+

युवा तथा खेलकुदको बजेट घट्यो, खुसी छैनन् मन्त्री

२०८० जेठ  १५ गते २२:०८ २०८० जेठ १५ गते २२:०८
युवा तथा खेलकुदको बजेट घट्यो, खुसी छैनन् मन्त्री

१५ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले प्रस्तुत गरेको बजेटमा युवा तथा खेलकुद मन्त्रालयको बजेट करिब ३८ करोड घटेको छ ।

अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संसदमा पेश गरेको बजेटमा युवा तथा खेलकुदका लागि २ अर्ब ८७ करोड ५९ लाख बजेट छुट्याइएको छ । यो युवा र खेलकुद दुवैको समग्र बजेट हो । मन्त्रालयको कुल बजेटमध्ये ८५ प्रतिशत बजेट खेलकुदमा लगानी गरिनेछ ।

संघतर्फ २ अर्ब ७ करोड ७३ लाख, प्रदेशतर्फ ३९ करोड ६३ लाख र स्थानीय तहतर्फ ४० करोड २३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

संघीय बजेट १ अर्ब ३४ करोड ९३ लाख चालू खर्च हुनेछ भने पूर्वाधार बजेट ७२ करोड ८० लाखमात्र छ । सरकारले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाखको बजेट अनुमान गर्दा खेलकुदमा कुल बजेटको ०.१६ प्रतिशत मात्र विनियोजन गरेको छ ।

सरकारले आगामी आर्थिक वर्षमा त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाउने क्रममा फ्लडलाइट जडान कार्य सम्पन्न गर्ने लक्ष्य लिएको छ । पछिल्लो दुई आर्थिक वर्षदेखि मूलपानी मैदान निर्माणको काम सम्पन्न गर्ने उल्लेख गरेको सरकारले यसवर्षको बजेटमा पनि त्यसलाई निरन्तरता दिएको छ ।

यसवर्ष सरकारले थप चारवटा क्रिकेट रंगशाला निर्माणलाई प्राथमिकतामा राखेको छ । मोरङको गिरिजाप्रसाद कोइराला स्मृति क्रिकेट रंगशाला, बैतडीको दशरथ चन्द स्मृति क्रिकेट रंगशाला र कैलालीको फाप्ला क्रिकेट रंगशाला र काठमाडौंको शुवर्ण शमशेर स्मृति रंगशाला निमार्ण कार्य अगाडि बढाउन बजेट विनियोजन गरेको अर्थमन्त्रीले बजेट वक्तव्यमा उल्लेख गरेका छन् ।

निमार्णधीन पोखरा, धनगढी, इटहरी र नेपालगञ्जको प्रदेश रंगशाला तथा कभर्ड हल निर्माण यसवर्ष सम्पन्न हुनेछ । हाई अल्टिच्युट ट्रेनिङ सेन्टर निर्माणका लागि सार्वजनिक निजी साझेदारीको अवधारणा ल्याइने तथा र्‍याफ्टिङ, प्याराग्लाइडिङ, क्यानोइङ, रक क्लाइमबिङ र अल्ट्राम्यारथन लगायतका साहसिक खेलकुद पूर्वाधार निर्माण पनि सरकारको प्राथमिकतामा छ ।

१९ औं एसियाली खेलकुद, १४औं दक्षिण एसियाली खेलकुद र १० औं राष्ट्रिय खेलकुदका तयारीका लागि खेलाडीलाई आवश्यक प्रशिक्षण गर्न बजेट विनियोजन गरेको अर्थमन्त्रीले जानकारी दिएका छन् ।

युवा तथा खेलकुद मन्त्रालयले आगामी आर्थिक वर्षमा ७२ करोड ८० लाख बजेट ती पूर्वाधारमा खर्च गर्नुपर्ने अवस्था छ ।

यो वर्ष सरकारले युवा तथा खेलकुद मन्त्रालयका लागि १ अर्ब ८८ करोडको बजेट सिलिङ दिएको थियो । यसबीचमा खेलकुद मन्त्रालय सम्हाल्न पुगेका मन्त्री डिगबहादुर लिम्बुले ५ हजारभन्दा बढी कार्यक्रमका लागि बजेट सिलिङ अत्यन्तै न्यून रहेको बताएका थिए ।

