजार परिवारबाट उत्पादित फोहोर स्रोतमै वर्गीकरण गर्न थालेको छ । वर्गीकरण गरेको फोहोरलाई कम्पोष्ट मल बनाउन ६० परिवारलाई तालिम दिएको आफ्नो प्रगति विवरणमा समेटेको छ ।
नगरपालिकाले यो वर्ष महिला हिंसा निवारण कोष स्थापना गरेको छ । यस्तै ५० जना महिलालाई कानुनी हक अधिकार सम्बन्धी तालिम, ९५ जना महिलालाई नेतृत्व विकास तालिम र ४५ जना किशोरीलाई जीवन उपयोगी सीप तालिम, ११५ बालिकालाई सशक्तिकरण तथा नेतृत्व विकास तालिम दिएको नगरपालिकाको प्रगति विवरणमा उल्लेख छ ।
मध्यपुर थिमिले नगरभित्रका विभिन्न टोल वस्तीहरुको स्थानीय मौलिक नाम हराएको भन्दै खोज्न सुरु गरेको छ । मौलिक नामहरु अपभ्रंश, परिवर्तन र प्रयोगविहीन भएको भन्दै समिति बनाएर ४३० वटा टोलको पुरानो नामहरु संकलन गरेको नगरपालिकाले जनाएको छ ।
पुँजीगत खर्च २५ प्रतिशत
नगरपालिकाले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म आन्तरिक राजस्व ६९ करोड ३० लाख ७१ हजार रुपैयाँ उठाएको छ । आन्तरिक स्रोत तथा बैंक मौज्दात ६९ करोड १२ लाख ८५ हजार र स्थानीय राजस्व वाँडफाँडबाट १७ लाख ८६ हजार रुपैयाँ राजस्व जम्मा गरेको नगरपालिकाले जनाएको छ ।
थिमिमा लागत सहभागिताबाट ८ लाख २६ हजार राजस्व संकलन भएको छ । यस्तै संघीय सरकारबाट समानीकरण १८ करोड १४ लाख रुपैयाँ, सशर्त अनुदान चालुतर्फ १६ करोड २५ लाख रुपैयाँ, सशर्त पुँजीगततर्फ १२ लाख, र राजस्व वाँडफाँडबाट ११ करोड ९२ लाख रुपैयाँ गरी ४६ करोड ४४ लाख रुपैयाँ अनुदान पाएको छ ।
प्रदेश सरकारबाट समानीकरण २ करोड ४३ लाख ८० हजार, सशर्त अनुदान चालुतर्फ २ करोड २५ लाख ४० हजार रुपैयाँ, समपूरक अनुदान २ करोड १२ लाख ९६ हजार, राजस्व वाँडफाँडबाट २ करोड ६१ लाख गरी ५५ करोड ८८ लाख २१ हजार रुपैयाँ अनुदान पाएको छ ।
व्यवसाय दर्ता अभियान सञ्चालन गरेर २ करोड रुपैयाँ राजस्व संकलन गरेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले पूँजीगत खर्च कुल बजेटको एकचौथाइ मात्र गरेको छ । उसले २८ करोड १७ लाख ७ हजार अर्थात २५ दशमलव ३५ प्रतिशत खर्च गरेको हो । चालुतर्फ ३५ करोड ७८ लाख रुपैयाँ अर्थात ५४ दशमलव ६५ प्रतिशत खर्च गरेको छ ।
प्रतिक्रिया 4