+
+
गणतन्त्र दिवस :

बल्झिएको घाउले रञ्जितलाई दिइरहेको सास्ती

हरि अधिकारी हरि अधिकारी
२०८० जेठ १५ गते १५:५५

१५ जेठ, विराटनगर । कोशी प्रोजेक्टमा काम गर्ने रञ्जितकुमार झा (५०) सहज रुपमा हिँडडुल गर्न सक्दैनन् । कम्मरमा बेल्ट बाँधेर बस्छन् । एक वर्षअघि उनले मेरुदण्डको शल्यक्रिया गरे । तर सामान्य अवस्थामा फर्कन सकेका छैनन् । अहिले नियमित थेरापी गरिरहेका छन् ।

चोट कारण भने १५ वर्ष अगाडि भएको राजसंस्था विरुद्धको आन्दोलन हो । २०६२–६३ को जनआन्दोलनमा उनी विराटनगरमा सक्रिय आन्दोलनकारी थिए । विद्यार्थी राजनीतिमा भएकाले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसबाट निस्कने आन्दोलनको उनी नेतृत्व तहमा हुन्थे ।

त्यो आन्दोलनका क्रममा उनी तीन महिना थुनामा परेका थिए । छुटेपछि फेरि आन्दोलनमा लागे । जनआन्दोलनका क्रममा पटक पटक सुरक्षाकर्मीसँग भेट हुँदा जोगिए । तर आन्दोलन सकिन भन्दा दुई दिन अगाडि सुरक्षाकर्मीको निसानामा परे ।

विराटनगर महेन्द्र चोकमा उनीसहित प्रदर्शनकारीमाथि प्रहरीले बल प्रयोग ग¥यो । दिउँसो प्रहरीसँग झडपमा परेका उनी ब्यूँझदा कोशी अस्पतलको बेडमा थिए ।

राति करिब १२ बजे ब्यूँझदा अस्पतालमा आफूलाई पाएका उनी त्यहाँबाट भागे । तर ढाडमा लागेको चोटको दुखाइ कम भएन । घरमा आराम गर्दा निको नभएपछि भारतमा एक महिना उपचार गरेर फर्किए । दैनिकी सामान्य थियो । कुटिएको ठाउँ बेला बेला दुख्थ्यो ।

एक वर्षअघि उनको कम्मरमुनिको भाग चलेन । केही समय नोबेल मेडिकल कलेजमा उपचार गरे । डाक्टरले शल्यक्रिया गर्नुपर्ने बताएपछि भारत पुगेर शल्यक्रिया गरे ।

‘त्यसबेला प्रहरीले बन्दुकको भागले हानेको चोटले मेरुदण्डमा ट्युमर भएछ’, उनी भन्छन्, ‘औषधि खादा नहुने भएपछि अप्रेशन गरियो ।’ भारतमा उपचार गर्दा उनले झण्डै दश लाख नेपाली रुपैयाँ खर्च गरेका छन् ।

जनआन्दोलनमा घाइते भएका कारण उनले सरकारसँग उपचार खर्चको अपेक्षा राखेर कागजात पेश गरे । अघिल्लो सरकारका गृहमन्त्री बालकृष्ण खाँणलाई कागजात बुझाएका उनलार्ई सरकारले उपचार खर्च दिएन । ‘म त जनआन्दोलनमा घाइते भएको मान्छे, उपचार खर्चका लागि आग्रह गर्दा सरकारले दिएन’, झा भन्छन् ।

जनआन्दोलनका बेला उनी नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघको पूर्र्वाञ्चल समितिको सचिव थिए । ‘म घाइते भएको आन्दोलनले राजसंस्था अन्त्य भयो, त्यो खबर सुन्दा चोटलाई बिर्सिएर खुशी भए’, उनले भने, ‘हाम्रो लडाई देशको समृद्धिका लागि थियो, खुसीको सीमा रहेन ।’

पञ्चहरु नयाँ संस्करणमा आए

जनआन्दोलन प्राप्तिको आन्दोलनमा घाइते भएका उनी गणतन्त्र उपलब्धीको १५ वर्षसम्म राजनीतिक नेतृत्वले देखाएको कार्यशैलीप्रति असन्तुष्ट छन् । आफ्नो स्वास्थ्य अवस्थाप्रति सरकारले देखाएको गैरजिम्मेवारपन भन्दा बढी राजनीतिक अक्षमता नेतृत्वले देखाएको उनको बुझाइ छ ।

‘हिजो सडकमा निस्किएर बोल्न पाइदैन थियो, आज सिंहदरबार अगाडिको गेटसम्म पुगेर बोल्न पाइन्छ’, उनी भन्छन्, ‘यो उपलब्धी हामीले गरेको आन्दोलनबाट भएको हो ।’ तर आन्दोलनको उपलब्धी सही ट्र्याकमा नगएको उनको गुनासो छ ।

‘आन्दोलनको उपलब्धी जस्तो हुन्छ भनेर सोचेका थियौं, त्यस्तो भएन । नेतृत्व भ्रष्ट भयो, जनताले गणतन्त्रको अनुभूति गर्न पाएनौ’, झा भन्छन्, ‘आन्दोलनमा रहेकाहरु नेतृत्वमा पुग्न पाएनन्, पञ्चेहरु नयाँ संस्करणमा हाबी हुँदा आन्दोलन गर्ने मान्छे पाखा लगाइए ।’

पार्टीहरुमा नयाँ मान्छेले अवसर नै नपाएको उनी बताउँछन् । ‘अहिलेको नेतृत्वले गणतन्त्रलाई सही ट्याकमा ल्याउन नै सक्दैन’, झाको बुझाइ छ, ‘प्रचण्ड, केपी ओली, शेरबहादुर देउवा हाम्रा नेता हुन्, ती मान्छे भ्रष्टाचारको केसमा आफ्नो मान्छे बचाउन एक भएका छन् ।’

विश्लेषक दिनेश श्रेष्ठ राजनीतिक नेतृत्वमा देखिएको भ्रष्टीकरणले गणतान्त्रिक व्यवस्थामाथि प्रश्न उठ्न थालेको बताउँछन् । ‘जनताको आधारभूत पक्षमा जसरी काम गर्नुपथ्र्याे । त्यो अति न्यून मात्रामा भयो’, श्रेष्ठ भन्छन्, ‘गणतन्त्रप्रति मानिसको रिजर्भेसन बढ्दैछ, आक्रोश र निराशा बढेको छ ।’

राजनीतिक नेतृत्वका कारण गणतन्त्रलाई हेर्ने नजरमा पनि परिवर्तन आएको उनी बताउँछन् । ‘यो गणतन्त्रको दोष होइन, विश्वका धेरै मुलुकमा लागू भएको प्रणाली हो, त्यहाँ राम्रो भएका छन्’, श्रेष्ठ भन्छन्, ‘प्रणालीहरुमा केही कमजोरी होलान्, तर गणतन्त्र भन्दा राम्रो प्रणाली कहीँ पनि छैन ।’

तर गणतन्त्रलाई सही ट्रयाकमा ल्याउन कठोर समिक्षा गर्ने बेला आएको उनी बताउँछन् । ‘गणतन्त्रमा आशा र विश्वास गरेका धेरै कुरा हुन सकेनन्, यसको मूल कारण नेपाली राजनीतिज्ञमा देखिएको सत्तालिप्सा, शक्ति र सम्पत्ति प्रतिको मोह हो’ उनले भने ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?