+
+

नेटफ्लिक्सले बन्द गर्‍यो पासवर्ड सेयरिङ सुविधा

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १६ गते ११:४९

काठमाडौं । तपाईंले नेटफ्लिक्स चलाइरहनुभएको छ भने भुक्तानीको लागि आग्रह गरिएका नोटिफिकेसन पक्कै देखिरहनुभएको होला । केही दिनयता विश्व फिल्मको स्ट्रिमिङ-जायन्ट प्लेटफर्मले प्रयोगकर्तालाई यस्तो सन्देश पठाइरहेको छ । पासवर्ड सेयरिङ सुविधा बन्द गर्ने लामो समयदेखिको चर्चालाई अन्ततः नेटफ्लिक्सले कार्यान्वयनमा ल्याएको छ ।

अमेरिका र बेलायतबाट उसले यो नियम कार्यान्वयनमा ल्याएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अब ती मुलुकमा परिवारबाहेकका व्यक्तिसँग पासवर्ड सेयर गर्नुपरे अतिरिक्त शुल्क तिर्नुपर्नेछ । अब अन्य मुलुकमा पनि यो नियम कार्यान्वयन हुन लागेको उल्लेख छ ।

नेटफ्लिक्सले मंगलबार अमेरिका र बेलायतका प्रयोगकर्तालाई इमेल गर्दै पासवर्ड सेयरिङ सुविधा बन्द भएको जनाएको छ । घरबाहिर पासवर्ड सेयर गर्नुपरे बेलायतमा मासिक अतिरिक्त ४.९९ डलर र अमेरिकामा ७.९९ डलर तिर्नुबारे सूचित गरेको नेटफ्लिक्सले जनाएको छ । यो कदम ग्राहक वृद्धि गर्ने नेटफ्लिक्सको योजनाको रुपमा हेरिएको छ ।

तर परीक्षण सुरु भइसकेका केही मुलुकका केही प्रयोगकर्ताले चाहिं कम्पनीलाई ठगिरहेको जनाइएको छ । स्पेनमा अतिरिक्त शुल्क ५.९९ युरो तय गरिएपछि उसले त्यो मुलुकमा वर्षको पहिलो तीन महिनामा एक मिलियन भन्दा बढी ग्राहकहरू गुमाएको जनाइएको छ ।

जुन घरको टीभी-मोबाइलमा नेटफ्लिक्स हेरिन्छ अर्थात् जुन आईपी एड्रेसबाट टीभी चलेको हुन्छ, त्यसलाई कम्पनीले ‘परिवार’को रूपमा व्याख्या गरेको छ । डिभाइस र आईपी ठेगाना परिवर्तन भए नेटफ्लिक्स एपमार्फत हाउसहोल्ड रिसेट गर्न सकिन्छ । रिसेटको प्रक्रिया पूरा गरेपछि नेटफ्लिक्सले प्रयोगकर्ताको इमेल वा फोन नम्बरमा भेरिफिकेसन लिंक पठाउँछ । उक्त लिंक खोलेपछि हाउसहोल्ड रिसेट गर्न मिल्छ । यस प्रक्रियामा कम्पनीले कुनै पनि प्रयोगकर्ता वा उनीहरूका डिभाइसको जीपीएस डेटा संकलन नगर्ने स्पष्ट पारेको छ ।

मंगलबार नेटफ्लिक्सले अस्ट्रेलिया, ब्राजिल, फ्रान्स, जर्मनी, मेक्सिको र सिंगापुरलगायत १०३ देशका ग्राहकलाई खाता साझेदारी गर्नेबारे इमेल पठाएको छ । नेटफ्लिक्सले पहिले अनुमान गरेअनुसार १०० मिलियन भन्दा बढी घरपरिवारले पासवर्ड साझेदारी गर्छन् र यो कम्पनीको नियमविरुद्ध छ । ग्राहकको वृद्धिदर सुस्त भइरहेको बेलामा कम्पनीले बढी पैसा कमाउन खोजेको मात्र छैन, स्ट्रिमिङ बजारमा प्रभुत्व कायम राखिरहन चाहन्छ ।

नेटफ्लिक्सका विश्वव्यापी रूपमा २३३ मिलियन सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?