मन्त्री लिम्बु यो बजेट विनियोजनबाट आफू सन्तुष्ट हुन नसकेको बताउँछन् । ‘यो खुसी हुने खालको बजेट होइन । यसबारे अर्थमन्त्रीसँग कुरा गर्छु । बजेटबाट संसदमा हुने छलफलमा पनि कुरा राख्छु’ मन्त्री लिम्बुले अनलाइनखबरसँगको कुराकानीमा भने ।

स्वास्थ्य र मनोरन्जनका लागि खेलकुद भन्ने परम्परागत सोचबाट राज्य संयन्त्र अझै माथि उठ्न नसक्नु हरेक वर्ष बजेटमा प्रतिविम्बित हुने गरेको छ । खेलकुदका सरोकारवालाहरु कुल बजेटको कम्तिमा १ प्रतिशत छुट्याउनुपर्ने बताउँछन् । तर, सरकारले खेलकुदलाई उपलब्धिमूलक क्षेत्रमा समेत राखेको छैन ।

मन्त्री लिम्बुले खेलकुदजस्तो बृहत्तर विषयलाई सामान्यीकरण गरिनु नहुने बताए । ‘हामी खेलकुदमा व्यावसायिकताको कुरा गरिरहेका छौं भने पूर्वाधार र तयारीमा पनि त्यसअनुसारको प्राथमिकता हुनुपर्छ,’ मन्त्रीले थपे, ‘म पनि खेलकुदमा नयाँ छु । सरकारलाई खेलकुदको महत्व बुझाउने काममा आफूलाई केन्द्रित गर्नेछु ।’

सरकारले चालू आर्थिक वर्षका लागि ३ अर्ब २५ करोड २५ लाखको बजेट विनियोजन गरेको थियो । प्रदेश र स्थानीय तहको बजेटमा खासै थपघट गरिएको छैन । तर, संघीय बजेटमा उल्लेख्य कटौती गरिएको छ ।

युवा तथा खेलकुद मन्त्रालयको पछिल्लो पाँच वर्षको बजेट

आर्थिक वर्ष २०८०–८१ काे बजेट

कुल बजेट : २ अर्ब ८७ करोड ५९ लाख
कुल बजेटको ०.१६ प्रतिशत
पूँजीगत खर्चः ७२ करोड ८० लाख
प्रदेशः ३९ करोड ६३ लाख
स्थानीय तहः ४० करोड २३ लाख

आर्थिक वर्ष २०७९–८० को बजेट
३ अर्ब २५ करोड २५ लाख
कुल बजेटको ०.१८ प्रतिशत
संघः २ अर्ब ४५ करोड ५० लाख
प्रदेशः ३९ करोड ५२ लाख
स्थानीय तहः ४० करोड २३ लाख

आर्थिक वर्ष २०७८–७९ को बजेट
२ अर्ब ७४ करोड ६८ लाख
कुल बजेटको ०.१७ प्रतिशत
संघः २ अर्ब १९ करोड ९९ लाख
प्रदेशः ३९ करोड ५२ लाख
स्थानीय तहः १५ करोड २३ लाख

आर्थिक वर्ष २०७७–७८ को बजेट
२ अर्ब ३६ करोड
कुल बजेटको ०.१६ प्रतिशत
संघः १ अर्ब ८३ करोड ९५ लाख
प्रदेशः ३७ करोड ४६ लाख
स्थानीय तहः १५ करोड १९ लाख

आर्थिक वर्ष २०७६–७७ को बजेट
३ अर्ब ९९ करोड ८ लाख
कुल बजेटको ०.२६ प्रतिशत
संघः ३ अर्ब ३७ करोड ५१ लाख
प्रदेशः ३६ करोड ८४ लाख
स्थानीय तहः १४ करोड ७३ लाख

डिगबहादुर लिम्बु बजेट
लेखक
कुशल तिमल्सिना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय