+
+

बजेटबारे फिल्म क्षेत्रको टिप्पणी : पूर्णतः निराशाजनक, सरकार दायित्वबाट पन्छियो

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १६ गते १३:०३

काठमाडौं । चलचित्र उद्योगले आर्थिक वर्ष २०८०-८१ को बजेटलाई पूर्णतः निराशाजनक भएको प्रतिक्रिया दिएको छ । राष्ट्रिय चलचित्र उद्योगलाई आत्मनिर्भर बनाउने दायित्वबाट सरकार पन्छिएको रुपमा फिल्म क्षेत्रका अगुवाले टिप्पणी गरेका छन् । उनीहरुले चलचित्र विकास बोर्ड र सञ्चारमन्त्री दायित्वबाट चुकेको समेत बताए ।

सरकारले विदेशी फिल्मलाई घुमाउरो ढंगले प्रोत्साहन गर्न खोजेको टिप्पणी गर्दै चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले अहिलेको बजेट निराशाजनक रहेको बताए । वरिष्ठ फिल्मकर्मी अशोक शर्माले अहिलेको बजेटलाई ‘आकाशको फल आँखा तरी मर’को संज्ञा दिए । उनले निर्माता र प्रदर्शक सबैभन्दा मारमा परेको बेला सरकार दायित्वबाट विमुख भएको बताए ।

सरकार विदेशी फिल्मलाई प्रमोट गर्ने दिशामा देखियो’

नवल खड्का, अध्यक्ष, नेपाल चलचित्र निर्माता संघ

नाराहरु निकै उत्कृष्ट छन् । अन्य क्षेत्रका लागि उत्साहजनक नै देखिन्छ । तर चलचित्र क्षेत्रका लागि निराशाजनक बजेट आयो । दोलखा र काभ्रेमा इन्डोर फिल्म स्टुडियो बनाउने कुरा पहिलेदेखि नै आइरहेको कुरा हो । नयाँ चीज केही आएन । समग्र चलचित्र क्षेत्रलाई राज्यले हेर्ने दृष्टिकोण नपुगेकोजस्तो देखियो । यो उत्साहजनक भएन ।

राष्ट्रिय चलचित्र उद्योगको पक्षमा यसपालिको बजेट छैन भन्ने मलाई लाग्यो । चलचित्र विकास बोर्डका अध्यक्ष र सञ्चारमन्त्री त बजेटमा योजना पार्न खटिएको देखियो तर उनीहरुको खटाइको नतिजा राम्रो भएन । चलचित्र उद्योगका लागि पूर्णरुपमा यो निराशाजनक छ ।

हामीले यसलाई स्वागत गर्ने स्थिति छैन । विदेशी फिल्मलाई प्रमोट गर्ने, नेपाल भित्र्याउने, यहाँको पैसा बाहिर लैजाने, देश कंगाल होस्, चलचित्रकर्मी र कलाकार कोही पनि यहाँ नबसुन्, बाहिर जाऊन् भन्ने खालको उद्देश्यले बजेट आएको मैले बुझें । विदेशी फिल्म चलाएर पैसा उठाऊ, संस्था र उद्योग चलाऊ भन्न खोजेको देखियो ।

नत्र भने स्टोरी बैंकका कुराहरु थिए, सातै प्रदेशमा फिल्म सिटी, कलेजमा पाठ्यक्रम पढाउने कुरा थिए धेरै चीज थिए पहिलेका । कुनै पनि कुरा समेटिएको देखिएन । यसअघिका बजेट निकै राम्रा र आशालाग्दा देखिएका थिए, पहिलेको भन्दा राम्रो भएर आउनुपर्नेमा झनै कमजोर र निराशाजनक बजेट आयो भन्ने मलाई लागेको छ ।

सर्भरको पैसामा पनि राज्यले सहयोग गरे निर्मातालाई राहत पुग्थ्यो । राज्य नै अनुदान देओस् भन्ने कुरा थिए । नेपाली चलचित्रलाई नयाँ योजनामा सुहलियत, प्रोत्साहन र अनुदान दिने कुरामा चुकेको देखियो । चलचित्र विकास बोर्डको अहिलेको टिमले राम्रो काम गरेको देखिएन । यो टिम त्यति सशक्त र नेपाली चलचित्र क्षेत्रको लागि वकालत गर्न नसकेको भन्ने देखियो । बजेटमा उनीहरुले चलचित्र क्षेत्रका लागि जुन दबाब दिनुपथ्र्यो यसमा बोर्ड चुकेको छ ।

सरकार दायित्वबाट पन्छिएको देखियो

अशोक शर्मा, वरिष्ठ फिल्मकर्मी

दोलखा र काभ्रेमा फिल्म स्टुडियो बनाउने कुरा गरेको दश वर्ष हुन लागिसक्यो । यो कुरा बजेटमा आइरहन्छ । न पर्याप्त बजेट हुन्छ न काम केही हुन्छ । त्यो चाहिं आकाशको फल आँखा तरी मर भनेजस्तै हो । केही पनि छैन । उद्योगका लागि न निर्माण, न प्रदर्शन क्षेत्रमा, न वितरण क्षेत्रमा कुनै पनि कुरा छैन । निराशाजनक बजेट भन्छु म यसलार्ई ।

पूर्वाधार र जनशक्ति अति नै महत्वपूर्ण छ । कुनै पनि देशको चलचित्र उद्योग फस्टाउन त पूर्वाधार चाहियो । त्यो भनेको इन्डोर, आउटडोर सुटिङ स्टुडियो चाहियो । त्यो कुरा निजी क्षेत्रले लगानी गर्नै सक्दैन । अबौं रुपैयाँ लाग्छ । हाम्रो उद्योग सानो छ । राज्यले चाह्यो भने वैदेशिक सहयोग लिएर पनि गर्न सक्छ ।

कमाइ भए त कर तिर्ने हो । ९८ वटा फिल्म डुब्छन् अनि कहाँबाट कर तिर्ने ? कर भनेको त कमाइ भएपछि तिर्ने चीज हो । आयकरमा राहत दिएर केही फरक पर्दैन, मूल करमा राहत दिनुपर्‍यो । त्यो चाहिं राहत होइन । कोभिड महामारीमा त सरकारले सहयोग गरेन । अहिले पनि हामीलाई सरकारको भीख चाहिएको होइन । तर चलचित्र उद्योग फस्टाउने वातावरण बनाउनु त राज्यको दायित्व हो नि ।

त्यो वातावरण बनाइदेओस् भन्ने कुरा हो । यसका लागि पूर्वाधार तयार पार्ने, दक्ष जनशक्ति विकासका लागि छात्रवृत्तिमा पढ्न पठाउने, पटकथा लेखन, निर्देशन, छायांकन, सम्पादन, मेकअप आर्टिस्टमा पढ्न पठाउनुपर्छ । अहिले भीएफएक्सको कुरा छ । अहिले भीएफएक्सबिना फिल्म नै बन्दैन । दक्ष जनशक्तिसहित भिजुअल आर्काइभ बनाउन जमानादेखि भनिआएको कुरा हो । सरकारले कानमा तेल हालेर बसेको छ ।

अनि विभिन्न राजनीतिक दलमा आबद्ध भएका साथीहरु के हेरेर बसिराख्या छन् ? उनीहरुको त राजनीतिक पहुँच थियो होला नि । जो पार्टी समाएर पोस्टमा बसेका छन्, उनीहरुले गर्ने काम हो यो । चलचित्र विकास बोर्डको अध्यक्षको कामै छैन । के काम छ ? बजेटमा के आयो ? अहिले निर्माता मार छँदै छन्, प्रदर्शक झनै मारमा छन् । ६-७ प्रतिशत ब्याजमा ऋण लिएर हल बनाएका छन् । अहिले १६ प्रतिशत ब्याज पुग्यो । कस्तो स्थिति भयो भने ५-७ प्रतिशत ब्याज लिएको बेला व्यापार असाध्यै राम्रो थियो ।

ब्याज दोब्बरभन्दा बढी भयो तर ब्यापार घटेर ३० प्रतिशतमा आएको छ । एकदुई फिल्म चलेर त हुँदैन नि । एकदमै निराशाजनक । फिल्म उद्योगको लागि यो बजेटको केही पनि कामै छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?