+
+

रेशम चौधरी कारागारबाट मन्त्री क्वाटर हुँदै माइतीघरमा

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १५ गते १०:०३

१५ जेठ, काठमाडौं । कैलालीको टिकापुर काण्डमा दोषी ठहर भई डिल्लीबजार कारागारमा आजीवन काराबासको सजायँ भोगिरहेका नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी सरकारले सजाय माफ गरिदिएपछि डिल्लीबजार कारागारबाट रिहा भएका छन् ।

उनका समर्थक बिहानैदेखि डिल्लीबजार कारागार बाहिर भेला भएका थिए । समर्थकहरुले उनलाई अविर र फूलमाला लगाइदिएर स्वागत गरे ।

कारागारबाट रिहा भएपछि उनी सिधै पुल्चोकस्थित मन्त्री क्वाटरमा पुगे । रेशमकी पत्नी एवम् भूमिसुधार मन्त्री रञ्जिता श्रेष्ठ मन्त्री क्वाटरमा बस्दै आएकाले रेशम कारागारबाट सिधै त्यहीँ पुगेका हुन् ।

मन्त्री क्वाटरमा पनि उनका समर्थकहरुको भिडभाड थियो । थारु भेषभूषामा सजिएका उनका समर्थकहरु रेशमको प्रतिक्षामा थिए । उनीहरुले पनि रेशमलाई बधाई दिँदै अविर र फूलमाला लगाइदिए ।

त्यहाँ पत्रकारहरुलाई प्रतिक्रिया दिँदै चौधरीले टिकापुरकाण्डमा मारिएका प्रहरीका परिवारले पनि न्याय पाउनुपर्ने भन्दै त्यसका लागि सघाउन तयार रहेको बताए ।

त्यसपछि उनी बा २४ प ८२७२ नम्बरको कार चढेर माइतीघर मण्डलामा आए । त्यहाँ पनि नागरिक उन्मुक्ति पार्टीका कार्यकर्ताहरुले उनलाई फूलमाला र खादाले स्वागत गरे ।

रेशम चौधरीले आजै गृहजिल्ला कैलाली जाने बताएका छन् । त्यहाँ गएर कार्यकर्तालाई सम्बोधन गर्ने र टिकापुर काण्डमा दोषी ठहर भई जेलमा रहेकाहरुलाई भेट्ने कार्यक्रम छ ।

डिल्लीबजार कारागारबाट रिहा भएपछि पत्रकारहरुसँग कुरा गर्दै चौधरीले अन्य बन्दीहरुलाई पनि छिट्टै जेलबाट छुटाउन पहल भइरहेको बताएका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?